‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रक्रिया पूरा हुने चरणमा’ – मेयर धनराज आचार्य

‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रक्रिया पूरा हुने चरणमा’ – मेयर धनराज आचार्य

पदबहालीसँगै गरेको पहिलो निर्णय नै 'पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने' हो

Mayor Dhanaraj

पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि धनराज आचार्यले पदबहालीसँगै गरेको पहिलो निर्णय नै पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने हो । अब यो योजनाले मूर्तरुप पाउन लागेको मेयर आचार्यले शनिबार पोखरामा आयोजित कार्यक्रममा जानकारी गराएका छन् ।

यसै हप्ता मंगलबार प्रदेश राजधानी पोखरालाई पर्यटकीय राजधानी बनाउने अभियानलाई सफल बनाउन गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्ण देवकोटाको अध्यक्षतामा अध्ययन समिति नै गठन गरिएको थियो ।

मेयर आचार्यले नेपाल कुष्ठरोग निवारण संघको शनिबार पोखरामा भएको ५१ औं सभामा बोल्दै पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सबै प्रक्रिया पूरा हुने चरणमा रहेको जनाए ।

कार्यक्रममा प्रमुख आचार्यले संघले आगामी दिनमा कार्यक्षेत्र विस्तार लैजानुपर्ने बताए । ‘कुष्ठरोगबाट मात्र हेरेर भएन् । समय अनुसार परिवर्तन हुँदै छालाका अन्य रोगमा पनि काम गर्ने गरी सेवा विस्तार गर्ने विषयमा केन्द्रीय सभामा कुरा हुनेछ भन्ने आशा लिएको छ,’ उनले भने ।

सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो रकम छुट्याएको अवस्थामा विरामी हुनुभन्दा रोग नलाग्नेतर्फ सचेत गराउने कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । संघको आगामी कार्यमा महानगर हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले सुनाए ।

संघले ५१ औं केन्द्रीय सभा पोखरामा गरेको हो । शनिबार पोखरामा विविध कार्यक्रम गरी केन्द्रीय सभा सम्पन्न गर्ने क्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

संस्थापक उपाध्यक्ष डा. गौरीशंकरलाल दासलाई सम्मान पत्रले सम्मान गरिएको थियो । उमेरले १ सय वर्ष नाघेका उनलाई जेष्ठ सदस्यका रुपमा सम्मान गरिएको हो । यस्तै आजिवन सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

सोही कार्यक्रममा पोखरा आरोग्य आश्रममा आश्रित जेष्ठ कुष्ठरोग प्रभावितहरुलाई पनि सम्मान गरिएको थियो । धर्मी देवकोटा, लक्ष्मी गुरुङ र फूलमाया अधिकारीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, आश्रमलाई सहयोग गर्ने बौद्ध उपासिका संघ, बुद्ध प्रतिष्ठान, लायन्स क्लब अफ पोखरा समर्पण, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, हरियोखर्क अस्पताल, पोखरा लेडी जेसिस, ढुंगेसाँघु युवा क्लब र शिवलाल आचार्यलाई पनि सम्मान गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्वयंसेवी संस्थाका रुपमा संघले पु¥याएको योगदान अतुलनिय रहेको उनले बताए । उनले पनि संघले अन्य रोगका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।

संस्थाको परिचयसहित कामका बारेमा महासचिव डा. रामकुमार श्रेष्ठले प्रस्तुति दिएका थिए । डा. अध्यक्ष खगेन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्षद्वय नारायण शर्मा र हिरा उदासँगै उपमहासचिव कृष्णलाल श्रेष्ठले संघले आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्दै अघि बढ्ने बताए ।

कुष्ठरोग प्रभावितहरुको संख्या बर्सेनि बढ्दो

कुष्ठरोग नियन्यण तथा अपांगता व्यवस्थापन शाखा, टेकूले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कुष्ठरोग प्रभावितहरुको संख्या बर्सेनि बढ्दो छ । पछिल्लो ३ वर्षको आंकडा हेर्दा कुष्ठ प्रभावितहरु बढेको भेटिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ८ सय ५३ नयाँ प्रभावित फेला परेकोमा अर्को वर्ष त्यो बढेर २ हजार १ सय ७३ पुगेको हो ।

पोखरा आरोग्य आश्रमका कार्यालय प्रमुख सुभाष तझ्या पनि बर्सेनि प्रभावितहरुको संख्या बढ्दै गएको बताउँछन् । कुष्ठ प्रभावितहरुको हेरचाह र औषधोपचारको क्षेत्रमा नेपाल कुष्ठरोग निवारण संघले काम गरिरहेको छ । २०२६ साल जेठ २२ गते स्थापना भएको संघले यो क्षेत्रमा काम गर्दै आएको छ । संघ स्थापनाको धेरैपछि सरकार जोडिन आएको संघका केन्द्रीय अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले बताए ।

संघ मातहत पोखरा र काठमाडौंमा आश्रम नै बनाएर प्रभावितहरुलाई राखिएको छ । सँगै विभिन्न अस्पतालहरुको सहकार्यमा उनीहरुको उपचारमा पनि सघाएको छ । यो बाहेक धनगढी, नेपालगञ्ज र धरानमा शाखा कार्यालय स्थापना गरी सेवा दिइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ