पोखरामा प्याराग्लाइडिङ पुरानै स्थानबाट सञ्चालन हुने, मान्द्रेढुङ्गा अपायक

साहसिक खेलकुद पर्यटन

पोखरामा प्याराग्लाइडिङ पुरानै स्थानबाट सञ्चालन हुने, मान्द्रेढुङ्गा अपायक

दैनिक १२ सय उडान हुने गरेकोमा अहिले डेढ सय मात्रै

paragliding-in-pokhara 1

पोखराको साहसिक पर्यटनको प्रमुख आधार प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्‍चालनको तयारी गरिएको छ। तोरीपानी बाहाकोट क्षेत्रबाट एक साता भित्र उडान थालिने तयारी गरिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकोमा अब पूर्ववत् स्थानबाट नै सञ्‍चालन गर्न लागिएको हो। अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ। झण्डै ६ किलोमिटर बढी दूरीले गर्दा शुल्क पनि बढेर १२ हजार पुगेको छ ।

अहिले मान्द्रेढुङ्गाबाट उडान सञ्‍चालन गर्दा पर्यटक आकर्षित हुन सकेका छैनन् भने प्याराग्लाइडिङ गर्नेको सङ्ख्यासमेत घटेको छ। यतिबेला दैनिक १५० सम्म उडान भइरहेको छ। कोरोना पहिले दैनिक १ हजार २ सयसम्म उडान हुन्थ्यो।

मान्द्रेढुङ्गाबाट टेकअफ गरी पामे ल्याण्ड गर्दै आएको अहिलेको रुट पोखरा बजार र फेवातालदेखि टाढा पर्छ । तस्वीरमा स्काई राइडर प्याराग्लाइडिङका एमडी एवं पाइलट विष्णु गौतम ।

सुरुआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो।

नेपाल हवाई खेलकुद संस्था(ना)ले मान्द्रेढुङ्गाबाट हुँदै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उड्‍डयन प्राधिकरणको सहयोगमा क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको जनाएको छ।

नाको बुधबार पोखरामा आयोजना गरिएको २०औँ वार्षिक साधारणसभामा नागरिक उड्‍डयन प्राधिकरण (क्यान)का विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको नाका अध्यक्ष सुनिल भट्टराईले बताए। क्यानले लामो प्राविधक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उनले बताए।

अध्यक्ष भट्टराईले भने, ‘मान्द्रेढुङ्गा क्षेत्र विस्तार गरी बाहाकोटबाट उडानको निर्णय भइसकेको छ। उक्त क्षेत्रको एआइपी प्रकाशित भएसँगै पूर्ववत् स्थानबाट प्याराग्लाइडिङ सञ्‍चालन गर्छौं।’

पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावापानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ। पोखरामा दुई दशकअघिदेखि प्याराग्लाइडिङ सञ्‍चालन हुँदै आएको छ। पर्यटकीय सहरमा सञ्‍चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन्। पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन्।

नागरिक उड्‍डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। पोखराको पहिचानलाई देश विदेशमा स्थापित गर्न प्याराग्लाइडिङले ठूलो योगदान गरेको उनको भनाइ छ।

‘आगामी दिनमा यहाँ प्याराग्लाइडिङका गतिविधि अझ वृद्धि हुँदै जाहोस्। यसलाई सुरक्षित बनाउनेतर्फ ध्यान पुग्‍नुपर्दछ, विकासका लागि क्यानको तर्फबाट सहयोग गर्नेछौँ,’ उनले भने – ‘गत वर्ष भएको दुखद घटना पछि पर्यटकको सङ्ख्या घटेको छ, त्यसकारण प्रविधिको प्रयोग गर्दै प्राधिकरणको नियन्त्रणमा रहेर प्याराग्लाइडिङलाई थप प्रचार प्रसार गरि उच स्थानमा लैजानु पर्नेछ ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान गरेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताए। ‘प्याराग्लाइडिङको राम्रोसँग नियमन, अनुगमन र व्यवस्थापन गरी पोखराको ब्राण्डका रुपमा सधैँ स्थापित गर्नु आवश्यक छ,’ उनले भने।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा महानगर पालिका वडा नं ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, नाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारी लगायतले आफ्ना भनाई राख्दै नेपालसंगै पोखराको पर्यटनमा महत्वपूर्ण भुमिका खेल्दै आएको प्याराग्लाइडिङ बिनाको पोखरा कल्पना समेत गर्न नसकिने बताए ।

हवाई खेलकुदको माध्यमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी विसं २०५९ मा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो। सुरुआतमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ व्यावसायिक कम्पनी रहेका छन्।

त्यसैगरी, कम्पनीअन्तर्गत ३ सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको नाका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। ती मध्ये १० जना महिला पाइलट छन् ।

संस्थाका महासचिव खेमराज आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ का लागि विभिन्न २२ वटा कार्यक्रमहरु अघि सारेका छन् । टेण्डम प्याराग्लाइडिङ लाईसेन्स प्राप्त पाईलटहरुको आवेदन नविकरण एवम् टि टु कोर्ष पुरा भएका २३ जाना पाईलटहरुलाई लिखित र प्रयोगात्मक परिक्षा लिइ लाईसेन्स प्रदान गरेको आचार्यले बताए ।

नवौं राष्ट्रिय खेलकुदमा दुर्घटनाका कारण निसिम थापाको ज्यान गएपछि स्थगित सोलो (एकल) उडान अनुमतिको विषयमा क्यानले आफ्नो अध्ययनलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ