पोखराको पालिखेचोकस्थित प्रतिभा माविले शुक्रबार कक्षा ११ का नवआगन्तुक व्यवस्थापन संकायका विद्यार्थी र शनिबार विज्ञान संकायका विद्यार्थीलाई स्वागत र अभिमूखिकरण कार्यक्रम आयोजना गर्यो ।
दुवै दिन उत्प्रेरणामूलक अभिमूखिकरण कार्यक्रमका साथै प्रतिभा प्रस्फुटन र चर्चित गायक शिव परियारमार्फत् मनोरञ्जन दिलायो । विषयगत विज्ञ बोलाएर विद्यार्थीलाई अभिमूखिकरण गर्दै आएको विद्यालयले शुक्रबार नविल बैंकका डेपुटी सिईओ मनोज ज्ञवाली श्रोतव्यक्तिका रुपमा ल्यायाे भने शनिबार ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष श्रृष्टि केसीलाई निम्त्यायो ।
शनिबार विज्ञान विषयका विद्यार्थीका लागि अभिमूखिकरणका लागि निम्त्याएकी सृष्टि दश कक्षामा अध्ययनरत रहँदा गलत उपचारले दृष्टि गुमाएकी थिइन् । केसी हाल दृष्टिविहीको क्षेत्रमा काम गर्दै आएकी छिन् ।

दृष्टि गुमाएपछि सबैले भविष्य सकिएको भनेर गुनासो गरिरहँदा केसीले भने अध्ययनमा अब्बलता देखाएर उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भइन् । दृष्टिविहीन हुनुपर्दाको अवस्था र आफू कसरी सफल हुन सकिन्छ ? भनेर केसीले विज्ञान विषयका विद्यार्थीका लागि प्रेरणामूलक अनुभव साटिन् ।
‘मैले दृष्टि गुमाउँदै गर्दा मेरा लागि शिक्षामा खर्च नगर्न कतिपयले मेरा अभिभावकलाई भनेका थिए । तर, मैले मेरो आत्मा बलियो बनाएर अध्ययन गरेँ । त्यसले मलाई सफलता दिलायो,’ सफलताको कथा सुनाउँदै केसीले भनिन्, ‘यतिसम्म कि दृष्टिविहीन हुनुपर्दा मलाई धेरै कलेजले भर्ना लिन मानेका थिएनन् । तर, मैले पाएको अवसरलाई उपयोग गर्ने गरी निकै नै दुःखका साथ अध्ययन गर्दा सफलता हात लागेको थियो ।’
उनले आफूले आफूलाई कहिल्यै कमजोर नदेख्न अरु विद्यार्थीलाई पनि आग्रह गरिन् । ‘भोलिका लागि आज राम्रो गर्नुपर्छ । चाहने हो भने हरेक क्षेत्रमा सफलता मिल्छ,’ उनले भनिन, ‘म सक्दिन भनेर कहिल्यै हरेस नखानू । सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ ।’ उनले आफ्नाे सफलता सानोतिनो मेहनतले नआएको बताइन् ।

दृष्टि गुमाएपछि जसोतसो कलेज भर्ना हुन पाएकी उनले शिक्षकले पढाएको रेकर्ड गरेर सुन्ने गरेकी थिइन् । ‘ब्रेकमा साथीहरु खाजा खान क्यान्टिन जाँदा म भोकभोकै बसेर कक्षामा पढ्थेँ, मलाई पनि भोक लाग्थ्यो, तर, मसँग पेटको भन्दा पढाईको भोक थियो, त्यही पढाईले पूरा गर्दा सफल हुन पाएँ ।’ उनले सुनाइन्।
विद्यालयका प्राचार्य किरण सापकोटाले ११ र १२ कक्षामा गरेको २ वर्षको मेहनतले साँच्चै राम्रो भविश्य हुने बताए । ‘अबका २ वर्ष जिन्दगीका लागि सबैभन्दा महत्वपूर्ण समय हो । यो अवधिको मेहनतले जिन्दगी उज्यालो हुन्छ,’ उनले भने । उनलाई प्रतिभा माविले शक्तिशालि भन्दा पनि असल व्यक्ति बन्न सघाउने बताए । ‘हामी अबका विद्यार्थीका सफलताको कथा लेख्न आएका हौँ, त्यसमा सबैको साथ चाहिन्छ,’ उनले भने ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विद्यार्थीलाई राम्रो व्यक्तिको संगत गर्न सुझाए । ‘अहिलेको समय यस्तो छ की एक मिनेटमै भाइरल बन्ने बेला हो । नकारात्मक कुरा १ मिनेटमै भाइरल हुन्छ । हजाराैँ पाेजिटिभ कुरा कसैले नगर्ने बेला छ । त्यसैले संगत राम्रो गरेर अब्बल बनेर निस्कनुपर्छ,’ उनले भने, ‘नकारात्मक नभई सकारात्मकताको बाटोमा अघि बढ्नुपर्छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले भविश्य कता लैजाने भन्ने अबको अध्ययनले बताउने बताए । ‘अबकाे २ वर्ष साह्रै नै महत्वपूर्ण समय हो । यो समय खेर जान दिनुहुन्न, भविश्य कोर्ने अबको समयले हो’ पौडेलले भने ।
कार्यक्रममा गायक शिव परियारले झन्डै एकदर्जन गीत गाएर विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए । विद्यार्थीहरु बसेकै ठाउँदेखि स्टेजसम्मै गीतमा झुमेका थिए, नाच्दै भरपूर मनोरञ्जन लिए ।

४ जिपिए ल्याउने छात्रछात्रालाई विशेष स्वागत र प्रतिभा रत्नबाट सर्वाेत्कृष्टलाई नगदसहित पुरस्कृत
कार्यक्रममा विद्यालयमा भर्ना हुने ४ जिपिए ल्याउने छात्रछात्रालाई विशेष स्वागत एवं सम्मान गरियो । यस्तै, प्रतिभा रत्नबाट विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई पनि नगद २५ हजारका साथ सम्मान गरिएको थियो ।
विद्यालयमा साइन्समा भर्ना भएका प्रकाश मावि म्याग्दीबाट ४ जिपिए ल्याउने समिर सुवेदी र फिस्टेल एकेडेमीबाट एसईईमा ४ जिपिए ल्याएर प्रतिभामा मेनेजमेन्टमा भर्ना भएकी प्रनिशा तुलाचनलाई विशेष स्वागत गरिएको हो । प्रतिभा रत्न पुरस्कारबाट कक्षा १२ मा विद्यालयबाट साइन्सतर्फ सर्वोत्कृष्ट हुने रिदेश पोखरेल र मेनेजमेन्टतर्फ सर्वोत्कृष्ट हुने स्वस्तिका पराजुलीलाई नगदसहित सम्मान गरिएको हो ।




सम्बन्धित समाचारः
‘उपयुक्त विषय छनोटले भविश्य निर्धारण गर्छ’
सम्बन्धित खबर
निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमी कास्कीका शिक्षक विपिन कार्की निष्कासित
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखराको चरकमा मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते