पाठेघरको मुखको क्यान्सर परीक्षणबाट सयौँ लाभान्वित

निःशुल्क स्वास्थ्य शिविर

पाठेघरको मुखको क्यान्सर परीक्षणबाट सयौँ लाभान्वित

पोखरा १५ वडाबासी महिलाहरुको उल्लेख्य उपस्थिति

patheghar ward 15 (5)

पोखरा महानगरपालिका वडा नं. १५ कार्यालय तथा शहरी स्वास्थ्य केन्द्र – १५ ले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट सयौँ लाभान्वित भएका छन् ।

राइट फर चिल्ड्रेन सहयोगी संस्था रहेको शिविरमा वडा नं. १५ का विभिन्न उमेरसमूहका महिलाहरुको उल्लेख्य उपस्थिति रह्यो । प्रजनन क्षमताका महिलादेखि ८१ वर्षीया वृद्धासम्मले शिविरमा स्वास्थ्य जाँच गराई लाभ लिएको वडा अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । उनका अनुसार करीब ३ सय महिलाको स्वास्थ्य जाँच गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महिलामा जटिल समस्या बनिरहेको पाठेघरको मुखको क्यान्सर र आङ खस्ने रोगको समयमै पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न पनि शिविर उपयोगी भएको विश्वास व्यक्त गरे ।

‘सचेतनाको अभावले क्यान्सर महामारीका रुपमा फैलिरहेको छ । समयमा रोगको पहिचान गरेर उपचार गर्न सके यसले ठूलो जनधनको क्षति रोक्ने भएकाले यस्ता अभियानलाई अझ व्यापक बनाएर लैजानुपर्ने आवश्यकता छ’, उनले भने – ‘क्यान्सरबाट जोगिन ६–६ महिनामा पाठेघरको परीक्षण गर्नुपर्ने र जसबाट समयमै पहिचान भई उपचारपछि निको हुन सहज हुनेछ ।’

पोखरा १५ को यो कार्यक्रम जस्तै महानगरका हरेक वडामा विभिन्न अस्पतालसँग सहकार्य गरेर विभिन्न रोगका स्वास्थ्य शिविर आयोजना गरिने आचार्यले बताए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका वडाध्यक्ष बानियाँले महिलामा जटिल बनिरहेको पाठेघर क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । ‘क्यान्सरबाट बचाउन हाम्रो सानो प्रयास हो, त्यसैले यस्ता अन्य अभियानमा पनि हाम्रो सक्रियता सदाझैं रहनेछ ।’ उनले भने– ‘यस शिविरमा रोग पहिचान गरी सामान्य अवस्थालाई निःशुल्क औषधि वितरणको व्यवस्था गरियो भने जटिल बिरामीहरुलाई वडाबाटै विभिन्न अस्पतालमा रिफर गरियो ।’

शिविरमा पाठेघर खसेका महिलाको उपचार तथा स्क्रीनिङ, पाठेघरको मुखको सम्भावित क्यान्सरसम्बन्धी जाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिएको सहयोगी संस्था राईट फर चिल्ड्रेनकी प्रोजेक्ट म्यानेजर पशुपति चौधरीले बताइन् । उनले सन् २०१३ मा स्थापित यो संस्थाले बालबालिका तथा महिलाका लागि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।

शिविरमा शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, हरियोखर्क अस्पताल र गण्डकी अस्पतालका चिकित्सकले जाँच गरेका थिए । शिविरमा ५ जनाकाे पाठेघरमा समस्या र ३ जनाकाे आङ खस्ने रोग सम्बन्धी समस्या देखिएकाले अब थप उपचारका लागि गण्डकी अस्पतालमा सिफारिस गरिएकाे र ३५ हजार मूल्य बराबरकाे औषधि वितरण गरिएकाे वडाध्यक्ष बानियाँले जानकारी दिए ।

छातीको क्यान्सपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५–४० बर्षको उमेरपछि हुन्छ । यो रोग सुरु हुँदा विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ ।

पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ । किनभने यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।

जबकी पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गम्भिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार सम्भव र सहज हुन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ