पोखरा । घरेलु टीम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो ।
गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । यस वर्ष पनि लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो । गण्डकी २५–१९ ले जितेर बराबरी खेल्यो ।
तेस्रो सेट भने पुलिसले आफ्नो पक्षमा पार्यो । उसले २५–२१ मा जिते पनि पछिल्ला २ सेट गुमाउँदा उपाधिबाट वञ्चित बनेको हो । चौंथो सेट जितेर उपाधि जित्ने दाउमा रहेको पुलिसले २३–२० को स्थितिको लय गुमाउँदै गण्डकीलाई जित सुम्पेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २८–२६ मा चौंथो सेट जित्नुका साथै अन्तिम सेट भने सहज १५–११ मा कब्जा जमायो । उपविजेता पुलिसले पुरस्कारस्वरुप १ लाख प्राप्त गरेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो हुँदै ५० हजार पुरस्कार पायो ।
प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (बेस्ट ब्लकर), किरण गुरुङ (बेस्ट स्पाइकर) र रमेश केसी (बेस्ट कोच) बने । पुलिसका कुलबहादुर थापा (बेस्ट सर्भर), अभिषेक थापा (बेस्ट सेटर) र भीम गाहा (बेस्ट लिबेरो) घोषित भएको रेफ्री टहलसिंह थापाले बताए ।
पुरुषतर्फ उपविजेतामा सीमित भए पनि नेपाल पुलिस क्लबले सोमबार महिलातर्फको उपाधि जितेको थियो । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत १० औं संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका थिए ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर