पोखरा । कास्कीको रुपा गाउँपालिका यतिबेला शोकमा छ । गाउँपालिकामा जन्मिएका दुई सिनियर पाइलटलाई ६ महिना अन्तरमै हवाई दुर्घटनामा गुमाउनुपर्दा गाउँबासी शोकमा छन् ।
हिजो मंगलबार सोलुखुम्बुमाम भएको हेलिकप्टर दुर्घटनामा सिनियर पाइलट चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन नागरिकले ज्यान गुमाए । गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा सिनियर पाइलट कमल केसी लगायत ७२ जनाको निधन भएको थियो ।
६ महिनाको अवधिमै दुई होनहार पाइलटलाई गुमाउनुपर्दा रुपा गाउँपालिका शोकमा डुबेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।
अनुभवी सिनियर पाइलट थिए गुरुङ
हिजो दुर्घटनामा परेको मनाङ एयरका पाइलट गुरुङ रुपा गाउँपालिका वडा नं. ६, मोहोरियामा जन्मेका थिए ।
५५ वर्षीय गुरूङ अनुभवी पाइलट थिए । उनी सन् २०१४ देखि मनाङ एयरमा आवद्ध थिए। गुरुङ सिनियर पाइलट रहेकाले उनलाई कुनै पनि गन्तव्यमा उडानका लागि रोकतोक थिएन । मनाङ एयरमा गुरूङ फ्लाइट सेफ्टीका प्रमुख पनि थिए।
त्यसअघि सन् १९९७/९८ देखि उनी निरन्तर उडानमा थिए। मनाङ एयरमा आउनु भन्दा पहिले गुरूङ एमआइसेभेन्टिन हेलिकप्टर, गोर्खा एरलाइन्स, श्री एयरलाइन्सका हेलिप्टर उडाउँथे । सात हजार घण्टा उडेका उनी सोलुमा अस्ताउन पुगे ।
श्री एयरलाइन्समा हुँदा गुरूङले विदेशी उडान समेत गरे । रुसदेखि अफगानिस्तासम्म उनी पुगेका थिए । उनी चार वर्षअघि समिट एयरको विमानले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा बाँच्न सफल भएको समेत न्यौपानेले खुलाए । २०७६ वैशाख १ गते लुक्ला विमानस्थलमा समिट एयरको जहाजले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा समिट एयरका को-पाइलट सुदीप ढुंगाना, पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी समिट एयरका क्याप्टेन आर.बी. रोकाया र मनाङ एयरका क्याप्टेन गुरुङ घाइते भएका थिए । गुरुङको खुट्टामा चोट लागेको थियो । ३/४ महिना रेस्ट गरेर फिट भई पुनः फ्लाइट गरिरहेका थिए ।
गुरुङ काठमाडौंको भैसेपाटीमा बस्दै आएका थिए। नेपालमा उनी एक्लै बस्दै आएका थिए। उनको परिवारका अरू सदस्य अहिले बेलायतमा छन्। उनका श्रीमती र एक छोरी छन् ।

गुरुङका दाजुभाइ छन् । हेलिकप्टर दुर्घटनामा उनको निधनको खबर पाएपछि आफन्त सोमबार नै काठमाडौं पुगेका छन् । पाइलट गुरुङलाई गत वर्ष रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसमा ‘रुपा रत्न’ बाट समेत सम्मान गरेको थियो ।
अवकाशको समय अवसान भए पाइलट कमल केसी
यति एयरलाइन्सका अनुभवी पाइलट कमल केसी नेपाली आकाशमा उडान भर्ने पाइलटमध्ये अनुभवी थिए । केसीको जन्म २०१९ सालमा रुपा गाउँपालिका वडा नं. ३, पोल्याङमा भएको थियो । हाल पोखरा महानगरपालिका–३, तेर्सापट्टीमा उनको घर छ । तर, अधिकांश समय उनी काममै हुने भएकाले परिवारसहित काठमाडौं बस्दै आएका थिए ।
६० वर्षीय केसी अमेरिकाबाट पाइलट पढेर आएर २०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए । उनी पाइलटका प्रशिक्षक पनि थिए । कमलले अमेरिकामा पढाइ पूरा गरेर आएपछि केही समय नेपाल एअरलाइन्सको विमान उडाए । बीचमा एक वर्ष भारतको बैंगलोरमा ‘इन्डियन एअरलाइन्स’ को विमान पनि चलाएका थिए । तर, पछि नेपाल फर्किएर यती एअरलाइन्ससँग जोडिएका थिए ।
दुर्घटनाको एक हप्ताअघि मात्रै थाइल्यान्डमा पाइलटहरुलाई प्रशिक्षण दिएर केसी नेपाल फर्किएका थिए । ६५ वर्ष उमेर हद भए पनि उनी अर्को वर्ष अवकाश लिएर परिवारलाई समय दिने योजनामा थिए तर पोखराको खोँचमा खसेर अस्ताए । परिवारको जेठो सदस्य रहेका कमल पाइलट बन्दा माइलो भाइ इन्जिनियर र कान्छो डाक्टर छन् ।


सम्बन्धित खबर
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पल शाहको मुद्दा फैसलाको पूर्णपाठ: नाबालिका र पिताले नै `हाेइन´ भनेपछि दाेषी भन्न मिलेन
६ महिनामा दुई पाइलट गुमाएपछि शाेकमा रूपा
फराकिलो हेम्जाको सडकमा गाडीकाे ओभर स्पीड, जेब्रा क्रसमै लिन्छन् ज्यान
अख्तियारले किन सुम्पियो ‘अख्तियारी’ ?
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो