राष्ट्रपति एमालेलाई दिने सहमति टार्दै माओवादी, ‘परिस्थिति बदलिएको’ निष्कर्ष

राष्ट्रपति एमालेलाई दिने सहमति टार्दै माओवादी, ‘परिस्थिति बदलिएको’ निष्कर्ष

maoist_standing_cm_1674731173

नेकपा (एमाले)लाई राष्ट्रपति दिने सहमति टार्दै नेकपा (माओवादी केन्द्र)ले ‘परिस्थिति बदलिएको’ निष्कर्ष निकालेको छ।

माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सोमबार साँझ बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको चुनावका विषयमा व्यापक छलफल गरेको छ। बैठकमा माओवादीको स्वार्थ अनुसार राष्ट्रपतिको उम्मेदवारलाई सघाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले बताए।

पदाधिकारी बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता महराले भने, “हाम्रो पार्टीको स्वार्थमा केन्द्रित रहेर आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भयो। गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने नै हाम्रो मुख्य स्वार्थ हो।”

यि तीनै कुरामा केन्द्रित भएर राष्ट्रपतिको चुनावका विषयमा छलफल भएको उनले बताए। माओवादी पदाधिकारी बैठकको आजको एजेन्डा राष्ट्रपतिको चुनावको विषय मात्रै रहेको थियो।

बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिका विषयमा जानकारी गराएका थिए। त्यससँगै उनले राष्ट्रपतिको चुनावका विषयमा विभिन्न राजनीतिक दल र नेताहरूसँग भएको छलफलका विषयमा पनि जानकारी गराए।

पदाधिकारी बैठकमा एमालेसँग भएको सहमतिका विषयमा पनि छलफल भएको जानकारी दिए। राष्ट्रपतिका विषयमा एमालेसँग भएको सहमतिका विषयमा सोधिएको प्रश्नमा प्रवक्ता महराले अहिले परिस्थित बदलिएको र त्यसैअनुसार पदाधिकारी बैठकमा छलफल भएको बताए। “त्यति वेला र अहिलेको परिस्थित बदलिएको छ, उस्तै छैन। आजको परिस्थितिमा निर्णय भएको छ,” प्रवक्ता महराले भने।

गत पुस १० गते एमाले र माओवादीबीच सत्ता भागबण्डाका विषयमा सहमति भएको थियो। जसमा प्रधानमन्त्री आधाआधा कार्यकाल बाँड्ने तथा राष्ट्रपति र सभामुख एमालेलाई दिने उल्लेख थियो। अहिले माओवादीले सहमति तोड्न खोजेको एमाले नेताहरूले आरोप लगाएका छन्। त्यसको जवाफमा माओवादी प्रवक्ता महराले ‘परिस्थिति बदलिएको’ बताएका हुन्।

यससँगै माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएका छन्। “राष्ट्रपतिको निर्वाचनका सम्बन्धनमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलाई बैठकले दिएको छ,” प्रवक्ता महराले भने।

राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदै छ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds