श्रीकृष्ण जन्मिएको खुसीयालीमा कास्कीकोटमा दहीको होली

संस्कृति

श्रीकृष्ण जन्मिएको खुसीयालीमा कास्कीकोटमा दहीको होली

१५२४ सालअघिबाट सुरु भएको इतिहास

375966657_3620449628214076_8345145893222834105_n

पोखरा २४ स्थित ऐतिहासिक स्थल कास्कीकोटमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा दहीको होली खेलिएको छ । भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्व कालदेखि नै कास्कीकोटमा दही जात्रा हुँदै आएको गुप्तकालिका कश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए ।

कास्कीकोटको भाद्रारी चोतारीमा स्थानीय जम्मा भएर दही छेपाछेप गर्ने गर्दछन् । घर घरबाट दहि ल्याएर भाडामा जम्मा गरी भजन कृतन गरिन्छ ।  श्रीकृष्ण, राधा, कंशकाे भेषमा सजिएर  कृष्ण भजन गाइन्छ । दहि जात्रामा विभिन्न सांस्कृतिक झाँकी बाजागाजा भजन कृतन समेत निकालिएको समितिका सचिव त्रिपाठीले बताए ।

दहि छेपाछेप गर्नु अघि भाद्रारी चौताराेमा रहेको चापको रुखलाई श्रीकृष्ण मानेर अन्य देवि देवताहरुको पूजा गर्ने प्रचलन रहेको छ । त्रिपाठी, रानामगर, दुवाडी र अधिकारीले दहिले विभीन्न क्षेत्रपाल, चण्डी, वराहा, वहासा, मनकान्छी लगाएत मन्दिरमा दहिले पूजा गर्दै हिँड्ने प्रचलन रहेको त्रिपाठीले बताए ।

सचिव त्रिपाठीले  भने – ‘यो परापूर्वकालदेखि सुरु भएको हो, १५२४ सालअघिबाट सुरु भएको इतिहासबाट सुन्न सकिन्छ । अहिले पनि यो जात्रा चलिरहन्छ ।’ नेपालका शाह राजाहरुको उद्गम थलो कास्कीकोटमा तत्कालीन राजाहरुको दरबार अझै छ । त्यसैले पनि ऐतिहासिक कास्कीकोटमा शाह राजाहरुकालीन अरु सांस्कृतिक परम्परा पनि अझै जीवित रहेको त्रिपाठी बताउँछन् ।

पहिलेभन्दा अचेल दही जात्रामा जनसहभागिता कम भएको सचिव त्रिपाठीले सुनाए । ‘पहिलेपहिले त धेरै टाढाटाढाबाट आउँथे, पछिल्लो समय सबैको घरमा भैंसी पनि नहुने भयो,’ उनले भने, ‘पहिला आफूले ल्याएको दही केही लुकाएर पूजा गरिसकेपछि आफैआफै होली खेल्थे । अहिले त्यो चाहिँ केही कमी भएको छ ।’ परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ जात्रा आयोजना गरिएको त्रिपाठीले सुनाए ।

परापूर्वकालमा कास्कीका विभिन्न स्थानबाट दही संकलन हुने गरेको  त्रिपाठीले बताए । तर, अहिले कास्कीकोटका स्थानीयले मात्र संकलन गर्छन् । ‘परापूर्वकालमा दही ल्याउनेलाई खरबारी र लेक बिर्ता दिइन्थ्यो भन्ने मैले सुनेको हो । यसरी भदौरेतामागी, सिदिङ, अर्मलालगायत क्षेत्रबाट एक मुरीसम्म दही जम्मा हुन्थ्यो,’ उनले भने, ‘अहिले धेरैले भैंसी पाल्न छोडे अनि टाढा पनि भयो । त्यसैले यहीको स्थानीयले जम्मा गरेको दहीले होली खेल्ने चलन छ ।’ यसलाई संरक्षण गर्न वडा कार्यालयले सहयोग गरिरहेको उनले सुनाए ।

करिव २ किलोमिटरको यात्रामा जात्रा गरेर वास्पानी कालिका मन्दिरमा विधिवत् रुपमा जात्रा समापन हुने बासपानी कालिका मन्दिरमा पुजारी तथा जात्राका कर्ता टिका पुरीले बताए ।

दही जात्रा सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले सञ्चालन गर्दे आएका छन् । हिन्दु धर्मालम्वीहरुले श्रीकृष्णको जन्म भएपछि दहि जात्रा गर्ने प्रचलन रहेको छ । त्रिपाठीका अनुसार दहिको जात्रा नेपालका ३ स्थानमा मात्र हुने गरेको छ । विरगन्ज ,पाल्पा र कास्कीकोटमा मात्रै श्रीकृष्णको जन्म भए पछि दहिको जात्रा निकाल्ने गरिन्छ ।

जात्रा संरक्षण तथा प्रवर्द्धन  गर्न पोखरा २४ वडा कार्यालयले सघाउने वडाध्यक्ष भरतबहादुर अधिकारीले प्रतिवद्धता जनाएका छन् । अधिकारीले विगत वर्षहरुभन्दा यस वर्ष जात्रा अझै व्यवस्थित भएको बताए ।

ऐतिहासिक स्थल कास्कीस्कोट दरबार , कश्यप धाम र सरुन खेल लगायतका जात्रा तथा मेलाहरु धार्मिक क्षेत्र विकास समिति र कास्कीकोट सम्पदा संरक्षण समितिको सक्रियतामा हुँदै आएको छ ।

फिचर तस्वीर

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ