वामदेव गौतमको पार्टी सदस्यता एमालेमै छ, उहाँ फर्कन सक्नुहुन्छ : ओली

वामदेव गौतमको पार्टी सदस्यता एमालेमै छ, उहाँ फर्कन सक्नुहुन्छ : ओली

oli_bamdev

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले)मा प्रवेश गर्न तयार भएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक जवाफ फर्काएका छन् ।

बुधबार एमालेका युवा नेताहरुले ७० वर्षे उमेरहद हटेकाले एमालेमै फर्कन गौतमलाई अनुरोध गरेका थिए । जवाफमा गौतमले आफ्नो सदस्यता एमालेमै रहेको र ओलीले बोलाएमा फर्कने बताएका थिए ।

गौतमको सो भनाइमा एमाले अध्यक्ष ओलीले सकारात्मक जवाफ दिएका हुन् । बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि ? भनी प्रश्न गरेका थिए । सञ्चारकर्मीको जिज्ञासामा ओलीले ‘अब थप केही कुरा छ र ?’ भन्ने प्रतिक्रिया दिए । गौतमले यसबीचमा पार्टी एकता अभियान चलाएको, तर नयाँ पार्टी नबनाएको ओलीको भनाइ थियो ।

ओलीले भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो होइन ? अनि, कुरा बाँकी छ, केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन ।’

गौतमले एमालेमा जान्छु भन्नु ठीक भएको भन्दै ओलीले भने, ‘ठीक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’ एमालेले मंगलबार मात्रै पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने निर्णय गरेको थियो ।

सो विषयमा एमालेका युवा नेताहरुसँग गौतमले अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गरेमा आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन तयार रहेको प्रतिक्रिया दिएका थिए ।

विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ । एमाले आफूले निर्माण गरेको पार्टी भएकाले त्यसको माया लाग्ने गौतमको भनाइ थियो ।
आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको र केही दिनभित्रै पार्टी सदस्यता नवीकरण गर्नेसमेत उनले बताएका थिए ।

अध्यक्ष वा महासचिव बन्नका लागि आफू एमालेमा जान नलागेको गौतमको भनाइ छ । आफू पार्टीमा योगदान दिनका लागि मात्रै जाने उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds