प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त, ढिकुरपाेखरीदेखि तेस्राे पटक सिंहदरबारसम्म (जिवनी)

प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त, ढिकुरपाेखरीदेखि तेस्राे पटक सिंहदरबारसम्म (जिवनी)

Prachanda PM (1)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् ।

देउवा–प्रचण्डको सत्ता समीकरण भत्किएपछि ओलीको सहयोगमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री (२०६५ सालमा) बनेका प्रचण्डको यो तेस्रो पटक हो । यसअघि २०७३ सालमा पनि उनी प्रधानमन्त्री बनेका थिए ।

पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका चालचलन, तौरतरिका र कामहरुबारे बुझ्दाबुझ्दै कामै गर्न नपाई सरकार ढलेको उनी आफैँले बताउँदै आएका छन् । यद्यपी, उनको पहिलो प्रधानमन्त्री कालमा पशुपतिको भट्ट परिवर्तन र नेपाली सेनामा वरियता क्रम मिचेर तेस्रो वरियताकालाई सेनापति बनाउन खोज्दा निकै विवाद झेल्नु परेको थियो ।

दोस्रो कार्यकाल भने खासै विवादिन रहेन । दोस्रो कार्यकालमा उनले हिमालदेखि मधेससम्म सबैलाई एकताबद्ध बनाउन सफल भएको बताउने गरेका छन् ।

शपथ सोमबार अपरान्ह ४ बजे

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ अपरान्ह ४ बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार अपरान्ह ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।

ढिकुरपाेखरीदेखि सिंहदरबारसम्म (जिवनी)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको जन्म वि.सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा नै लिए । २०२६ चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेपछि एमपीएसम्मको अध्ययन गरेका छन् । कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएका प्रचण्डको विसं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामरहेको थियो । हाल उनी आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन् ।

विसं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सराई सरेका प्रचण्डको विसं. २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनी नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा युएसएडमा सेवारत रहेका थिए ।

विसं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । उनी विसं. २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा-सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री भए । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए ।

वि.सं. २०५८ माजनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ सालअसार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बने । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए । साथै उनी उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसकेका छन् । अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका थिए।

संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए । २०७४ मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।

पछिल्लाे निर्वाचन २०७९ मंरिस ४ गते भएकाे पछिल्लाे निर्वाचनमा उनी गाेरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । हाल उनी तेस्राे पटक नेपालकाे प्रधानमन्त्री नियुक्त भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds