काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।
उनका अनुसार बैठकले उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए ।
त्यसअघि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । उनको शव यतिबेलासम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । अस्पतालबाट राजकीय सम्मानका साथ बाहिर निकालिने तयारी भइरहेको छ ।
एमालेले बोलायो सचिवालय बैठक
उपाध्यक्ष नेम्वाङको निधन भएपछि नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो ।
सचिवालय बैठक अहिले ११ बजे पार्टी मुख्यालयमा बोलाइएको हो । सोमबार राति १ बजे नेता नेम्वाङको हृदयघातबाट निधन भएको थियो । नेम्वाङ पार्थिव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि ल्याइँदैछ ।
पार्टीले आज पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको एमाले स्रोतले जनाएको छ ।
नेम्वाङको निधनमा केपी ओली भावुक मर्माहत
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति भावुक र मर्माहत भएका छन् । उनले नेम्वाङको मृत्युमा दुःख व्यक्त गर्दै उनी आफ्ना लागि केवल पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख–दुःखको साथी रहेको बताएका छन् ।
नेम्वाङको निधनमा श्रद्धाञ्जली वक्तव्य दिँदै आज बिहानै ओलीले नेम्वाङ सधैँ मृदुभाषी र शालीन साथी रहेको बताए । उनले लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ देशले सम्झिरहने समेत बताए । ओलीका एकदम विश्वासपात्र मानिने नेम्वाङलाई ओलीले पछिल्लो समय महत्वपूर्ण जिम्मेवारी समेत दिएका थिए । उनलाई संसदीय दलको उपनेताको जिम्मेवारी दिएका थिए भने ओलीपछिको वरियतामा नेम्वाङ नै थिए । गत राष्ट्रपति निर्वाचनमा पनि ओलीले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारे, तर नेम्वाङ सत्ता गठबन्धनसँग पराजित भए ।
नेम्वाङलाई पराजित गर्दै सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेलले आज नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना दर्शाएका छन् ।
देउवा र प्रचण्ड स्तब्ध
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बिहानै शिक्षण अस्पतालमा पुगेर स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गरे ।
नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।
भट्टराइले लेखे- ‘आँखामा राखे पनि नबिझाउने’ मित्र गुमाएँ
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनको अप्रत्याशित निधनले आफू स्तब्ध र मर्माहत भएको डा. भट्टराईले बताएका छन्। ‘आँखामा राखे पनि नबिझाउने’ उपमा दिँदै उनले नेम्वाङको निधनले देशलाई नै ठूलो क्षति भएको उल्लेख गरेका छन्।
‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनबाट स्तब्ध र मर्माहत छु’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति बेहोरेको छ। मैले आत्मीय मित्र गुमाएको छु।उहाँप्रति हर्दिक श्रद्धाञ्जली, परिवारजन र पार्टीपंक्तिमा गहीरो समवेदना!’
मलाई संसदीय प्रक्रिया सिकाउने–बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्।
नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महामन्त्री थापाले भने – ‘नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ।’
संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उनले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहने थापाले बताए । आफूलाई संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयौँ विषय सिकाउने र बुझाउने व्यक्तिको अभाव सधैँ खड्किने थापाको भनाइ छ ।
‘म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ,’ थापाले भने ।
सम्बन्धित खबर
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
आजको मैसम पूर्वानुमान
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर