गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा पठायो चिकित्सक र स्वास्थ्यकर्मी

राहत

गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा पठायो चिकित्सक र स्वास्थ्यकर्मी

बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

Gandaki Mantralaya cabinet

पोखरा । गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो ।

प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौँ’ मुख्यमन्त्री पाण्डेद्धारा जारी अपिलमा भनिएको छ ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भुकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकार सँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताए।

शुक्रवार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।

सरकारले तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय

सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५/५ करोड रुपैया पठाउने निर्णय भएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।

शुक्रबार राति आएको विनासकारी भूकम्पबाट क्षति भएको स्थानमा खोज/उद्धार र राहत व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका संयन्त्र खटिएका छन् ।

बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालिन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरि केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ।

एक करोड ५० लाख आर्थिक सहयोग गर्ने लुम्बिनी सरकारको निर्णय

जाजरकोटको भूकम्पका पीडितहरुलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरुप कर्णाली प्रदेश सरकारलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारको दाङको तुल्सीपुरमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु गएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितका लागि राहत आर्थिक रकम उपलब्ध गराउने निर्णय गरेको हो । शुक्रबार बिहानै लुम्बिनीका मुख्यमन्त्री चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल गरी दाङका मेडिकल सुपरिटेन्डेट डा. पदमराज अधिकारीको नेतृत्वका २० जना स्वास्थ्यकर्मी र औषधि सहितको टोली जाजगरको र रुकुमका लागि पठाएका थिए ।

लुम्बिनीको गृहमन्त्री सन्तोषकुमार पाण्ड्येको नेतृत्वका स्वास्थ्यकर्मी र औषधि सामग्री सहितको टोली भूकम्पग्रस्त क्षेत्रमा पठाई सहयोग र समन्यव गर्ने बैठकले निर्णय गरेको छ । साथै लुम्बिनी प्रदेश सरकारको तर्फबाट तत्कालीन चिकित्सक, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधोपचार, सामग्री, खाद्य तथा गैरखाद्य सामग्री उपलब्ध गराई विपदको आपतकालीन अवस्थामा सहयोग गर्ने र यस कार्यमा प्रदेशका सम्बद्ध निकाय मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा परिचालन गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव सुमन घिमिरेले जानकारी दिए ।

भूकम्पबाट लुम्बिनी प्रदेशको रुकुमपूर्व लगायतका जिल्लामा भएको धनजनको क्षतिको विवरण लिन प्रदेश गृह मन्त्रालयले टोली खटाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रतिवेदन लिई उद्धार, राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउने निर्णय भएको घिमिरेले बताए ।

कोशी प्रदेशले १ करोड रुपैयाँ र राहत सामग्री उपलब्ध गराउने

कोशी प्रदेश सरकाले जाजरकोट भूकम्प पीडितका लागि १ करोड रुपैयाँ र आवश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ तथा त्रिपाल, कम्बल र मेट्रेस उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले जानकारी दिएका छन् ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर पीडित भएकाहरूका लागि तीन प्रकारका सामग्री उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् । उनले भने, ‘कोशी प्रदेश सरकारले भूकम्प पीडितहरूका लागि कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, भूकम्प पीडितहरूका लागि १ हजार थान कम्बल, १ हजार थान त्रिपाल र १ हजार थान मेट्रेस पठाउने निर्णय पनि भएको छ ।’

भूकम्प पीडितलाई ५० लाख दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले जाजरकोट भूकम्पको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ ।शनिबार कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर सहयोगको घोषणा गरेका हुन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ । सयौं घाइते भएका छन् ।

यस घटनाले समस्त नेपालीलाई मर्माहत र दु:खी बनाएको उल्लेख गर्दै कांग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ-संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपील गरेको छ ।

‘यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले रु.पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds