काठमाडौं । नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जिते ।
चितवनको रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामा सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका हुन् । अन्तिम पाँच प्रतिस्पर्धामा समर्पणसहित सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाई पुगेका थिए ।
जितपछि बोल्दै समर्पणले आफूलाई सपनाजस्तो लागिरहेको बताए । ‘मलाई सपनाजस्तो लाग्दैछ । मैले सँधै रियालिटी शो हेर्थेँ र कुनै दिन यस्तै शोको हिस्सा बनूँ भन्ने चाहना राख्थें । तर मैले शो जितेको कल्पना पनि गरेको थिइनँ, यो साँच्चै सपना हो । मेरो लागि सत्य हो । जब म अनिकेत चौहान पछि उत्कृष्ट १३ मा छनोट भएँ, त्यो पल मेरो लागि विजयी क्षण थियो । शोमा म यतिसम्म आइपुग्छु भनेर सोचेको पनि थिइनँ ।’
उनले यो पनि भने, ‘यस प्रतियोगिताको क्रममा मैले सफलता र असफलता दुवैको स्वाद लिएको छु । असफलता पनि महत्वपूर्ण छ, किनकि यसले तपाईलाई धेरै कुरा सिकाउँछ, र यसले मलाई मेरो उत्कृष्ट दिन र थप मेहनत गर्न मद्दत गरेको छ । आज, त्यसैको कारण म राम्रो डान्सर बनेको छु । ‘इन्डियाज बेस्ट डान्सर सिजन ३’लाई मेरा शब्दले वर्णन गर्न सक्दैनन् ।’
फिनाले एपिसोडका अतिथिमा गोविन्दा र गणपथका कलाकार-टाइगर श्राफ र कृति सेनन थिए । शोलाई जय भानुशालीले होस्ट गरेका थिए जसमा सोनाली बेन्द्रे र गीता कपुर जज थिए । समर्पणको जितबारे सोनालीले भनिन्, ‘यो ठूलो जितमा म मेरो ‘क्युटी मिनिस्टर’ समर्पणका लागि निकै खुसी छु । उनी तालिम प्राप्त नर्तक नभए पनि उनले हामीलाई प्रभावित तुल्याए । किनकि नृत्यप्रतिको लगाव र लगाव हरेक अभिनयमा प्रस्ट देखिन्थ्यो ।’
समर्पणलाई रत्ननगर नगरपालिका-१३ मा भव्य स्वागत गर्ने तयारी भैरहेको जनाइएको छ ।

को हुन समपर्ण लामा
२१ वर्षिय समर्पण लामा बुवा धिरेन लामा र आमा सुधा विष्टको जेठो छोरा हुन् । उनको स्थायी घर चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १३ माधवपुर, टाँडी हो । उनका बुवा बैदेशिक रोजगारीको शिलशिलामा कतारमा काम गर्छन् भने उनकी आमा सुधा विष्ट गृहणी हुन् ।
उनले चितवनको टाँडीमा भएको अन्नपूर्ण मावि स्कूलबाट एसईई सकेर त्यहीकै जनजागृती पिठुवा क्याम्पसबाट १२ कक्षा पास गरेका छन् ।
सानैदेखि नै फरक प्रतिभा भएका लामा केही समय अघिसम्म टाँडीमा नृत्य सेन्टर संचालन गरेर स्थानीय युवाहरुलाई नृत्य सिकाउँदै आएका थिए । उनमा क्यारिकेचर गर्ने कला पनि भएको कुरा उनका बुवा धिरेन लामा बताउँछन् ।

सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन