पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ ।
माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग गरेर बरालले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको उजुरीकर्ताले आरोप लगाएका छन् ।
उनले सरकारी ढुकुटीको पैसा रकमान्तर गरेर आमा समूहलाई बाँडेको भन्दै निर्वाचन आयोगमा बुधबार उजुरी परेको हो । पोखरा महानगरपालिका १७ निवासी महेन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उजुरी दिएका हुन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेक अन्य कार्यक्रम, योजना घोषणा गर्न नहुने व्यवस्था छ । तर, अर्थमन्त्री बरालले पाँच करोड रूपैयाँ पैसा विभिन्न आमा समूहसहित संस्थाको भवन बनाउन दिने भनेर रकमान्तर गरेको भन्दै उजुरी परेको हो ।
पौडेलले बुधबार अर्थमन्त्रालयमा पुगेर रकमान्तरको विषयमा सूचना माग गरेका थिए । तर, अर्थ मन्त्रालयका सूचना अधिकारीले निर्णयको फाइल मन्त्रीसँगै भएकाले आफूलाई जानकारी नभएको भन्दै फर्काइदिएका थिए । उजुरीकर्ता पौडेलले गत २७ कार्तिकको मन्त्रीस्तरीय निर्णयबाट आमा समूहको भवन निर्माणमा सहयोग गर्ने निर्णय भएको जानकारी आएपछि उजुरी दिएको बताए ।
बरालविरुद्ध बुधबार नै कालोसूचीमा परेको मान्छे भनेर उम्मेदवारी खारेज माग गर्दै अर्को उजुरी परेको थियो । त्यो विषयमा निर्वाचन अधिकृतको कार्यालयले उनलाई स्पष्टीकरण सोधेको छ । बरालले भने पुरानो घटनालाई चुनावको बेला अतिरञ्जित बनाइएको बताएका छन् ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने