पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने

पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने

1

पोखरा । पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरेली कलाकारहरुको साझा संस्था पोखरा सांगीतिक कलाकार संघको आयोजनामा आगामी असोज १२ र १३ गते पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन आयोजना हुने भएको हो ।

पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा हुने प्रतिष्पर्धामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । प्रतिष्पर्धामा रहेका व्याण्डहरुमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु मात्र सहभागि हुन पाउने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले स्पष्ट पारे ।

प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसन दिनुपर्नेछ । जसका लागि कलेज व्याण्डले कभर सङ्ग गाएर त्यसको भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनको भिडियो भदौ २९ गतेसम्ममा पठाई सक्नुपर्ने अध्यक्ष गुरुङले बताए । त्यसमा छनौट भएका व्याण्डहरुले पुनः फिजिकल अडिसन दिनुपर्ने उनले जानकारी दिए । फिजिकल अडिसनबाट छनौट भएकाहरु सेमीफाईनलमा पुग्ने अध्यक्ष गुरुङ बताउँछन् । ‘त्यसपछि सेमीफाईनल राउण्डबाट फाईनलिष्ट चयन गर्छौं र उनीहरुबीच प्रतिष्पर्धा गराई उपाधि बिजेता चयन गर्छौं’–उनले भने । उनका अनुसार व्याण्डहरुले फिजिकल अडिसन र सेमीफाइनलमा कभर सङ्ग मात्र गाए पुग्छ भने फाइनलमा एउटा कभर सङ्ग र अर्को एउटा आफ्नो मौलिक (ओरिजिनल) गीत गाउनुपर्नेछ ।

ईन्टर कलेज व्याण्ड कम्पिटिसनका लागि शुक्रबारदेखि फारम भर्न सकिने जनाइएको छ । फारम भदौ २५ गतेसम्म भर्न सकिने र त्यसको शुल्क दुई हजार निर्धारण गरिएको संघका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार ईन्टर कलेज व्याण्ड कम्पिटिसनका लागि फारम पेपे पिज्जा रेष्टुरेट (भाटभटेनीको माथिल्ला तला) न्यूरोड, जोजलपा नेवारी किचन तेर्सापट्टी, देउराली साउण्ड एण्ड म्यूजिक रामबजार, एसके साउण्ड महेन्द्रपुल, पोखरा म्यूजिक हाउस र गिटार नेसन न्यूरोडमा पाईन्छ ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको अध्यक्ष गुरुङले बताए । ‘नब्बेको दशकमा व्याण्डहरुको जगजगी थियो तर पहिलेजस्तो अहिले रहेन । कोरोना र आर्थिक मन्दीले त झन् सांगीतिक क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । त्यसैले सुस्ताएको व्याण्ड र सांगीतिक क्षेत्रलाई पुनःजागृत गराउन प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ ।

प्रतियोगिताले संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न भूमिका खेल्ने संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले बताए । ‘मुर्झाएको पर्यटनलाई उकास्दै समग्र अर्थतन्त्र चलायमान गराउनपनि प्रतियोगिता कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं’–उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ