ज्योतिष पण्डित लेखनाथ पराजुली स्मृति ग्रन्थ लोकार्पण, विद्यालयमा अक्षयकोष स्थापना

ज्योतिष पण्डित लेखनाथ पराजुली स्मृति ग्रन्थ लोकार्पण, विद्यालयमा अक्षयकोष स्थापना

Lekhnath parajuli (1)

पोखरा, १७ माघ । ज्योतिष पण्डित लेखनाथ पराजुलीको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । राणाशासनको अन्त्यपछि प्रजातन्त्रको स्थापनासँगै यस भेगमा शिक्षाको ज्योति फैलाउन अगुवाई गरेका पण्डित पराजुली परिवारले विद्यालयमा अक्षयकोष पनि स्थापना गरेको छ ।

पण्डित पराजुलीका पुत्रत्रय डा. कृष्णगोपाल, ध्रुबगोपाल र विश्वगोपालले पितामाताको स्मरणमा ज्यो.पं. ‘लेखनाथ/लोकमाया पराजुली स्मृति ग्रन्थ’ प्रकाशित गरेका हुन् । पण्डित पराजुलीले आफैले स्थापना गरेको विद्यालय प्रगतिशील मावि (तत्कालिन भाषा पाठशाला) अन्नपूर्ण गाउँपालिका–४, सल्यान, कास्कीमा स्मृतिग्रन्थ लोकार्पण गरिएको हो ।

विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा पराजुली परिवार उपस्थित समारोहमा प्रमुख अतिथि गाउँपालिका प्रमुख विष्णुबहादुर केसीले स्मृतिग्रन्थ लोकार्पण गरे । पराजुली पुत्रत्रयले लेखनाथ/लोकमाया स्मृति अक्षयकोषका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर केसी र प्राचार्य नवराज पौडेललाई ३ लाख ३ रुपैंयाको चेक हस्तान्तरण गरे ।

पण्डित लेखनाथले पहिल्यैदेखि कास्कीको सल्यानमा गएर पढाउने काम गरेकोमा २०१५ सालमा भाषा पाठशाला नै स्थापना गरेर २०२८ सालसम्म पढाएका थिए । सोहि विद्यालयका विद्यार्थी र शिक्षकको हितमा परिवारले अक्षयकोष स्थापना गरेको हो । कनिष्ठ पुत्र विश्वगोपालका अनुसार अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजले कक्षा ५ सम्म गरीब तथा जेहेन्दार विद्यार्थी, कक्षा ६–१० सम्म सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी र एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकलाई पुरस्कृत गरिनेछ ।

गाउँपालिका प्रमुख केसीले सल्यानमा शिक्षाको पहिलो ज्योति बाल्ने गुरुको स्मरण सल्यानबासीले सधैं गरिरहेको बताउँदै अब परिवारले नै पिताले स्थापना गरेको विद्यालयमा अक्षयकोष खडा गर्दा खुशी लागेको बताए ।

पुत्र विश्वगोपालले बुवाले स्थापना गरेको हुलाक पाठशाला अहिले उच्च मावि तहमा उत्कृष्ट पठनपाठन भइरहेको, भौतिक पूर्वाधारसम्पन्न रहेकोमा खुशी व्यक्त गर्दै बुवाले देखाउनुभएको पथमा अघि बढ्ने क्रममा थोरै भएपनि परिवारबाट सहयोग प्रदान गरेको उल्लेख गरे ।

पोखराको मिरुवामा घर भएका पण्डित लेखनाथ पराजुलीले जीवनको छोटो समयमा शिक्षा, साहित्य र ज्योतिष विधामा स्मरणीय योगदान गरेका छन् । ज्यो. पं. पराजुलीले वि.सं. २००६ देखि २०१५ सम्म रामजा प्रारम्भिक पाठशालामा प्रधान पण्डित भई काम गरे । २०१५ देखि २०२८ सम्म सल्यानमा पाठशाला स्थापना गरी १३ वर्ष प्रधान पण्डित भई अध्यापन गराए । त्यसपछि २०२८ देखि २०३१ सम्म स्वर्गारोहण हुने बेलासम्मै राजकीय संस्कृत प्रधान पाठशालामा अध्यापन गराए ।

साहित्यमा रुची, कविता र गीत मार्फत् नै स्वास्थ्य शिक्षा पनि फैलाउने, जडिबुटी र औषधिका फर्मूला कवितामै तयार गर्ने, गणितका कुराहरु, तथ्यांकका सूत्रहरु आफै निर्माण गर्ने, सबैलाई कण्ठस्थ बनाउन रामायण शैलीमा रचना गर्ने, फुकफाकदेखि कुन रोगमा कुन जडीबुटी प्रयोग गर्ने सबै ज्ञान भएका व्यक्ति पराजुली थिए । उनले हातबाट चिना टिपन बनाउन टाढाका मानिसहरु घरमा आउँथे । कम्प्युटरले डिजाइन गरेजस्तो कलाहरु उनी हातैले घरायसी सामानबाट तयार पार्थे । विशेषतः शिक्षा क्षेत्रका दीपका रुपमा पण्डित पराजुलीलाई चिन्ने गरिन्छ ।

पण्डित पराजुलीको स्मरणमा तयार स्मृतिग्रन्थमा चार अध्याय छन् । पहिलो अध्याय व्यक्तित्व र स्मृतिका बारेमा छन् । जहाँ पराजुलीबारे जानकारहरुले स्मरण गरेका छन् । अध्याय २ मा कृति खण्ड छन् । पराजुलीका नेपाली तथा संस्कृत भाषामा लेखिएका कविताहरु, आयुर्वेद तथा गणित सम्बन्धी पराजुलीका सूत्रहरु संग्रहित छन् । तेस्रो अध्यायमा संस्मरण खण्ड छन् । पुत्रत्रयले आफ्ना पिताश्रीको स्मरण गरेका छन् । अध्याय ४ मा पराजुलीका शैक्षिक कागजात तथा पूराना तस्वीरहरु रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ