नेकपा एमालेको संकल्प यात्रा कास्कीमा दुई दिन, बिहीबार कास्की आइपुग्ने

झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा

नेकपा एमालेको संकल्प यात्रा कास्कीमा दुई दिन, बिहीबार कास्की आइपुग्ने

विवादित क्षेत्रका सङ्घर्ष समितिसँग छलफल गर्ने

UML press meet

पोखरा । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग ‘झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको टोली बिहीबार पोखरा आइपुग्ने भएको छ । टोली आठौँ दिन पोखरा आइपुग्ने र शुक्रवार पोखराबाट बिदा हुनेछ । २१ गते पोखरामा रहँदा ठाउँ ठाउँमा जनभेटघाट हुनेछ ।

अध्यक्ष केपी शर्मासहितको टोली मंसिर १४ गतेदेखि बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रामा छ । २१ गते पर्वतको सिमाना नयाँ पुलमा कास्कीको टोलीले स्वागत गर्नेछ । सोही दिन अन्नपूर्णा गाउँपालिका हुँदै हेमजाबाट पोखरा आएर बस्नेछ ।

भोलिपल्ट जिरो किलोमिटरबाट निस्केर अमरसिंहचोकबाट तालचोक हुँदै रूपाबाट लमजुङ छिर्नेछ । पोखरामा जनसभा भने हुने छैन । कुस्मामा हुने सभामा कास्कीबाट टोली सहभागी हुनेछ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, ‘नयाँ पुलमा त्यही दिन दिउँसो ३ बजे स्वागत गरेपछि २२ गते बिहान रुपा गाउँपालिकाबाट लमजुङतर्फ बिदाइ गरिनेछ ।’ ओलीले २१ गते हेम्जामा र तालचोकमा छोटो सम्बोधन गर्नेछन् ।

संकल्प यात्रामा निस्केको टोलीलाई नयाँ पुल, अन्नपूर्ण गाउँपालिका नागडाँडा, मिलनचोक, अमरसिंह, तालबेसी, पिप्लेबजारलगायतमा स्वागत गर्ने तालिका रहेको नेकपा एमाले कास्की जिल्ला इन्चार्ज थममाया थापाले जानकारी दिइन् ।

बिहीबार साँझ अध्यक्ष ओलीसहितको टोली पोखरामै बास बस्नेछ । ओली बस्ने होटेलमा अन्तरसम्वाद हुनेछ । यही समयमा पोखरामा लोकमार्ग निर्माणमा देखिएको विवादबारे छलफल गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए ।

‘समस्या कतै छैन, कास्कीमा पोखरा महानगरपालिका वडा नं.१६ मा  अलिअलि समस्या हो । यसलाई हामीले नै जटिल बनाएको हो,’ उनले भने, ‘विकासको नाममा राज्यले कसैलाई सुकुम्वासी बनाउँदैन । एलाइमेण्ट भइसकेर टेन्डरमा गइसकेको छ । यस्तोमा नयाँ विकल्प खोज्न मिल्दैन ।’

लोकमार्गलाई सहरसँग जोड्नुपर्ने भएकोले पोखरा झरेको उनले बताए । ओलीले विवादित क्षेत्रका सङ्घर्ष समितिसँग छलफल गर्ने उनले बताए । ‘यो यात्रा स्थानीयका समस्या, गुनासो, कहाँ के भइरहेको छ भन्ने सुन्ने नै हो । अध्यक्षज्यूलाई प्रभावितहरुको गुनासो राख्न हामी सक्दो प्रयास गर्ने नै छौं’, उनले भने, ‘उहाँले सम्वाद गर्नुहुन्छ ।’

अध्यक्ष गुरुङले विकासको नाममा राज्यले कसैलाई पनि सुकुम्बासी नबनाउने दाबी गरे । उनले भने, ‘जनतालाई समस्या नपर्ने गरी कमभन्दा कम क्षतिमा कसरी काम गर्न सकिन्छ, समस्या के छ भनेर जनताको कुरा सुनेर त्यसलाई विधिसम्मत समाधान गर्ने हो ।’

सम्झौता भएर ट्रेण्डरमा गइसकेको विषयलाई राजनीतिक दाउपेचको आधारमा तोडमोड गर्न खोज्न नहुने उनले सुनाए ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले देशमा संविधान विरोधी गतिविधि भैरहँदा सरकारले प्रतिवाद गर्न नसकेकोमा आक्रोश व्यक्त गरे । पाँच वर्षसम्म यो सरकार गए देश अस्तव्यस्त बन्ने उनको भनाई छ ।

एमाले स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापाले विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा जनतासँग जवाफ खोज्न अभियान थालेको बताइन् । पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरिएकाले एमालेले यो यात्रालाई ‘हिरक जयन्ती’ को कार्यक्रम समेत मानेको छ । पहाडको विकास नभएसम्म सिंगो देशको विकास हुन नसक्ने भएको कारण समेत यात्राले महत्व राख्ने उनको भनाई छ ।

एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाले कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले गरेका थिए ।

संकल्पयात्रा अन्तरगत कास्कीमा हुने कार्यक्रमलाई भव्य बनाउन व्यापक तयारी भैरहेको प्रचार विभाग प्रमुख लामाले जनाए । त्यसकाे लागि यहाँ रहेका नेतालाई कार्यक्षेत्र बाँडफाँड समेत गरिएको छ ।

अन्नपूर्णको नयाँपुल र नागडाँडाको कार्यक्रम संयोजन जिल्ला कमिटिको तर्फबाट केन्द्रीय सदस्य राजिव पहारीले गर्नेछन् । हेम्जा मिलनचोकको संयोजन केन्द्रीय सदस्य कृष्ण थापाले गर्नेछन् । अमरसिंहचोकको स्वागत कार्यक्रमको संयोजन केन्द्रीय सदस्य मीना कुमारी गुरुङले गर्नेछन् । तालचोकको संयोजन केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले गर्नेछन् ।

यस कार्यक्रमको सम्पूर्ण प्रचारको संयोजन उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामा नेतृत्वको प्रचारप्रसार टीमले गर्नेछ । स्वयंसेवक परिचालन, युवा, विद्यार्थी, खेलकुद र जनसंगठनको परिचालन उपसचिव नवराज ओझाले गर्नेछन् । खाना, खाजा, आवासको व्यवस्थापन जिल्ला पदाधिकारी र वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेल र कृष्ण न्यौपाने रहेको कमिटिले गर्नेछ ।

कार्यक्रम तालिका यस्तो छ:

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ