पोखराकी सञ्चारकर्मी एलिजाको निधन

पोखराकी सञ्चारकर्मी एलिजाको निधन

alisa

पोखरा । पोखराकी सञ्चारकर्मी रोशनी क्षेत्री (एलिजा) को निधन भएको छ । सोमबार बिहान पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा मंगलबार निधन भएको हो ।

जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) मा लगेर उपचार थालिएको थियो । अवस्था जटिल हुँदै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।  थप उपचारका लागि काठमाडाै‌ लैजाने तयारी भइरहेकाे अवस्थामा उनकाे मृत्यु भएको नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले जानकारी दिइन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार ६० प्रतिशत उनको शरिर आगोले जलेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०५५ मा पोखराकै भलाममा जन्मेकी उनी विगत ७ वर्षदेखि सञ्चारकर्ममा थिइन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले यसअघि माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् । उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् । उनको गत वर्षमात्र विवाह भएको थियो ।

उनको शव पोस्टमार्टमपछि आफ्नो निवास जाल्पारोडमा अन्तिम श्रद्धाञ्जीको लागि लगिएको थियो । त्यहाँ करिब १ घण्टा राखिएकोमा अन्त्येष्टिका लागि मंगलबार साँझ सेती किनार शान्तिघाट लगिएको हो । चलचित्र पत्रकार संघ कास्कीले उनीप्रति अन्तिम श्रद्धाञ्जली दिँदै शवमा झण्डा ओढाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ