यतीको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

यतीको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

9N ANC

गत माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाजमा दुर्घटनाको १४ सेकेन्डअगाडि पाइलटको कमाण्ड परिवर्तन भएकाे दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।

बुधबार वेबसाइटमार्फत सार्वजनिक भएको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले जहाज दुर्घटना हुन १४ सेकेण्ड बाँकी छँदा मात्र प्रशिक्षार्थी अञ्जु खतिवडाको कमाण्डबाट प्रशिक्षक क्याप्टेन कमल केसीले जहाजको नेतृत्व लिएको निष्कर्ष निकालेको हो ।

जहाजको इन्जिनले काम नगर्नुमा इन्जिनकै खराबी थियो, मानवीय कमजोरी थियो वा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्नेबारे विस्तृत प्रतिवेदनले मात्र देखाउने छ। दुर्घटना जाँच आयोगले अबको अनुसन्धान यी तीन विषयमा केन्द्रित हुने बताएको छ।

१० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा जहाज खस्नुभन्दा १४ सेकेन्डअगाडि खतराको संकेत देखिएपछि अञ्जु खतिवडाको कमाण्डबाट प्रशिक्षक पाइलट केसीले कमाण्ड लिएका थिए। तर, त्यस बेलासम्म धेरै ढिला भइसकेको थियो।

एयर ट्राफिक कन्ट्रोलर(एटीसी)ले अवतरणका लागि धावनमार्ग ३ ० उपलब्ध गराएका थिए, तर उडानको अन्तिम चरणतिर चालक दलले धावन मार्ग १ २ मागेको प्रतिवेदनमा उल्लेख छ । पाइलटले मागेपछि एटीसीले १ २ मा अवतरण गर्न अनुमति दिएका थिए । बिहान १०: ५१ मा धावनमार्गको उत्तरतर्फ १ २ बाट अवतरण गर्न प्रयास भएको थियो ।

प्रतिवेदनअनुसार १० :५६ मा पाइलटहरूले विमानको पंखा १५ डिग्रीको पोजिसनमा राखेका थिए । र, धावनमार्गमा ल्याउनका लागि ल्यान्डिङ गियर समेत खोलेका थिए । विमान उडाइरहेकी खतिवडाले विमानलाई देब्रेतर्फ नै निरन्तर लगिरहने हो कि होइन भन्ने सोध्दा प्रशिक्षक केसीले निरन्तरता दिन निर्देशन दिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यसपछि खतिवडाले विमान तल लग्ने कि नलग्ने भन्ने सोध्दा त्यो आवश्यक नरहेको भन्दै केसीले अलिकति बढी पावर लगाउन निर्देशन दिएका थिए । त्यसपछि अन्तिम १४ सेकेन्डमा खतिवडाले विमानको सम्पूर्ण कमान्ड प्रशिक्षक केसीलाई सुम्पिएकी थिइन् ।

१०ः३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ३११ फिटको उचाइमा ओर्लेको थियो। ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग ‘थ्री जीरो’बाट अवतरण गर्न अनुमति दिए पनि पाइलटले उत्तरतर्फको रनवे ‘वान टू’बाट जहाज अवतरण गराउने गरी अनुमति मागे। सोही अनुसार एटीसीले अनुमति दिएको केही बेरमै जहाज दुर्घटनामा परेको थियो।

दुर्घटनामा चालक दलका चार सहित ७२ जनाको ज्यान गुमेको थियो। दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो, जसले बुधबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”108509″ /]

यसअघि, आयोगले विमानकाे दुवै इन्जिनको प्रोपेलर फेदरमा जाँदा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेकाे थियाे । गत २३ माघमा विज्ञप्तिमार्फत आयोगले डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको जनाएको थियाे ।

आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो। आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिवहरूलाई पठाइएकामा उक्त कार्य सफलतापूर्वक सम्पन्न गरी आयोगका पदाधिकारी नेपाल फर्किएका जनाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds