पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक सङ्ग्रह ‘सम्बोधिका’ लोकार्पण भएको छ । शनिबार पोखरामा एक कार्यक्रमका बीच सम्बोधिकाको प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य एकेडेमिका पूर्व कुलपति सरुभक्त, साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, विम्ब कवि रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा लगायतले लोकार्पण गरेका हुन् ।
साहित्यकार अधिकारीको मुक्तक संग्रह एक दशकपछि सार्वजनिक भएको हो । लोकार्पण गर्दै सरुभत्तले साहित्यिक कृतिहरू समाजका ऐना तथा सामाजिक चेतनाका उपज भएको बताए । ‘पोखरा मुक्तकको शहर हो,यहाँ मुक्तकका कर्महरू हुनु पनि स्वाभाविकै हो’, उनले भने, ‘यस्ता असल कृतिहरू आइरहनु पर्छ ।’
कृतिमा भएका सबै सिर्जना उत्कृष्ट हुनैपर्छ भन्ने नभएको र सिमित सिर्जनाले मात्र कृतिको मर्यादालाई कायम राख्ने उनले बताए । विषय विज्ञताको हिसाब किताबमा लागेका विज्ञहरू साहित्य लेखनमा पनि उत्तिकै निपुण छन् भन्ने कुरा गणितका विज्ञ डा.अधिकारीको कृतिबाटै प्रष्ट भएको भनाई उनको छ । श्रेष्ठले पछिल्लो समय प्रचलित रुवाई शैलीको लेखनमा मुक्तक आईरहेका भएपनि हाम्रो नेपाली धरातल, संस्कृत, यहाँको मौलिकता, ऋषि, वेद र पौराणिक विज्ञहरूलाई मुक्तकका माध्यम बुझ्न आवश्यक भएको उल्लेख गरे ।

साहित्यकार तिर्थ श्रेष्ठले मुक्तक स्वतन्त्र हुने भएकोले यसको ढाँचा र भावमा स्वतन्त्रता हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मुक्तक चार लाईनको हुनैपर्छ, तुक मिलेको हुनैपर्छ, काटकुट गरेको, कैचीले काटेको जस्तै हनुपर्छ भन्ने कुरा गलत हो । भाव र चोटिलो प्रहार यसको गुण हो ।’ अधिकारीका मुक्तकहरूमा रुवाईया शैली अपनाएको भएपनि अब्बल भएको बताए उनले बताए । उनले नेपाली मुक्तक लेखनमा आफ्नो संस्कार, संस्कृति, मौलिकता र पहिचानलाई अटाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
कृतिकार ईश्वरमणि अधिकारीले लामो अवधिमा लेखेर थन्किएका मुक्तकहरूबाट छानेर ‘सम्बोधिका’ प्रकाशन गरेको बताए । ‘मैले सकेसम्म सत्यको र यथार्थ परिवेशलाइ अङ्गालेको छु । तर बेईमानीलाई अस्वीकार गरेको छु ।’, उनले भने, ‘मानिस सर्वगुणको हुँदैन । केही कमजोरी अवश्य भएका छन् जसलाई सच्याउँदै आगामी समय अझ निखारिदै आउनेछु ।’
‘सम्बोधिका मेरो हृदयमा कोरिएको प्रेमिल बिम्ब हो। केही वास्तविक, केही काल्पनिक। कतै मूर्त, कतै अमूर्त र प्रायः अर्धमूर्त छन्’, सम्बोधिकाबारे अधिकारी भन्छन्, ‘यसमा मैले आफैसित संवाद गरेको छु जसमा समय, जिन्दगी, जीवन–दर्शन, सामाजिक विकृति–विसंगति, राष्ट्रप्रेम, मायाप्रेम आदिसंग सम्बन्धित मुक्तक छन्।’
सो अवसरमा प्राज्ञ हरिदेवी कोईराला, विम्ब कवि रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा, जीवनसागर भण्डारी, संजिव पौडेल लगायतले बोलेका थिए । उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको ‘सम्बोधिका’ लोकार्पण कार्यक्रममा उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’ले स्वागत तथा सचिव डा.चैतन्य अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
१२१ पृष्ठको पुस्तकमा १११ वटा मुक्तक रहेका छन् । यसलाई पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको हो । साहित्यकार ईश्वरमणि अधिकारीको यो चौथो कृति हो । यसअघि समयको तस्बिर नामक कविता संग्रह, हृदयको आलाप गजल संग्रह र एक हिमाल आरोहीको जिवनी प्रकाशन भइसकेका छन् ।
पेशाले उनी गणित विषयका सह–प्राध्यापक। पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउँछन्। यसबाटै उनको गुजारा चल्छ। साहित्य सृजनाबाट भने आत्मसन्तुष्टि पाउँछन्। ‘सम्बोधिका’पछि कवितासङ्ग्रह प्रकाशन हुनेछ।
पूर्वी लमजुङको भारते देउरालीमा जन्मेका अधिकारी झन्डै चालिस वर्षदेखि पोखरामा छन्। उनी चालिसको दशकदेखि साहित्य सृजनामा लागेका हुन् । उनको घरमा पनि साहित्यिक वातावरण छ। उनकी जीवनसङ्गी रीता अधिकारी ‘ऋतु’ पनि कवि हुन्।
उनी पोखरेली युवा सांस्कृतिक परिवार, नेपाली लेखक संघ, लघुकथा प्रतिष्ठान, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, गजल सन्ध्या, काउन्सिल फर म्याथमेटिक एजुकेशन र नेपाल गणित समाज आदि संस्थामा सक्रिय छन्।
‘सम्बोधिका’बाट तीन मुक्तक
पद र पहुँच रहुन्जेल मान सम्मान हुन्छ
चर्चा, प्रतिष्ठा, पुरस्कार र मङ्गलगान हुन्छ
जिन्दगीबाट यी सब घटाउनुस् महोदय
अब जति बच्छ, त्यही नै पहिचान हुन्छ
♦♦♦
हृदय जब टुक्रिन्छ, त्यो कि ढुङ्गा बन्छ कि कपास बन्छ
अहँ तिमीले भने झैँ, न् त्यो वादल बन्छ न बतास बन्छ
तिमी हरदम स्वतन्त्र छ्यौ, निर्बन्ध छ्यौ सम्बोधिका !
ईश्वर भन्नु त मूर्ति न हो, न उदास बन्छ न हतास बन्छ ।
♦♦♦
सत्य बोलूँ , सुन्दर बाँचू, जून छुन नबिर्सूँ म
हाँसूँ–खेलूँ, जिन्दगानी, प्रेमिल धून, नबिर्सूं म
पद, प्रतिष्ठा, पहिचान यी सब क्षणिक हुन्
ठुलो हुने स्वप्न पालेर मान्छे हुन नबिर्सूँ म !
♦♦♦
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने