काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएपछि मुलुक तरंगित बनेकाे छ ।
राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट एक क्वीन्टल सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्छ’, उनले भने ।
बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो । भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले चाहिँ अनविज्ञता प्रकट गरेको छ ।
बरामद सुनसहितको ब्रेक शुको तौल १५५ किलो
नेपाल राष्ट्र बैंकले राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनसहित स्कुटरको ब्रेक शुको तौल लिएको छ । राष्ट्र बैंकको टक्साल विभागले लिएको तौलमा ब्रेक शुसहित सुनको तौल १५५ किलो रहेको पाइएको छ ।
अब उक्त ब्रेक शुबाट सुन निकालेर तौल लिइने तयारी छ । त्यसपछि मात्रै बरामद भएको सुनको यकिन तौल पत्ता लाग्नेछ । विभागका अनुसार सुनको यकिन परिणाम आउन एक साता लाग्न सक्नेछ ।
राजस्व अनुसन्धान विभागले १६० वटा ब्रेक शु बरामद गरेको थियो । त्यसमध्ये १५९ वटा ब्रेक शुमा सुन रहेको पाइएको छ । विभागले विमानस्थल भन्सारबाट पास भइसकेको अवस्थामा सिनामंगलबाट उक्त सुन बरामद गरेको थियो ।
चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो । नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो ।
यस्तै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ ।
विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई निलम्बन गर्न सिफारिस
एक सय किलो सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न लागि अर्थमा सिफारिस गरेको हो ।
विभाग स्रोतका अनुसार सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको छ । विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।
छानबिन गर्न भन्सार विभागले बनायो समिति
भन्सार विभागले झण्डै एक क्वीन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणको छानबिनका लागि समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।
भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।
दीपक मल्होत्राले भने- विमानस्थलबाट बरामद भएको सुनमा मेरो संलग्नता छैन
व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन्। बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।
मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो। मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्।
उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए। ‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने।
उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए। ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ