पोखरा । नेकपा (एमाले) गण्डकीको नयाँ नेतृत्व चयनमा सहमतिको प्रयास सफल नभएपछि अन्ततः पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूह प्यानल नै बनाएर चुनावमा होमिएको छ ।
उपाध्यक्ष विष्णु पौडेल निकट उपमहासचिव पृथ्वीसुब्बाको समूह र महासचिव शंकर पोखरेलको साथ पाएको खगराज समूहले प्यानलको टुंगो लगाई मत माग्न थालिसकेको छ ।
पार्टीको नीति विपरित हुने भएकाले प्यानल भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन । अघोषित रुपमा प्यानल खडा गरी कार्यकर्ताहरु आफ्नो पक्षमा माहौल बनाइरहेका छन् । यो निर्वाचनलाई नेताहरुले प्रतिष्ठाको विषय बनाएका छन् ।
स्थायी कमिटी सदस्य खगराज समूहबाट मंगलबार राति नै प्यानलको टुंगो लागिसकेको थियो । यो समूह निकट कार्यकर्ताहरुले सचिव पद्मा अर्याल र स्थायी कमिटि सदस्य किरण गुरुङ शंकर पोखरेलसँगको भेटपछि आफ्नो समूहमा आएको भनेर प्रचारबाजी गर्न थालिसकेका थिए । पदीय हिसाबले सचिव रहेकी पद्मालाई नै गुटको नेतृत्वका रुपमा खगराज पक्षीय कार्यकर्ताले प्रचार सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । तर, सत्य नभएको पृथ्वीसुब्बा पक्षीय नेताहरू बताउँछन् ।
उपमहासचिव पृथ्वीसुब्बा समूहबाट भने बुधबार बिहान मात्रै प्यानलको टुंगो लगाएको हो । पृथ्वीसुब्बा समूहबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर विकलाई उम्मेदवार बनाएको छ । लेखा आयोग प्रमुखमा नवलपुरका अमृत ज्ञवाली र उपाध्यक्षमा गोरखाका गिरिधारी बास्कोटा र सचिवमा बाग्लुङका वीरबहादुर बिकलाई अगाडि सारिएको छ । नवराज शर्मा अहिले गण्डकीकै तदर्थ समिति अध्यक्ष हुन् ।
अध्यक्षका प्रत्याशीद्वय मायानाथ अधिकारी र नवराज शर्मा
खगराज समूहबाट केन्द्रीय सदस्य लमजुङका मायानाथ अधिकारी अध्यक्ष, उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मी आचार्य, उपसचिव म्याग्दीमा सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवार बनाएको छ । सन्तोष रावल उपमहासचिव विष्णु रिमालको रोजाई हो । रश्मीले पृथ्वीसुब्बाबाट क्याम्प चेञ्ज गरेका हुन् । उपसचिव र प्रचार विभागको नेतृत्व गरिसकेका उनलाई सचिवमा अघि नसारेपछि खगराज क्याम्प पुगेको चर्चा छ ।
पार्टी सचिव एवं गण्डकी इञ्चार्ज गोकर्ण बिष्टले सुरुदेखि नै सहमतिको मन्त्र जपेपनि गुटले गाँजेको गण्डकीमा नेतृत्व नै च्याप्ने, फ्याक्ने खेलमा लागेपछि चुनावबाटै नेतृत्व चुन्ने पक्का भएको हो ।
पृथ्वीसुब्बाकै गृहजिल्लाका नेता मायानाथ अधिकारीलाई अध्यक्षमा अघि सारेर दुईबीच दूरी टाढा बनाई आफ्नो पक्षमा पार्न खगराज समूह सफल भयो । आफूइतर समूहसँग मिलेकोमा पृथ्वीसुब्बा असन्तुष्ट छन् । पिएस पक्षीय एक नेताका अनुसार मायानाथलाई सुरूमा स्वयं पृथ्वीसुब्बा नै सर्वसम्मत अध्यक्ष बनाउन चाहन्थे । पद्मा र किरण पनि जुनै हालतमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने अडानमा थिए । मायानाथ खगराज समूहको छलफलमा चर्को गरी लागेपछि अब नेतृत्व दिन हुँदैन भन्नेमा पिएस पुगेका हुन् ।
अध्यक्ष ओली मौन ! पृथ्वीसुब्बालाई चिढ्याउन चाहँदैनन्
वर्षाका कारण ऐतिहासिक उद्घाटन समारोहमा आउन नपाएका अध्यक्ष केपी शर्मा ओली गण्डकीको चुनावमा मौन रहेको बताइन्छ । उनी पृथ्वीसुब्बालाई चिढाएर पार्टी गढ गण्डकीलाई तहसनहस बनाउने पक्षमा छैनन् ।
‘उहाँले सकेसम्म सर्वसम्मति मै नेतृत्व चयन होस् भन्नुभएको हो । सर्वसम्मति त भएन । अब यसलाई जिताउनुस् भनेर पनि बचन दिनुभएको छैन । पिएसलाई चिढ्याउने पक्षमा देखिनुभएन । पिएस गण्डकीमा बलियो भएर पनि हुनसक्छ ।’ एक नेताले भनेका छन् ।
यद्यपी खगराज पक्षका नेताहरू भने अध्यक्षको साथ आफैलाई रहेको दाबी गर्छन् । ‘केपीपछि अघि सारिएका उत्तराधिकारी नै शंकर पोखरेल हो, महासचिव कमरेड नै यो समूहमा भएपछि अध्यक्ष किन बोल्नुपर्छ र ?’ – खगराज पक्षका ती नेता भन्छन् ।
पिएस पक्षीय नेताहरू भने अध्यक्ष केपी ओली मात्र होइन, महासचिव शंकर पोखरेल पनि अनुदार नरहेको बताउँछन् । ‘उद्घाटनको दिन अध्यक्ष कमरेड हेलिकोप्टरमै भएपनि आउन सक्नुहुन्थ्यो, आउनुभएन । हिजै बन्दसत्रमा सम्बोधन गर्न पनि आउन सक्नुहुन्थ्यो, आउनुभएन । अध्यक्ष कमरेड पिएस कमरेड विरूद्ध जानै सक्नुहुन्न । पिएस कमरेडले शंकर कमरेडसँग पनि भेटघाट गर्नुभएकै छ । अध्यक्ष कमरेड मात्र होइन, महासचिव कमरेड पनि भनिएजस्तो एण्टी होइन ।’ – पिएस पक्षीय ती नेता जिकिर गर्छन् ।
यद्यपी, उपमहासचिव गुरूङ र स्थायी कमिटी सदस्य अधिकारी अलग–अलग प्यानलका साथ मैदानमा प्रस्तुत हुँदा एमालेका पदाधिकारीहरू पनि विभाजित देखिएका छन्।
उपमहासचिव गुरूङको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल रहेको एक नेताले दाबी गरेका छन् ।
खगराज समूहलाई केपी ओली हार्डलाइनर समूह मानिन्छ । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालले खगराजलाई च्यापेका छन् । महासचिव पोखरेल काठमाडौं फर्किसकेको भए पनि निकट नेताहरूलाई मायानाथ अधिकारीलाई अध्यक्ष जिताउन लविङ गरिरहेको बुझिएको छ ।
गण्डकीका शीर्ष नेताहरुको साथ पृथ्वीसुब्बालाई !
पूर्व माले पृष्ठभूमिका सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङको तेस्रो धार महत्वपूर्ण रहेको मानिन्छ । यी दुई नेता कुन कित्तामा उभिन्छन् भन्ने कुराले ठूलो अर्थ राख्ने भएकाले खगराज समूह आफूतिर तान्ने प्रयासमा सुरुदेखि नै लागेको थियो ।
उद्घाटनका अवसरमा पोखरा आएका महासचिव शंकर पोखरेल स्वयंले आफ्नो पक्षमा पार्न कसरत गरेका थिए । पद्मा र किरणले पहिल्यैदेखि पृथ्वीसुब्बालाई साथ दिँदै आएकाले यसपटक पनि नबाहिरिएको पृथ्वीसुब्बा निकट नेताले बताएका छन् ।
‘अन्तिमसम्म हामीबाट सहमतिका लागि प्रयास भएको हो । हालका अध्यक्ष नवराज शर्मालाई नै एक कार्यकाल अध्यक्ष बनाएर जाऔँ भन्ने हाम्रो प्रस्ताव हो । उहाँहरु (खगराज पक्ष) सर्वसम्मतका लागि खुला हुनुभएन,’ पृथ्वीसुब्बा निकट नेताले भने, ‘पद्मा र किरणको साथ हामीलाई नै छ ।’ पद्मा र किरण भने खुलेर बोलिसकेका छैनन् ।
किरण गुरुङले अन्तिमसम्म सर्वसम्मतिकै लागि आह्वान गरिरहेका थिए । उनले सामाजिक सञ्जालमा पनि एकताका लागि अपिल गरेका थिए । सर्वसम्मति हुने नदेखिएपनि यथास्थितिमै अर्थात् पिएसकै पक्षमा रहेका जनाउ दिएको एक नेताले बताए । पद्माका विश्वास पात्र प्रदेश उपाध्यक्ष मोहन रेग्मी, वालिङका मेयर कृष्ण खाँडहरु खगराज गुट जान नमानेपछि पद्मालाई पनि गाह्रो भएकाले पिएस पक्ष छोड्न नसकेको बताइन्छ । पुष्पज्योति ढुंगाना, रामकृष्ण ज्ञवालीलगायत निकटकाले पनि पिएस गुट छाड्न नहुनेमा जोड दिएको ती नेताको भनाई छ । पद्मा यो स्थानमा पुग्न पिएसको ठूलो साथ रहेकाले पनि पद्माले खगराजलाई साथ दिन कठिन भएको उनीहरुको निश्कर्ष छ ।
निरन्तरको झरीले बाधा
साँझ सवा ५ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तालिका सार्वजनिक भएपनि वर्षा बाधक बनेको छ । निरन्तरको झरीले गर्दा मतदान विहीबार धकेलिने निश्चित छ । गण्डकीमा ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् । अधिवेशनबाट १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ।
यसअघि लुम्बिनी, बागमती, कर्णाली र कोशी प्रदेशमा अधिवेशन टुंगिसकेको छ । लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह र कोशीमा घनश्याम खतिवडा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन्। यसपछि उपत्यका विशेष, सुदूरपश्चिम र मधेस प्रदेशमा अधिवेशन हुन छन्।
नेकपा (एमाले)ले संगठन सुदृढीकरण अभियानअन्तर्गत तहगत कमिटीको अधिवेशन गरिरहेको हो। एमालेले २०८० लाई अधिवेशनको वर्ष मानेको छ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर