सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको आमा-छोरीको हत्या भएको पुष्टि भएको छ। भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका-२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो। आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।
अनुसन्धानको क्रममा उनीहरूको हत्या भएको पुष्टि भएको हो। उनीहरूको हत्या गरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको छ।
यो हत्याकाण्डमा रेवतीका पूर्वप्रेमी सिद्धकुमाख गाउँपालिका–२ का २८ वर्षीय कर्णबहादुर बस्नेतले गरेको तथ्य खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले बताए।
आमा-छोरी उक्त घरमा बस्दै आएका थिए। भदौ २९ गते राति सुतेका उनीहरु ३० गते बिहान अबेरसम्म नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा जलेको अवस्थामा आमा छोरी नै मृत भेटिएका थिए।
रेवतीका श्रीमान शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए। श्रीमती र छोरीको हत्याको खबरपछि उनी घर फर्किएका छन्।
घटना विवरणः
दुबईबाट २६ गते घर आएका कर्णबहादुर दुई दिन घरमै बसेर २९ गते राति पौने १० बजेतिर रेवतीको घरमा पुगेका थिए। जतिखेर रेवतीका आमा छोरी सुतिसकेका थिए। कर्णले ढोका ढकढक पारेपछि रेवतीले को हो? भन्दा कर्णले आवाज दिए।
रेवतीले आवाज चिन्नासाथ ढोका खोलिदिइन्। ढोका खोल्नासाथ कर्णले रेवतीको घाँटी न्याके र कपडाले कसे। उनी बेडमै लडेपछि त्यसैमा पेट्रोल छर्केर आगो सल्काइदिए। रेवतीसँगै नौ महिनाकी छोरी ऋतु मस्त निन्द्रामा थिइन्। बेडमा पेट्रोल छर्केर आगो झोसेपछि त्यो दन्कियो। त्यो आगोले नौ महिनाकी ऋतुका साथै उनकी आमाको मृत्यु भएको डिएसपी कार्कीले बताए। आमा छोरीको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।
कर्णबहादुरको घर रेवतीको भन्दा झन्डै ३२ किलोमिटर टाढा छ। घटना घटाएपछि कर्ण नजिकै गाउँमै एक जनाको घरमा बास मागेर बसे। त्यहाँबाट कर्ण बिहान ३ देखि ४ बजेतिर उठेर आफ्नो घरतर्फ लागे।
डिएसपी कार्कीका अनुसार ७ वर्ष पहिले कर्ण र रेवतीका बीचमा सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो। कर्ण विवाहित थिए। रेवती भने अविवाहित। उनीहरूको प्रेम सम्बन्ध शारीरिक सम्बन्धसम्म पुग्यो। उनीहरू आपसमा बिहे गर्न मन्जुर भएका थिए। कर्णले पहिल्यै विवाह गरेको थाहा पाइसकेपछि पनि रेवती कर्णसँग विवाह गर्न राजी बनेकी थिइन्। तर, सन् २०१८ मा कर्ण दुबई गए। त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका – २ झालेढुंगा थापा टोलका सुकलाल थापासँग बिहे गरिन्। रेवती आफूलाई धोका दिएको भन्दै कर्णले बदलाको भावसहित इगो पाल्दै आएका थिए।
रेवती र कर्णले आपसी सम्बन्धमा ती शारीरिक सम्बन्धका थुप्रै फोटो र भिडिओहरू बनाइराखेका थिए। त्यस्ता फोटो र भिडिओ दुवैसँग थिए। त्यो भिडिओ पछि रेवतीका पतिले समेत देखेपछि उनीहरुबीचको सम्बन्धमा केही समय समस्या आएको प्रहरीले जनाएको छ। सम्बन्ध निकै चिसिएको भए पनि विस्तारै उनीहरूका बीचमा कुरा मिलेको प्रहरी बताउँछ।
रेवतीले विवाह गरेको २ वर्षपछि फेरि कर्णले विभिन्न माध्यमको प्रयोग गरी रेवतीसँग सम्बन्ध स्थापित गरेका थिए। त्यतिखेरदेखि उनीहरूका बीचमा तिनै प्रेम सम्बन्धका फोटो र भिडिओका कारण विवाद चुलिँदै गएको थियो। ती तस्बिरहरू डिलिट गर्नुपर्ने विवादको मुख्य कारण थियो।
कर्णलाई पनि ती फोटोहरू सार्वजनिक भए आफ्नो प्रतिष्ठा गुम्ने त्रास थियो। रेवतीले भने फोटोहरू डिलिट गर्न मानिरहेकी थिइनन्। विगत ८ महिनादेखि उनीहरूका बीचमा विवाद चर्किंदै गएको थियो।
त्यही समयदेखि नै कर्ण प्रमाण मेटाउनका लागि रेवतीको हत्या गर्नु नै उचित हो भन्ने गलत निष्कर्षमा पुगेर हत्याको योजना बुन्दै आएको तथ्य खुलेको डिएसपी कार्कीले बताए।
नेपाल आएर रेवतीको हत्या गर्ने योजनाका साथ दुबईमै छँदा कर्णले ४ महिना पहिले कार्यरत ठाउँमा बिदासमेत मागेको भए पनि बिदा नमिलेको हुँदा योजना विफल भएको बयान कर्णले दिएको डिएसपी कार्कीले बताए।
पछिल्लो समय उनी भदौ २६ गते मात्रै घर फर्केका थिए। उनी यतिखेर नेपाल आउनुको कारण पनि रेवतीको हत्या गर्नुबाहेक अर्को योजना नरहेको प्रहरी बताउँछ। सोही सोचका साथ घर आएका कर्णले दुई दिन आफ्नो घरमा बसेपछि तेस्रो दिनमा रेवतीको हत्या गरेका थिए।
हत्यालगत्तै सुटुक्कै फेरि विदेश फर्किने कर्णको योजना थियो। माल्टा जानका लागि उनले पहिलै एजेन्टलाई दश लाख नगद बुझाइसकेको प्रहरी बताउँछ। तर, रेवतीसहित उनकी नौ महिनाकी छोरीको विभत्स हत्याको खुनले बाटो दिएन। विभिन्न अनुसन्धान गर्दै जाँदा असोज ३ गते प्रहरीले उनलाई पक्रन सफल भएको थियो।
प्रहरीका अनुसार कर्णले विदेशबाट काठमाडौं फर्किनासाथ एक पटक मात्रै रेवतीसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि उनले रेवतीसँग कहिल्यै संवाद गरेका थिएनन्। हत्या हुँदा रेवतीका श्रीमान रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए। श्रीमती र छोरीको मृत्युको खबर सुनेपछि तीन दिनपछि मात्रै उनी फर्केका थिए। असोज २ गते उनी आएपछि आमा छोरीको अन्त्येष्टि गरेका थिए।
प्रहरीका अनुसार कर्णका श्रीमती, एक १४ बर्षीया छोरी र एक छोरा पनि छन्।
प्रहरीले पक्राउ परेका कर्णलाई आज सार्वजनिक गरेको छ। जिल्ला अदालत सल्यानले ६ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको छ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो