ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी पूरा, १७ टोलीको सहभागिता रहने

मेला

ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी पूरा, १७ टोलीको सहभागिता रहने

विन्ध्यवासिनी माविलाई सम्मान गरिने

Himalaya Club

पोखरा । परापूर्वकाल देखि नै पोखराको बाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेलाको तयारी पूरा भएको छ ।

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा यही असोज १ गते हिमालय क्लबको आयोजनामा स्थानिय खेल मैदानमा हुन लागेको मेलामा आन्तरिक बाहेकका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव शिवराज देवकोटाले जानकारी दिए ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा विगतका वर्षमा विभिन्न खेलकुद सहितका कार्यक्रम आयोजना गरेको क्लवले यस वर्ष विशुद्ध तीज गीत र नृत्यलाई प्राथमिकता दिई संस्कृति प्रधान कार्यक्रमलाई प्रोत्साहन सहित संस्कृतिको जर्गेना तथा मेलाको निरन्तरताको लागि गर्न लागिएको अध्यक्ष सुशिल बस्नेतले बताए ।

मेलामा १७ वटा समूहले सहभागिता जनाउने निश्चित भएको छ । असोज १ गते हुने मेलाको उद्घाटन १७ वटा आमा समुहका अध्यक्षले संयुक्त रुपमा गर्ने र सोहि दिन सामुदायिक विद्यालयतर्फ नेपालमै उत्कृष्ट पहिलो हुन सफल बाटुलेचौरको विन्ध्यवासिनी माविलाई सम्मान गरिने क्लबका निर्वतमान अध्यक्ष मोहन थापाले बताए ।

उद्घाटनका दिन चर्चित लोक दोहोरी गायक राजन कार्की र ज्योति लोहनीको प्रस्तुती रहने छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, मानार्थ सदस्य बेनि बहादुर बस्नेत, सल्लाहकार रामबहादुर बानियाँ, खिमलाल अधिकारी, संयोजक तारा प्रसाद तिमिल्सिना, लक्ष्मी श्रेष्ठ, महिला नेतृ लक्ष्मी पाण्डे लगायतले तीज पर्वलाई मौलिक र संस्कृतिक बनाउन कुनै कसर बाँकी राख्न नहुने बताए।

तत्कालिन कास्कीका राजा कुलमण्डन शाहकै पालादेखि बाटुलेचौर तीज गीतका लागी प्रख्यात रहेको पाइन्छ । त्यतिबेलै बाटुलेचौर, लामाचौर, भलाम, घार्मी, पुरुन्चौर, अर्मला लगायतका क्षेत्रका महिलाहरु सेती गंगा स्नान गर्न जाने र फर्किँदा बाटुलेचौर मैदानमा बसेर तिज गीत गाउँदै नाचेर रमाईलो गर्ने गरेको आफ्ना पूर्वजले बताएको सचिव देवकोटाले जानकारी दिए । उनीहरु पानी पनि नखाई भोकै बसेर दिनभर नाचगान गर्दथे । सहभागी दिदीबहिनीलाई तत्कालिन राजा शाहले नाचगान गरे बापत १ मोहर दिने गरेको पनि पाइएको छ ।

मेलाको ऐतिहासिक र साँस्कृतिक पक्षलाई बचाई राख्न पनि निरन्तरता दिइएको र आमन्त्रित टोलीले परम्परागत रुपमा आ–आफ्नो समूहमा बसेर गीत तथा नृत्य प्रस्तुत नियम बनाइएकाे छ । १ दिन मात्र सञ्चालन हुने मेलामा करिब ५ लाख खर्च लाग्ने क्लबले जनाएको छ । मेलामा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहनेछ ।

पत्रकार सम्मेलन पछि क्लबले शुभकामना आदानप्रदान सहित आजिवन महिला सदस्यलाई दर समेत खुवाएको थियो । मेलालाई व्यवस्थित र ऐतिहासिक बनाउन विभिन्न संघ संस्था र व्यक्तिले स्वतःस्फुर्त रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।

– शिशिर उजाड

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds