रीम राना मगरको मुक्तक संग्रह ‘बरनौली’ लोकार्पण

रीम राना मगरको मुक्तक संग्रह ‘बरनौली’ लोकार्पण

311788127_3304127663241236_9044954018070365151_n

पोखरा । मुक्तककार रीम राना मगरको पहिलो कृति ‘बरनौली’ मगर (ढूट) भाषाको मुक्तक संग्रह लोकार्पण भएको छ।

नेपाल मगर लेखक संघ, गण्डकीको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको सो कार्यक्रममा वन, वातावरण तथा भू–संरक्षण मन्त्री दिपक चर्ति मगरको प्रमुख आतिथ्यतामा लोकार्पण भएको हो।

मन्त्री चर्ति मगरले मगर भाषाको कृति विमोचन गर्न पाउँदा गौरवान्वित भएको बताए। उनले आगामी दिनहरुमा पनि साहित्कारहरुले यसरी नै आफ्नो भाषामा कलम चलाउनु पर्नेमा जोड दिए। पछिल्लो समय अन्य भाषाको प्रभाव तथा अग्रजहरुकै हेलचक्रयाईंले मगर भाषा लोप हुँदै गएको भन्दै आफ्नो भाषालाई माया गर्न र आउने पुस्ताहरुलाई सिकाउन आग्रह गरे। उनले साहित्य मार्फत आफ्नो भाषालाई माथि उठाउन इटा थप गरेकोमा लेखक राना मगरलाई धन्यवाद साथै सफलताको कामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का (बिखर्ची) ले आफ्नो भाषामा मुक्तक संग्रह ल्याएकोमा लेखकलाई बधाई तथा सुभ–कामना व्यक्त गरे। उनले हरेक जातजातिको भाषालाई शिक्षा क्षेत्र बाटै अगाडि बढाउनु पर्नेमा जोड दिए। हरेक विद्यालयमा मातृभाषा शिक्षण हुने हो भने नेपालका कुनै पनि जातिको भाषा लोप नहुने उनको भनाइ थियो।

विमोचित कृतिमाथि नेपाल मगर लेखक संघका, केन्द्रिय सदस्य रुद्र श्रीस मगरले समीक्षा गर्दै ‘बरनौली’ मा समावेश मुक्तकहरु सरल, सरस, बोधगम्य भएको बताए । मगर भाषामा लिखित यस कृतिमा हरेक मुक्तकको तल नेपाली भाषामा अर्थ समेत राखेकाले यो कृति हरकोहिले पढ्न, बुझ्न र सिक्न सकिने उनले बताए।

यस्तै, विमोचन समारोहमा बोल्दै कृतिकार राना मगरले आफूलाई कृति प्रकाशन गर्न हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले ‘बरनौली’ को अर्थ एक प्रकारको ठूलो टपरी भएको बताउँदै यस कृतिमा मगर जातिको भाषा सँगै संकृतिको पनि केही रुप झल्काउने कोशिस गरिएको बताए।

उक्त कार्यक्रममा नेपाल मगर लेखक संघ, केन्द्रिय सदस्यका भाषिक उपाध्यक्ष फुलकुमारी थापा मगर, मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष रुद्र हिटान मगर, नेपाल मगर संघ, भाषा संस्कृति विभाग सचिवालय सदस्य शिव थापा, लेकाली साहित्य संगम भिमादका अध्यक्ष नारायण कैलाश सिग्देल, शुक्ला साहित्य संगमका उपाध्यक्ष रामशरण गैह्रे, रेडियो नेपाल, पोखरा प्रसारण केन्द्रका कार्यक्रम प्रस्तोता गोविन्द थापा सिंजालीले शुभकामना व्यक्त गरेका थिए।

नेपाल मगर लेखक संघ, गण्डकीका अध्यक्ष धिरेन्द्र थापा (किसानी) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष खड्ग आले मगर र स्रष्टा परिचय सह सचिव दिपक सिंजाली मगरले गरेका थिए। कार्यक्रमको सञ्चालन नेपाल मगर लेखक संघ, केन्द्रका सचिव रुद्र सन्देश मगरले गरेका थिए।

सो अवसरमा कृतिकार राना मगरलाई कौडे मुखिया परिवार, पोखराको तर्फबाट अध्यक्ष डिल बहादुर रानाले भाङ्ग्रा लगाएर र आफन्तहरुले खादा तथा फूल लगाएर सम्मान गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds