पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीको अधिवेशन २०८० सालको माघ महिनामा हुने भएको छ । जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो । पालिका कमिटिहरुको अधिवेशन २०८० फागुनमा गर्ने, वडा र टोल कमिटीको अधिवेशन २०८० चैतमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अवधि पूरा भएका विशेष इलाका कमिटी, शाखा कमिटीका अधिवेशन २०८० पुस मसान्तभित्र सम्पन्न गर्ने र पालिका कमिटीका कार्यालय साउनभित्र र वडा कमिटीका कार्यालय असोजभित्र सञ्चालन गर्न मातहत कमिटीहरुलाई बैठकले निर्देशन गरेको छ ।
अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट प्रमुख अतिथि थिए । स्थायी कमिटी सदस्य खगराज अधिकारी र स्थायी कमिटी सदस्य एवं कास्की इन्चार्ज थममाया थापाको विशेष आतिथ्यता थियो ।
बैठकले निर्मल खत्रीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला लेखा कमिटी गठन गरेको छ । भदौ १५ गतेभित्र केन्द्रीय लेखा आयोगबाट जिल्लाको आर्थिक लेखा परीक्षण गरिसक्ने बैठकको निर्णय छ । ‘सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, सबै २६ वटा विभागहरुलाई पूर्णता दिने, विभिन्न २२ जनसंगठनको फाँटको जिम्मेवारी सहितको कार्यविभाजनको लागि जिल्ला कमिटीको बैठकमा प्राप्त सुझाव अनुसार साउनभित्र बस्ने सचिवालयको बैठकबाट अन्तिम टुंगो लगाउने,’ बैठकको निर्णयमा भनिएको छ ।
पार्टीको विधानले गरेको व्यवस्था अनुसार पार्टी कमिटीमा आन्तरिक रुपमा १० प्रतिशत र पार्टी एकता प्रक्रियाबाट आएका सदस्यहरुको १० प्रतिशत मनोनयन गरी कमिटीलाई पूर्णता दिइएको पनि बैठकको निर्णयमा छ । एमाले कास्कीले पठाएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीको परिपत्र अनुसार जिल्लामा क्रियाशील जनसंगठनमध्ये अवधि पूरा भएका जनसंगठनको अधिवेशन/सम्मेलन मंसिरभित्र सम्पन्न गरिसक्ने ।’
अवधि पूरा भएका विशेष इलाका कमिटी, शाखा कमिटीका अधिवेशन २०८० पुस मसान्तभित्र सम्पन्न गर्ने बैठकको निर्णय छ । पालिका कमिटीका कार्यालय साउनभित्र र वडा कमिटीका कार्यालय असोजभित्र सञ्चालन गर्न मातहत कमिटीहरुलाई निर्देशन गरिएको छ । जिल्ला कमिटीको मुखपत्र घोषणा अंक ११ दसैंतिहारको बीचमा प्रकाशन गर्न उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाको संयोजकत्वमा व्यवस्थापन कमिटी पनि बैठकले गठन गरेको छ ।
कारवाहीको डण्डा चलाउँदै कास्की एमाले
एमाले कास्कीले गएको मंसिरमा सम्पन्न चुनावमा पार्टी हित विपरीत क्रियाकलापमा संलग्नलाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । बैठकले ‘निर्वाचनमा पार्टी हित विपरीत क्रियाकलापमा संलग्न व्यक्तिलाई कारबाहीको लागि सम्बन्धित मातहत कमिटीको सिफारिस अनुसार कारबाहीको लागि स्पष्टीकरण सोध्ने निर्णय भएको सचिव बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
गएको स्थानीय निर्वाचनमा नेता/कार्यकर्ताको ठूलो पंक्ति आधिकारिक मेयरका उम्मेदवार कृष्ण थापाको विरुद्धमा उभिएको एमाले कास्कीमा उजुरी परेको छ । उपमेयरमा आधिकारिक उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुँदा मेयरमा भएको पराजयले एमाले कास्कीमा भुइँचालो नै आएको थियो । उम्मेदवार कृष्ण थापा स्वयंले अन्तरघातका कारण पराजय व्यहोर्नुपरेको अभिव्यक्ति दिएका थिए । पार्टीले को र कति जनासँग स्पष्टीकरण सोध्दैछ भन्ने कुरा चाहिँ स्पष्ट पारेको छैन । चुनावकै बेला कृष्ण थापालाई हराउनुपर्ने भन्दै एमाले कार्यकर्ताको अडियो संवाद बाहिरिएको थियो ।
६५ प्रतिशतले मात्रै पार्टी सदस्यता नवीकरण गरे
बैठकमा कास्कीमा ६५ प्रतिशतले मात्रै पार्टी सदस्यता नवीकरण गरेको जानकारी पनि दिइएको थियो । पार्टी सदस्यता नवीकरण कास्की जिल्लामा हालसम्म ६५ प्रतिशत भइसकेको र असार २४ गतेसम्म थप नवीकरणको रिपोर्टसहित गण्डकी प्रदेश कमिटी हुँदै पार्टी केन्द्रीय कार्यालयमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।
एमालेले कास्कीमा १० हजारको हाराहारीमा क्रियाशिल सदस्य भएको दाबी गर्दै आइरहेको छ ।
भेला, प्रशिक्षण र संगठन परिचालन गर्ने गण्डकीकाे निर्णय
नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीले भेला, प्रशिक्षण र संगठन परिचालन गर्ने भएको छ । गण्डकी प्रदेश कार्यालय बैठकले भेला, प्रशिक्षण र संगठन परिचालनको कार्यक्रम तय गरेको उपसचिव तथा प्रचार प्रकाशन विभागका प्रमुख रश्मि आचार्यले जानकारी दिए ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा नेकपा (एमाले )केन्द्रीय कमिटी सचिव गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टको उपसिथतिमा बसेको बैठकले पालिका तहले गरेको सदस्यता नवीकरण असार २५ गतेसम्म प्रदेश कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । बैठकपछि जारी प्रेस विज्ञप्तिमा प्रदेश कमिटीको बैठक साउन २२ गते पोखरामा गर्ने निर्णय गरेको उल्लेख छ ।
‘एमालेका कार्यकर्तालाई प्रशिक्षण दिनका लागि पार्टी स्कुल विभागले विभिन्न तहका प्रशिक्षण चलाउँदै आएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘गण्डकीमा प्रशिक्षक प्रशिक्षणका लागि साउन १० देखि १२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।’
विज्ञप्तिमा गण्डकी प्रदेश स्तरीय प्रचार कार्यशाला साउन २० र २१ गते पोखरामा गर्ने निर्णय गरेको उल्लेख छ । बिहीबार बिहान प्रदेश इन्चार्ज गोकर्ण बिष्टको उपस्थितिमा बसेको प्रचार विभागको बैठकले प्रचार भेला र कार्ययोजना पेश गरिएको थियो ।
एमालेले जनसंगठनका पदाधिकारी र इन्चार्जहरु सहभागी हुने प्रदेश स्तरीय जनसंगठन भेला साउन २३ गते गर्ने भएको छ ।
एमालेले प्रदेशका विभागीय प्रमुखको भेला साउन २ गते गर्ने भएको छ । चाँडै नै प्रदेश अधिवेशन हुने हुँदा एमालेका सांगठनिक गतिविधिलाई जोड दिइएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस साउन ७ गते रचनात्मक कार्यक्रम गरि मनाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
केन्द्रीय सचिव विष्टले गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी लिएपछि जिल्ला कमिटीका बैठक भएका छन् । पार्टी र जनसंगठनका कामलाई प्रभावकारी बनाउन र समय अनुसार चल्ने बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर