पोखराका प्यारापाइलट निस्सिम थापाको मृत्यु आयोजकको गम्भीर लापरबाहीले भएको परिवारको दाबी [भिडियो]

पोखराका प्यारापाइलट निस्सिम थापाको मृत्यु आयोजकको गम्भीर लापरबाहीले भएको परिवारको दाबी [भिडियो]

उचित छानबिनसहित दोषीलाई कडा कारबाहीको माग

Nissim Press meet

पोखरा । गत वर्ष नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा दुर्घटनामा परी ज्यान गुमाएका निस्सिम थापाको मृत्यु गम्भीर लापरबाहीका कारण भएको परिवारले जनाएको छ ।

निस्सिम थापा फाउन्डेसनले पोखरामा पत्रकार सम्मेलन गरी प्याराग्लाइडिङ पाइलट थापाको मृत्युमा आयोजक, सम्बन्धित क्षेत्रका व्यक्ति र सरोकारवालाको गम्भीर त्रुटिका कारक रहेकाले उचित छानबिनसहित दोषीलाई कडा कारबाहीको मागसमेत गरेको हो।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएका थापाको गत वर्ष असोज ३० गते मृत्यु भएको हो। सराङकोटस्थित ब्लु स्काई टेकअप जोनबाट उडान भरेको ३ मिनेटमै प्याराग्लाइडिङ खसेको थियो। प्रतियोगितामा उनी पहिलो प्रतिष्पर्धीका रुपमा उडेका थिए । गोरखा स्थायी घर भई पोखरा लेकसाइड बस्दै आएका २६ वर्षीय थापा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट भाग लिएका थिए।

प्याराग्लाइडिङ टेकअप हुने स्थानमा निर्माणाधीन भवनमा ठडिएका फलामे रड निस्सिम मृत्युको एउटा कारण भएको बताए । त्यो बेला सराङकोटस्थित ब्लु स्काई टेकअप जोनबाट प्याराग्लाइडिङ टेकअप हुने ठाउँ नजिकै पोखराको केसी ग्रुपले भवन बनाइरहेको थियो ।

सम्भावित जोखिम र सुरक्षा नअपनाइकन प्याराग्लाइडिङ प्रतियोगिता राखिएको भन्दै आयोजकदेखि उडान भर्न निर्देशन दिने र भवन निर्माण गर्ने केसी ग्रुपसम्म दोषी रहेको परिवारको भनाइ छ । आयोजकको अदूरदर्शिताका कारण निस्सिमले ज्यान गुमाएको उनीहरुको ठहर छ ।

दुर्घटनाको करिब १४ महिनापछि आएर फाउन्डेसनले निस्सिमको मृत्यु भवितव्य नभई सुनियोजित रूपमा घटाइएको भन्दै विभिन्न संघसंस्था र तिनका पदाधिकारीलाई आरोप लगाएको हो । घटनाको वर्ष दिन पुत्रशोकमा रहँदा वास्तविकता थाहा नभएको र पछि अनुसन्धान गर्दै जाँदा गम्भीर लापरबाहीले हत्या नै भएको ठहर आफूहरुले गरेको बुबा प्रकाश थापा र आमा सावित्री मोक्तान थापाले बताए ।

निस्सिमका बुबा एवं फाउन्डेसन अध्यक्ष प्रकाश थापाले पुत्रवियोगबाट आफू बाहिर निस्कन नसकेको भन्दै यसप्रकारका ‘हत्याकाण्ड’ रोकिनुपर्ने माग गरे। उनले नागरिक उड्डयन मन्त्रालयको अनुमतिबिना प्याराग्लाइडिङ सञ्चालन गरिएको आरोप लगाए।

नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ एसोसिएसन, नेफा काठमाडौंका पदाधिकारीले नितान्त हवाई विधा प्याराग्लाइडिङलाई गैरकानुनी रूपमा प्राधिकरणको अनुमतिबिना राष्ट्रिय खेलकुदमा समावेश गरी पाइलट र यात्रुको जीवन जोखिममा राखी पचासौं लाख रकम पेस्की लिएर दुरुपयोग गरेको उनको आरोप छ। साथै, प्याराग्लाइडिङ तयारीका लागि प्राप्त हुने ठूलो धनराशि पनि दुरुपयोग गरेको उनले आरोप लगाए।

नेपाल हवाई खेलकुद संघ पोखरामा तत्कालीन अध्यक्ष सुनिलबहादुर भट्टराई, राखेपका तत्कालीन सदस्य सचिव टंकलाल घिसिङ, तत्कालीन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नेफा अध्यक्ष रूपनारायण श्रेष्ठ, महासचिव शैलेन्द्र राउत, सचिव इन्द्र भण्डारीलगायतको गम्भीर लापरबाही भएको आरोप लगाइएको छ। यो घटना भवितव्य र लेखेको नभई आयोजक र सरोकारवालाद्वारा लेखाइएको आरोप निस्सिमको बुबाको छ ।

त्यसबेला प्रतियोगिताका लागि कुनै पनि सुरक्षाको व्यवस्था नगरिएको र प्रतियोगिताका मुख्य सेफ्टी डाइरेक्टर योगेश भट्टराईको असक्षमता र कमजोरी मृत्युको मुख्य कारण भएको फाउन्डेसनको आरोप छ। भट्टराईले निस्सिमलाई दिएको उडान निर्देशनको ३ मिनेटमै सो दुर्घटना भएको तर्क अघि सारिएको छ ।

पत्रकार सम्मेलनमा फाउण्डेसन अध्यक्ष प्रकाश थापाले मुख्य प्रशिक्षक एवं इभेन्ट डाइरेक्टर भट्टराईले १० वर्षदेखि प्याराग्लाइडिङ नउडाएको र उनको कुनै पनि ज्ञान नभएको आरोप लगाए।

घटनाको छानबिन गर्न अनुनय गर्दै उनीहरुले पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई भेटे, राष्ट्रिय खेलकुद परिषद (राखेप)सम्म पुगे ।

प्याराग्लाइडिङको अनुमति दिने नागरिक उड्डयन प्राधिकरण हुँदै खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालयसम्म हारगुहार गर्दै पुगे । तर आश्वासनबाहेक अरु केही नपाएको उनीहरुको भनाई छ ।

निस्सिमकी आमा सावित्री थापा मोक्तानले मृत्युको क्षतिपूर्ति हुन नसक्ने भन्दै पत्रकार सम्मेलनमा भावुक बनिन्। उनले छोराको मृत्युमा प्याराग्लाइडिङसम्बद्ध संघसंस्था र तिनका पदाधिकारीहरू मुख्य दोषी भएको भन्दै कारबाहीको माग गरिन्।

उनले भनिन्, ‘छोराको मृत्युमा निकै विक्षिप्त छौं। यस्तो घटना अब नघटोस् भनी जिम्मेवार बन्न सम्बद्ध पक्षलाई हाम्रो माग छ।’ टेक अफ जोनमै केसी कन्स्ट्रक्सनले धारिला फलामे रडहरू राखेर असुरक्षित बनाउनु पनि दुर्घटनाको कारण भनिएको छ।

उडान निर्देशन गलत समयमा भएको र प्रतियोगिताको भिडियो रेकर्ड समेत नराखिनु गलत भएको उनको दाबी छ । ‘मेरो छोराको त ज्यान गइसक्यो । तर प्याराग्लाइडिङ क्षेत्र कसरी विकृत भएको छ । कसरी स्वार्थको चंगुलमा छ भन्ने विषय डरलाग्दो छ,’ प्रकाशको अनुरोध छ, ‘मेरो चाहना यो क्षेत्र सुरक्षित बनोस् र निस्सिमजस्ता अरुले ज्यान नगुमाउन् भन्ने हो ।’ साग जस्तो ठूलो प्रतिष्पर्धाको भिडियो छैन भन्दा पत्यार नलागेको र अरुबाटै पाएको भिडियो पनि १६ सेकेण्डको मात्र भएकाले हत्या नै भएको उनीहरुको ठहर छ ।

नवौं राष्ट्रिय खेलकुदमा अन्तिम समयमा अवैध रूपमा प्याराग्लाइडिङ प्रतियोगिता छिराइएको फाउण्डेनसको दाबी छ। फाउण्डेसनका अनुसार ३० असोजमा भएको दुर्घटनाको १६ दिनअघिमात्र अवैधानिक बाटोबाट राखेपमा समावेश गरेर प्रतियोगिता खेलाइएको बताइएको छ।

राष्ट्रिय खेलकुद परिषदले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग कुनै अनुमति नलिइकन जोखिमपूर्ण तरिकाबाट प्रतिस्पर्धा गराएको थापाको प्रतिवेदनमा उल्लेख छ । नागरिक उड्डयन प्राधिकरणबाट साउन ४ गते प्राप्त पत्रसमेत सार्वजनिक गर्दै फाउन्डेसनका अध्यक्ष थापाले प्रतियोगिता अवैधानिक तवरबाट सञ्चालन भएको दाबी गरेका हुन् ।

नागरिक उड्डयनले थापालाई लेखेको पत्रमा राष्ट्रिय खेलकुद गर्दा त्यसको पूर्वतयारीको विषयमा आफूलाई कुनै जानकारी नगराइएको उल्लेख छ । ‘नागरिक उड्डयन नियमावलीअनुसार प्याराग्लाइडिङको व्यावसायिक सञ्चालन गर्नुपूर्व प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ । सो प्रतियोगिताको सम्बन्धमा प्राधिकरणबाट कुनै अनुमति लिएको नदेखिएको,’ प्राधिकरणले फाउन्डेसनलाई लेखेको पत्रमा उल्लेख छ ।

प्याराग्लाइडिङ नाममा नेफाका तत्कालीन महासचिव शैलेन्द्र रावतले राखेपबाट रकम लिई दुरुपयोग गरेको समेत फाउन्डेसनको आरोप छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रि–वर्ल्डकपहरूमा भाग लिएका निस्सिम प्याराग्लाइडिङका उदीयमान खेलाडी थिए। उनको सम्झनामा पोखरा रंगशालालमा सालिक निर्माणाधीन छ। पृथ्वीनारायण क्याम्पसमा एमए समाजशास्त्रमा दोस्रो वर्षका विद्यार्थी निस्सिम थापा दम्पत्तिको एक्ला सन्तान हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ