नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यहरूले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवादमा कोइरालाले यस्तो बताएका हुन् । ०७८ को १४ औं महाधिवेशनमा शेखर, सुजाता र शशांक एकजुट भएका थिएनन्।
शेखर सभापति पदमा उठे पनि शेरबहादुर देउवासँग पराजित भए। सुजाता प्रकाशमान सिंह प्यानलबाट उपसभापति उठे पनि पराजित भइन्।महामन्त्री भइसकेका शशांक केन्द्रीय सदस्य मात्रै उठेर लोकप्रिय मतसहित जिते। दाजु शेखर सभापति उठे पनि उनका पक्षमा शशांक खुलेका थिएनन् न त उपसभापति उठेकी सुजाताकै पक्षमा खुले, उनी मौन बसिदिए।
कोइराला परिवारका सदस्यहरू एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरूले दुःख पाइरहने शेखरको दाबी छ । उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४औँ महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताए ।
उनले भने, ‘मैले पाउने सम्मान पाएकै छु । तर, महाधिवेशनमा तपाईंहरूले साथ दिएको भए, यस्तो हालत हुँदैनथ्यो । पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ ।’ नेता कोइरालाले आफूहरू कोइराला परिवारका सदस्यहरूलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा. शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए ।
शेखरले आफू सधैं एकताकै पक्षमा रहेको बताए। ‘म सधैं एक भएर जानुपर्छ भन्नेमै छु, बिगारेको त उहाँहरू (सुजाता र शशांक) ले हो, नत्र समस्या नै आउँदैनथ्यो,’ शेखरले भने, ‘मैले पाउने सम्मान त तपाईंहरूबाट पाइरहेकै छु, तर दु:ख त कार्यकर्ताहरूले हामीहरूले भन्दा धेरै पाउनुभएको छ।’
शशांकले भने- सभापतिमा म नै उपयुक्त
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरूको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४औँ महाधिवेसनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको बताए । आफू १५औँ महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको उनको भनाइ छ ।
शशांकले सभापतिमा आफू उपयुक्त पात्र भएको बताए। तर १५ औं महाधिवेशनअघि देशैभर घुमेपछि मात्रै यो विषयमा निचोडमा पुगिने उनको भनाइ छ। ‘१५ महाधिवेशनअघि म देशैभर जान्छु। साथीहरूका भावना के छन्, मलाई सभापतिमा देख्न चाहन्छन् कि चाँहदैनन् त्यो बुझ्छु,’ उनले भने, ‘राजनीतिमा आफूले चाहेर मात्रै हुन्न। साथीहरूले के भन्छन्। युगअनुसारको नेता आवश्यक पर्छ।’
उनले कोइराला परिवार एक ढिक्का रहेको बताए। ‘हामी एक छौं, एक भएर जाने कुरा शेखर दा र सुजाताले पनि भन्नुपर्यो,’ उनले भने, ‘हामी तीनै जना एकै ठाउँमा बस्ने हो। एउटा परिवारको सदस्य मिलाउन सक्दैनौं भने देश र पार्टी मिलाउने कसरी?’
‘बीपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ । बीपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो । बीपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो,’ शशांकले भने, ‘सात हजार कीमी बाटो थियो, अहिले १ लाख किलोमिटर भयो । हात हातमा मोबाइल आयो, यो सब गिरिजाप्रसाद कोइरालाको देन हो ।’
उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बीपी कोइरालाले कार्यकर्ताहरूलाई धेरै माया गर्ने गरेको स्मरण गरे । अहिलेका नेताहरूले कार्यकर्ताको दुःख बुझ्न नसकेको शशांकको भनाइ छ ।
सुजाताले भनिन्ः हामी एक नहुँदा पार्टीको दुर्दशा त देखिइहाल्यो
सुजाताले अब आउने महाधिवेशनमा एक भएर अघि बढ्ने बताइन्। ‘अबको महाधिवेशनमा हामी एक हुन्छौं, हामी एक नहुँदा पार्टीको दुर्दशा त देखिइहाल्यो,’ उनले भनिन्, ‘कोइराला परिवारबाट कोही एक जनालाई सभापति बनाएर जाने हो भने म सहयोग गर्न तयार छु।’
सम्बन्धित खबर
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
आजको मैसम पूर्वानुमान
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर