पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । सत्तापक्षकै सांसदहरुको तीव्र असन्तुष्टिबीच गण्डकी सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट संसदबाट बहुमतले पारित भएको छ । अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते सभामा प्रस्तुत गरेको विनियोजन विधेयक कांग्रेस र माओवादीका सांसदहरुको समर्थनमा पारित भएको हो । अर्थमन्त्री मगरले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएका थिए ।
सभामुखले कृष्णप्रसाद धितालले बजेट प्रस्तावमाथि ध्वनिमतको प्रक्रिया अपनाएका थिए । प्रस्ताव निणयार्थ प्रस्तुत हुँदा बहुमत सदस्यले पक्षमा ध्वनिमत दिएका थिए । सत्ता साझेदार एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) भने संसदमा उपस्थित थिएनन् ।
अर्थमन्त्री मगरले ल्याएको बजेटमा ३३ अर्ब ४२ करोेड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात ३८.१ प्रतिशत छ । पुँजीगततर्फ २० अर्ब १९ करोड अर्थात् ६०.४ प्रतिशत बजेट छ । ५ अर्ब १६ करोड ९१ लाख उठाउने लक्ष्य बजेटले राखेको छ ।
सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्ष दलमात्र होइन्, सत्ता पक्षकै सांसदहरुले चर्को असन्तुष्टि जनाएका थिए । विपक्षी दल एमाले र राप्रपाले पूर्ण विरोध गरे । विपक्षीले अनधिकृत व्यक्तिहरु प्रवेश गरेर बजेट निर्माण गरेको आरोप लगाए । एमालेले बजेटमा असहमति जनाएर २ पटकसम्म संसद अवरुद्ध गरेको थियो । दलको बैठकमा सत्तारुढ सांसदहरुले सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको राजीनामा नै मागे ।
बजेट निर्माणमा कर्मचारी प्रशासन हावी भएको गुनासो उनीहरुको छ । सांसदहरुले कार्यकर्ता रिझाउने गरी बजेट ल्याएको तर सांसदका योजनामा प्रथामिकता नदिएको भन्दै चर्को आलोचना गरेका थिए ।
सांसदहरुले बजेटको कार्यक्रम चुहावट गरेको भन्दै विरोध नै जनाएका थिए । प्रदेश सरकारले यसपटकदेखि नयाँ राजस्वका दर कायम गर्ने गरी आर्थिक ऐन ल्याएको छ । राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने, सिमेन्ट उद्योगबाट वातावरण कर लिने, दोहोरी, डिस्कोजस्ता मनोरञ्जन क्षेत्रबाट पनि दस्तुर उठाउने गरी आर्थिक ऐन ल्याएको छ ।
बजेटमाथिको छलफलका क्रममा प्रतिपक्षमात्रै नभई सत्तापक्ष माओवादीका सांसदले समेत बजेट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जिल्ला गोरखा र अरु मन्त्रीहरुका जिल्लामा मात्रै केन्द्रित रहेको भनी आलोचना गरेका थिए । बजेट छलफलकै क्रममा पनि एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियविरोधी अभिव्यक्ति दिएको भनी उनको राजीनामा मागेर प्रदेश सभा अवरुद्ध गरेका थिए ।
बजेटको कार्यक्रम पुस्तिका आउनुअघि नै सत्तापक्षका कार्यकर्ताकहाँ पुगेको र चुहावट भएको भनेर पनि यसबीचमा प्रदेश सभा अवरुद्ध भएको थियो । एमाले सांसदहरुले विभिन्न मन्त्रालयहरुको बजेट घटाइयोस् भनेर पनि प्रस्ताव गरेका थिए ।
विपक्षीका सबै माग सम्बोधन गर्ने पटक पटकको प्रतिबद्धता पछि संसद बैठक सञ्चालन भएको थियो । सरकारले वार्षिक विकास कार्यक्रम मन्त्रालयगत छुट्टाछुट्टै पुस्तिका छाप्ने, सांसदले योजनाको अनुगमन गर्ने, आयोजना बैंक बनाउने लगायत प्रतिबद्धता सरकारले कार्यव्यवस्था परामर्श समितिमा गरेको थियो । सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका थिए ।
गण्डकीको बजेट ७ रुपैयाँ भए पुग्छ !
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी राप्रपाले प्रत्येक मन्त्रालयको बजेट १ रुपैयाँ कायम गर्न प्रश्ताव दर्ता गरेको थियो ।
२ पार्टीले हरेक मन्त्रालयमा १ रुपैयाँ मात्रै बजेट राखेर गण्डकीको पूरा बजेट ७ रुपैयाँ कायम राख्न माग गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमा पद्मा जिसीले खर्च कटौती प्रस्ताव राखेकी थिइन् भने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत सामाजिक तर्फ यशोदा रिमाल र स्वास्थ्य तर्फ राप्रपाकी विन्दु पहाडीले खर्च कटौती प्रस्ताव दर्ता गरेकी थिइन् ।
यस्तै, अर्थ मन्त्रालयमा सीता सुन्दास, भौतिक पूर्वाधार विकास मन्त्रालयमा गोविन्दबहादुर नेपाली, कृषि मन्त्रालयमा भीम कार्की, ऊर्जामा वेदबहादुर गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा देवका पहारीले खर्च कटौती गरी १ रुपैयाँ कायम गर्न मागसहित प्रस्ताव दर्ता गरेका हुन् ।
उनीहरु सबैले राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो । ‘हाम्रो सांकेतिक विरोध हो । बजेटको रकम घटाउनु भनेको यो बजेट ठिक छैन भन्न खोजेका हौं,’ एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने, ‘अहिले सरकारले ल्याएको बजेटमा कुनै दिशानिर्देश छैन । यसले अर्थतन्त्र चलायमान बनाउन सक्दैन ।’ विनियोजन विधेयकअन्तर्गत यति धेरै खर्च कटौतीको प्रस्ताव पहिलो पटक परेको हो ।
रेकर्डबाट हटाइयो
प्रतिपक्ष एमालेले शुक्रबार सदनमा कांग्रेस सांसद द्रोण कुँवरको अभिव्यक्तिलाई लिएर पनि आपत्ति जनायो र बैठक अवरुद्ध पनि पा¥यो । कुँवरले असार १८ गते बजेटको मन्त्रालयगत छलफलका क्रममा ‘चीनको स्वशासित क्षेत्रमा आबद्ध भएको माननीयहरूको आवाज’ भन्ने वाक्य प्रयोग गरेका थिए ।
एमाले सांसद सुधीरकुमार पौडेलले शुक्रबार बैठक सुरु हुनासाथ कुँवरको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । सभामुखले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाएसँगै मात्रै बैठक अघि बढेको थियो । उक्त अभिव्यक्ति नहटाउँदासम्म बैठक चल्न नदिने भनी एमाले सांसदहरु उठिरहेका थिए । एमालेको साथमा राप्रपाका २ सांसद पनि लागेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो