०८४ को निर्वाचन पछि एमालेको एकल सरकार हुनुपर्छः ओली

०८४ को निर्वाचन पछि एमालेको एकल सरकार हुनुपर्छः ओली

'एमाले सरकारबाट बाहिरिएपछि २ वर्षमा देश कंगाल भयो'

Oli Gandaki (1)

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनपछि एमालेको एकल सरकार बनाउन योे अभियान चलाएको बताएका छन् । उनले गत निर्वाचनसम्म एमाले सरकारमा भएको भए अहिले अन्य दलका राजनीतिक सटर बन्द भइसक्ने पनि बताए ।

पोखराको हेम्जामा विहीबार बेलुकी भएको जनसभामा बोल्दै ओलीले देशमा एमाले मात्रै राष्ट्रवादी शक्ति भएको उल्लेख गरे । उनले मिसन ८४ एमालेका लागि नभई देशको भरोसाको लागि, सुरक्षाको लागि, राष्ट्रियताका लागि, सुशासनको लागि र विकासको लागि चाहिएको बताएका छन्। पहिलेभन्दा धेरै साथ सहयोग एमालेलाई चाहिएको र एमालेको एकल बहुमत भएन भने सबै बिरोधी मिलेर सरकार बनाएर देशलाई कंगाल बनाउने पनि उनले बताए।

‘एमालेको सरकार चुनावसम्म भएको भए यिनिहरुको राजनीतिक सटर बन्द हुन्थे । यिनका सहयोगीहरु, अभिभावकहरु, वैदेशिक शक्तिहरु पनि डराए । देशी विदेशी शक्ति मिलेर एमालेलाई ढलाए,’ ओलीले भने, ‘तर एमाले सकिएको छैन । अझै सशक्त भएर आउँछ । देशभरिका जनतासँग भेटेर, मागपत्र लिएर विकास निर्माणका कामहरु गर्छौं ।’

लोकतन्त्रलाई संस्थागत गर्न एमाले जुनसुकै संघर्ष गर्न पनि तयार रहेको ओलीको भनाइ छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू प्रधानमन्त्री भएपछि मात्रै विकासको गति तीव्र भएको दाबी गरे । ‘म प्रधानमन्त्री हुनुअघि १ वर्षमा १० किलोमिटर बाटो पिच हुन्थ्यो । म प्रधानमन्त्री भएपछि एकैदिनमा १० किलोमिटरभन्दा बढी पिच गर्न थाल्यो । त्यो पनि सिंगल लेन होइन, डवल लेन, फोर लेन, सिक्स लेनको,’ उनले थपे, ‘एमालेले गरेका काम आफू उभिएकै ठाउँबाट हेर्न सकिन्छ । धेरै विकास गरेको छ ।’

ओलीले नेपालमा अब कहिल्यै पनि राजतन्त्र नफर्किने दाबी पनि गरे । ‘१६ वर्ष अगाडि मरेर चिहानमा पुगिसकेको राजतन्त्र अब फर्किनेवाला छैन,’ उनले भने, ‘नेपाली जनताको गरिबीको कारण, कष्ट, दुखको कारण, नेपाल विकसित हुन नपाउनको प्रमुख कारण राजतन्त्र हो । त्यो सामन्ती राजतन्त्रलाई फेरि फर्किन दिइने छैन ।’

देशका भू–भाग मिचिँदा समेत राजतन्त्रले फिर्ता ल्याउन नसकेको उनको आरोप छ । ‘राजतन्त्रले त्यत्रो समय राज गर्दा हामीले भोगचलन गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी किन फिर्ता ल्याएन ?,’ उनको प्रश्न छ, ‘किन भारतले कब्जा गरेको छ भनेर बोल्न सकेन ? सत्ताका लागि राष्ट्र मिचिन दिएका छन् ।’

जाडोको बेवास्ता गर्दै स्वागत गर्न हेम्जामा उर्लियो जनसागर

टोलीलाई कास्कीको हेम्जामा ठुलो स्वागत गरिएको छ । चिसोको समेत ख्याल नगरी दिउँसोदेखि जम्मा भएका स्थानीय साँझ अबेरसम्म पनि एमालेको टोलीलाई स्वागत गर्न बसेका थिए ।

चिसोको पर्बाह नगरी प्रतीक्षामा बसेका नागरिक प्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आभार व्यक्त गरे । ‘चिसो बढेको छ, कास्कीको हेम्जामा आइपुग्दा रात परिसकेको छ, हाम्रो यात्राका यात्रीहरू यात्राका लागि कुरिरहेका छन्, यात्राले दिन र रातको सीमारेखा पनि मेटाइदियो, यात्रामा सहभागी कास्कीवासी दिदीबहिनी, दाजुभाइ र युवाहरूलाई धन्यवाद’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रामा छ ।

एमाले अध्यक्ष ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई आज साँझ कास्की र पर्वतको सीमास्थल नयाँपुलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत गरियो भने हेम्जामा स्वागतसहित सम्बोधनको कार्यक्रम राखिएको हो ।

यात्रामा रहेको टोली शुक्रबार बिहान पोखराको अमरसिंहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रममा सहभागी हुनेछ ।

सो टोली दिउँसो रुपा गाउँपालिकाको पिपलेबजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

एमाले सरकारबाट बाहिरिएपछि २ वर्षमा देश कंगाल भयो

ओलीले सरकारबाट एमाले बाहिरिएको २ वर्षभित्र देश कंगाल भएको पनि बताए । पर्वतको कुश्मामा आयोजित सभामा बोल्दै उनले भने, ‘नयाँ उद्योग नखुलेकाले रोजगारी नहुँदा देशको अवस्था नाजुक छ । विकास निर्माणका काम ठप्प छन्, पहिलो चौमासिकमा कर्मचारीलाई तलब खुवाउन पनि राष्ट्र ऋण उठाउन परेको छ ।’

अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए । यस्तै, उनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि आफ्नो दलले ११०० स्वयम्सेवक खटाएर ८ सय १३ अस्थायी घर निर्माण भएको र सरकारको तर्फबाट वास्ता नभएको बताएका छन्।

वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लाग्यो

ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाए । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताए ।

उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको अरोप लगाए । उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।

‘यो सरकार लज्जाबोध नभएको सरकार हो । यसले राष्ट्रघाती काम गर्छ । यसले देशको इज्जत समाप्त पार्छ । यसले स्वाधिनता कमजोर पार्छ । स्वतन्त्रताको प्रयोग गर्न सक्दैन । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । भूमिको बारेमा बोल्न सक्दैन । यस्तो सरकार हो । विकासका कामहरु एमालेको समयमा जुन भएका थिए । ति विकासका कामहरु ठप्प छन् । तैपनि यस्तो सरकार चलिरहेको छ । सरकार हौँ भनेर बसिरहेको छ । चल्न त के चल्नु र बसिरहेको छ । अर्थतन्त्र ध्वस्त भएको छ, महंगी बढेको छ, युवा पलायन भइरहेका छन्, देश कमजोर हुँदै गएको छ, बैंक र ऋणीहरुको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ ।’ – उनले भने ।

ओलीले थपे –‘अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो । यो त सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ सरकारमा अचम्म लाग्दो छ । देशको राजनीतिक अस्थिरता बढ्दो छ । अराजकता बढ्दो छ । जनतामा निराशा र अन्योल बढ्दो छ, युवाहरु पलायन भइरहेका छन्, अर्थतन्त्र ध्वस्त हुँदै गएको छ, कर्मचारी पाल्नका लागि आन्तरिक ऋण उठाएर पाल्नुपरेको छ । त्यही पनि पहिलो चौमासिकमा । पहिलो चौमासिक, जतिबेला सबैभन्दा बढी पसा संकलन हुन्छ ।’

अभियानका क्रममा हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जनताका समस्या लिइएको बताउँदै काठमाडौँमा पुगेर गम्भीर छलफल गरी कसरी अघि बढ्ने भनेर नयाँ नीति तय गरिने अध्यक्ष ओलीको भनाइ थियो ।

सम्बन्धित समाचारः

ओली नयाँपुलमा बेहुला-बेहुलीलाई आशीर्वाद दिन घरमा पसेपछि खुशीयाली (तस्वीर/भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds