पोखरा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले चुनावमा मिलेका शक्तिले धोका दिने गरेकाले एमाले अब कसैको वैशाखी बन्न नहुने बताएका छन् । उनले आगामी चुनावदेखि कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे ।
राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगर कमिटीको प्रथम पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै युवा संघका पूर्वाध्यक्षसमेत रहेका बस्नेतले भने, ‘पार्टी नेतृत्वलाई भन्न चाहन्छु – एमाले एक्लै चुनावमा जानुपर्छ । एमाले वैशाखी बनेर माओवादी, राप्रपालाई बोक्नु हुँदैन । यिनीहरुको संगतले एमालेका मान्छे पनि बिग्रिएका छन् ।’
सुशासन दिन नसक्नुको मुख्य कारण कुनै पनि राजनीतिक दल राष्ट्रिय शक्तिका रुपमा स्थापित हुन नसक्नु भएको पूर्वमन्त्रीसमेत रहेका बस्नेतले दाबी गरे । राप्रपाले राजतन्त्रको प्रेतआत्मा बोकेको र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएकाले ती पार्टीबाट देश विकास सम्भव नरहेको उनको जिकिर थियो ।
युवा संघका उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र)ले उत्कृष्ट महानगर कमिटी बन्ने गरी टोलटोलमा सक्रिय हुन महानगर कमिटीमा आबद्धलाई निर्देशन दिए । संगठनले वेटर, फायर फाइटिङ, मुआथाइलगायत ७ प्रकारका तालिम दिने तयारी गरिरहेकाले त्यसमा संगठनमा आबद्ध नरहेकालाई पनि सक्रिय सहभागी गर्न–गराउन उनले आग्रह गरे । जानकारी नदिई लगातार ४ वटा बैठकमा नआउनेलाई संगठनबाट हटाउन उनले अर्को निर्देशन दिए ।

युवा संघ सचिव एवं पोखरा महानगरपालिकामा ‘उत्प्रेरक’ तोकिएकी अनिता कन्दङ्वाले अबको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बनाउने गरी युवाहरु लाग्न आवश्यक रहेको बताइन् । संगठनले आफूलाई पोखराका टोलटोलमा खटाएकाले आफू दुई महिनासम्म पोखरा महानगरका ३३ वटै वडामा संगठन विस्तारमा खटिने उनले सुनाइन् ।
संगठनका पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङले आफू नेतृत्वको नयाँ टिमले युवा र देशको हितका लागि सक्दो राम्रा कार्यक्रम ल्याउने बताए । उनले बैठकमा राखेको नयाँ सदस्य थप गर्ने, केन्द्रको निर्देशन पालना गर्ने र संगठन विस्तारको प्रस्ताव बैठकबाट सर्वसम्मतिले पास भएको छ ।
बैठकले महानगरका वडा तहसम्म कमिटी गठन गर्ने सहमति पनि जुटाएको सचिव आविष्कार तिमिल्सिनाले बताए । कुन वडामा कहिले समिति गठन गर्ने भन्ने पदाधिकारी र महानगर कमिटी सदस्यसँग बसेर शनिबारसम्म टुंगो लगाइने उनले जानकारी दिए ।
बैठकमा पार्टी केन्द्रीय सदस्य एवं युवा संघका पूर्वाध्यक्ष राजीव पहारी, एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश तिवारी, केन्द्रीय सदस्य सुवास सापकोटा, गण्डकी प्रदेश संयोजक विकास अधिकारीलगायत उपस्थित थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो