एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी

एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी

MOU1

पोखरा। पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) काठमाडौँ बिच बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्य, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार पक्षहरूका बिचमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधिहरू संयुक्त रूपमा गरिनेछन् । स्थानीय तह अन्तर्गत रही आफ्नो अधिकार क्षेत्र भित्रको विषयगत कानुन बनाउने, बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने, त्यसको कार्यान्वयन गर्ने तथा स्थानीय सरकारले संविधान अनुसार प्रवाह गर्नु पर्ने सम्पूर्ण सेवा सुविधा प्रवाह गर्ने महानगरपालिकाको दायित्व हुनेछ भने, नगर विकास कोषले स्थानीय तहहरूबिच वित्तीय मध्यस्थता गर्नेछ । निफ्राले पूर्वाधार विकास सम्बन्धी परियोजनाहरूमा लगानी गर्ने सम्झौतामा उल्लेख छ ।

महानगरपालिका भित्र प्राविधिक र आर्थिक रूपमा सम्भावित पर्यटकीय पूर्वाधार परियोजनाहरूको पहिचान गरी सार्वजनिक–निजी साझेदारीको माध्यमबाट सोको एकीकृत विकासका लागि अध्ययन, सोको लागि लगानी व्यवस्थापन र सम्भाव्य परियोजनालाई एकीकृत संरचनामा निर्माण तथा सञ्चालन गर्नको लागि आपसी सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिर ।

समझदारी अनुसार पहिचान भएका सम्भाव्य पर्यटकीय पूर्वाधार परियोजनाहरूको एकीकृत विकास गर्न वित्तीय एवं प्राविधिक विश्लेषण, कानुनी, वातावरणीय, विकासकर्ता छनौट एवं निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने र कोष एवं निफ्राको तर्फबाट वा अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग (ज्ञान साझेदार÷विकास साझेदारहरू समेत) को लागि सहकार्य गरिनेछ । यस्तै समझदारीका आधारमा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन, विश्लेषण, उपयुक्तता परीक्षण र परियोजनाको विकास, निर्माण र सञ्चालन गर्न छुट्टै कम्पनी समेत गठन गरिनेछ ।

महानगरपालिकाले प्रस्तावित परियोजनाहरूको पहिचान, विकास, एकीकरण तथा कार्यान्वयन गर्ने प्रयोजनका लागि विभिन्न निकायसँग आवश्यक समन्वय गर्नेछ । परियोजनाको लागि आवश्यक पर्ने जग्गा प्राप्तिमा निर्णायक भूमिका खेल्ने, एकीकृत योजनालाई स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग स्वीकृत गरी परियोजनालाई अगाडि बढ्न सक्ने वातावरण सृजना गर्ने, परियोजना विकासको क्रममा सरोकारवालाहरूसँग हुन सक्ने विवाद समाधानका लागि आवश्यक सहजीकरण गरी विवाद साम्य पार्ने, परियोजना सुरुवात गर्ने क्रममा कोष तथा निफ्रालाई परियोजनाको वित्तीय तथा प्राविधिक अध्ययन, विश्लेषण र विकासकर्ता छनौटमा आवश्यकता अनुसार संलग्न ÷सहभागी गराउने कार्य पोखरा महानगरपालिकाले गर्नेछ ।

कोषले भने परियोजनालाई पूर्णता दिन आवश्यक पर्ने स्रोत सुनिश्चित गर्न परियोजनाको प्रारम्भिक अवस्था देखिनै आफै वा परामर्शदाता मार्फत परियोजनाहरूको सम्भाव्यता, वित्तीय तथा प्राविधिक विश्लेषण, र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यमा संलग्न हुनेछ । साथै परियोजनामा सरकारी एवं विकास साझेदारहरूलाई आवश्यकता अनुसार भित्र्याई परियोजनाको दीर्घकालीन विकास सुनिश्चित गर्न समन्वयकारी भूमिका निभाउनुका साथै परियोजना विकासका लागि आवश्यक पर्ने मापदण्डहरू कायम÷स्वीकृत गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालय/विभाग तथा नगरपालिकासँग समन्वय गर्नेछ ।

निफ्राले परियोजनाको सम्भाव्यता, वित्तीय तथा प्राविधिक विश्लेषण, र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग प्रदान गर्नुका साथै परियोजना प्राविधिक तथा वित्तीय रूपमा सम्भाव्य देखिएमा उक्त परियोजनामा वित्तीय सल्लाहकार वा नेतृत्वको रूपमा सहभागी हुने र परियोजनाको लागि रणनीतिक साझेदार भित्राउन आवश्यक पहल गर्नेछ । समझदारी अनुसार परियोजनाको कार्यान्वयन अवधि दश (१०) वर्षको हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds