पोखरामा टेवानको तीज सांस्कृतिक महोत्सव सुरू

तीज महोत्सव

पोखरामा टेवानको तीज सांस्कृतिक महोत्सव सुरू

उत्पादनलाई पर्यटनसङ्ग जोड्यौँ भने मुलुक अगाडि बढ्छ: धनराज गुरुङ

tewan pgrgm (2)

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटनसङ्ग जोडियो भने मुलुकको विकास हुने बताएका छन् । सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई छ । तीजलाई स्थानीय उत्पादनसङ्ग जोड्ने प्रयास सह्रानिय भएको उनले उल्लेख गरे । ‘तीज पर्वलाई केवल रमाइलो पर्वका रुपमा भन्दा पनि स्थानीय उत्पादनसङ्ग पनि जोड्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको रहेछ, खुशी लाग्यो । पर्यटन विकासको आधार नै अब स्थानीय उत्पादन हो ।’ – उनले भने ।

तीजमा विकृति आए पनि यसको सुधार हुनुपर्ने विषयलाई उनले औंल्याए । महिला दिदीबहिनी पुरुषको बैशाखी नभई मुलुककै नेतृत्व गर्ने बाटोमा अग्रसर हुनुपर्ने उनले बताए । पुरुष पानी माथिको ओभानो भएर समाज परिवर्तन नहुने उनको तर्क छ । बद्लिएको समाजमा नबद्लिएको विषय बदल्नुपर्ने आवश्यक्ता रहेको उनले बताए ।

गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराईलाई पोखरामा भएको तीज सांस्कृतिक महोत्सवले जोडेको बताइन् । विविध समस्याले जगडेको पर्यटनलाई माथि उठाउन सांस्कृतिक कार्यक्रम मार्फत दिदीबहिनी लागेको देख्दा खुशी लागेको बताइन् । यस्ता कार्यक्रमले गाउँगाउँका उत्पादनलाई बजारसङ्ग जोड्न मदत पुग्ने उनको भनाई छ ।

पर्यटन परिषद्का महासचिव संजयकान्त सिग्देलले पोखराको पर्यटन विकासमा सबै पक्ष एक भएर लाग्नुपर्ने उल्लेख गरे । अन्तर्राष्ट्रिय विमान स्थल निर्माण भएता पनि उडान हुन नसक्नु दुर्भाग्य भएको उनले बताए । छिमेकी राष्ट्र सङ्गको समन्वयमा छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय उडान गर्न सके पर्यटन क्षेत्रमा सुधार हुने उनको भनाइ छ ।

पोखरादेखि मुग्लिनसम्मको सडक निर्माणमा ढिलाई हुँदा यहाँका पर्यटन व्यवसायी मर्कामा परेको उनले बताए । सरकारले नै इनिसियसन लिएर फास्ट ट्रयाकमा काम गर्नुपर्ने वातावरण मिलाउनु पर्ने आवश्यक्तालाई उनले औंल्याएका छन् । २०३५ सालको पर्यटन ऐन संशोधन गरी नयाँ पर्यटन ऐन ल्याउनुपर्ने उनले बताए ।

पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णु भट्टराईले तीज पर्वमा मौलिकताको खांचो भएको बताए । मौलिकता जोगाउन आयोजना गरिएको तीज सांस्कृतिक महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले लिएका छन् ।

टेवानकी अध्यक्ष कमला गिरीले पहिलो संस्करणको कार्यक्रम भएकाले कमीकमजोरी हुन सक्ने र आगामी दिनमा सुधार गर्दै लैजाने बताइन् । भदौ २५ देखि २७ गते सम्म कोमागानेपार्क लेकसाइडमा हुने तीज सांस्कृतिक महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग प्राप्त भएको जानकारी गराइन् ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, कास्की अध्यक्ष विमला भण्डारी लगायतले बोलेको कार्यक्रममा प्रभातफेरी र्‍यालीको समेत आयोजना गरिएको थियो । जहाँ गण्डकी प्रदेशका महिलाहरुको बाक्लो सहभागिता देखिन्थ्यो । सांस्कृतिक महोत्सवमा प्रदेशका विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादनको प्रदर्शन गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ