पोखरा । बाहिर खुबै हर्ष छ; नवौं संस्करणमा आइपुग्दा आर्चरी खेलमा पहिलो पटक देशभरबाट यति धेरै खेलाडी र टोली सहभागी भएका छन् । भित्री मनमा भने असाध्यै पीडा छ; खेलको महाकुम्भ आयोजना गर्ने राज्यले खेल सामाग्री नै दिएन ।
आर्चरी खेलको विकास तथा विस्तारमा तन, मन, ध्यान लगाएका आर्चरी खेलकर्मी सबैको मनोभावना अहिले यस्तै छ । नवौँ राष्ट्रिय खेलकुदमा समाविष्ट आर्चरी खेल खेलाउन उनीहरुलाई ठूलो सकस परिरहेको छ । राष्ट्रिय खेलकुद परिषद्लाई पटक पटक समयमै ध्यानाकर्षण गराउँदा पनि मागको कुनै सुनुवाई भएन । खेल सकिने बेला हुँदा पनि न्यूनतम आवश्यकीय खेल सामाग्री प्राप्त भएन । असोज २९ गतेदेखि सुरु खेल कार्तिक २ गते सकिँदैछ ।
आर्चरी संघको केन्द्रदेखि जिल्लासम्मका अधिकारीहरु आफ्नो खेललाई सफलतापूर्वक सम्पन्न गर्न व्यक्तिगत ढंगमै लागिरहेका छन् । अभावै अभावका बीच पनि पोखरा रंगशालाको आर्चरी मैदानमा उल्लासमय ढंगले खेल चलिरहेको छ । खेलहरु अन्नपूर्ण आर्चरी क्लबको पूरानो टार्गेट बोर्ड र टार्गेट फेस प्रयोग गरी भइरहेको छ । जुन खेलाउन योग्य छैनन् ।
एक सय बढी खेलाडी सहभागी प्रतियोगिता तीन ईभेन्टमा खेलाइएको छ । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा खेल भइरहेका छन् । यसका लागि आर्चरी खेल संघका अधिकारीहरुले राखेपसमक्ष ३० वटा टार्गेट बोर्ड, ५ सय टार्गेट फेसको माग गरेको बताउँछन् । ‘पहिलो पटक ९ टोलीको सहभागी रहँदा हामी असाध्यै उत्साहित थियौँ, छौँ । १ सय बढी खेलाडीहरु ३ विधामा स्पर्धा गर्ने हुँदा हामीलाई कम्तिमा ३० वटा टार्गेट बोर्ड आवश्यक हो । टार्गेट फेस पनि नबिग्रिएको स्पष्ट चित्र हुनुपर्छ । त्यसैले ५ सय जति मागेका पनि थियौँ ।’ नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले भने ।

राखेपको प्राविधिक उपसमितिले १० वटा मात्रै टार्गेट बोर्ड र २०० टार्गेट फेस भए पुग्ने भनेर निर्णय गरेपछि संघका अधिकारीहरुले कम्तिमा २० वटा बोर्ड हुनैपर्ने भनेर माग गरेको थियो । तर, २९ गते खेल सुरु हुने बिहान मात्र ७ वटा बोर्ड उनीहरुले फेला पारे । रंगशालामा आइसकेको छ भनेर थाहा भएपछि लिन जाँदा कामै नलाग्ने स्तरको बोर्ड देखिएको महासचिव रमेश प्रसाद शिवाकोटीले बताए ।
‘आर्चरीको टार्गेट बोर्ड भनेर ७ वटा आयो । त्यो काम लाग्ने बोर्ड नै होइन । त्यही बोर्ड पनि आएको थाहा दिएनन् । हेर्दा त सेतो फम् जस्तो, एरो नै वारपार हुने ।’ शिवाकाटीले भने– ‘राखेपले आर्चरी खेलका लागि आवश्यक सामाग्री नै दिएन । अनि कसरी खेलाउने ? तैपनि एकै पटक सकिने खेल २ पटक गरी खेलाएका छौँ । पछाडि पूरानो बोर्ड राखेर कामचलाउ तरिकाले खेलाइरहेका छौँ ।’
गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकाली आर्चरी खेललाई सफलतापूर्वक सम्पन्न गर्न खटिइरहेका छन् । अहिले आर्चरी खेल यसरी चल्न सकेकै आर्चरी संघको सक्रियताले मात्रै हो । राखेपबाट केही नपाउँदा पनि उनीहरु भोक, थकान नभनी लागिरहेका छन् । रंगशालामै आइपुगेको सामान पनि उनीहरुले थाहा पाएका छैनन्, अनअफिसियलबाट थाहा भएपछि गाडीलाई ११ सय तिरेर ७ वटा बोर्डलाई खेलस्थलसम्म लगेको देखियो । कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन राज्यले आर्चरी खेलमा लगानी गरे राम्राे पदक भित्राउन सकिने बताउँछन् ।
अभाव र भद्रगोलबीच अहिले गण्डकीमा राष्ट्रिय खेलकुद चलिरहेको छ । खेलाडीहरुले उस्तै सास्ती भोगेका छन् भने राखेपले आवश्यक सामाग्री नदिँदा सम्बन्धित खेल संघका अधिकारीहरु पीडामा छन् । आर्चरी संघका महासचिव रमेश प्रसाद शिवाकोटी थप्छन्– ‘एक घण्टासम्म लगातार आतशवाजी गर्न बजेट हुने, खेलका लागि सामान किन्न बजेट नहुने ? राखेप स्वयंले दिने भनेर निर्णय गरेको सामाग्री अझै किन आएन ?’

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते