पोखराका दुई स्थानमा एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु

पोखराका दुई स्थानमा एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु

20220903_130116

पोखरा । कास्कीको पोखरा महानगरपालिकाका दुई स्थानमा शनिबार एकै दिन एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु भएको छ ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशसँगको सहकार्यमा पोखरा–१४, शुभकामनाटोल र धौलागिरिमार्गमा एकैसाथ एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु गरिएको हो । शुभकामनाटोलमा नेपाल मगर संघ, छिनेडाँडा एकाइ समितिको व्यवस्थापन तथा धौलागिरिमार्गमा बागलुङ–पोखरा मगर समाजको व्यवस्थापनमा सो प्रशिक्षण सुरु गरिएको हो ।

शुभकामना टोलमा सुरु भएको मगर भाषा प्रशिक्षणको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मगर जाति इमान्दारिताको पर्याय भएको बताए । एक महिनाको अवधिमा दिलो ज्यान दिएर भाषा सिक्न आग्रह गर्दै मन्त्री श्रेष्ठले मगर समुदायले आफ्नो मातृभाषा जोगाउन विशेष ध्यान दिनुपर्ने बताए । त्यस्तै, धौलागिरिमार्गमा भएको प्रशिक्षणको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्थानीय तहमा पाठ्यक्रम बनाएर मातृभाषाको शिक्षा लागू गर्न सकिने बताए । स्थानीय तहलाई पाठ्यक्रम बनाएर शिक्षामा समावेश गर्दा मातृभाषा संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै उनले भाषा जोगाउन नयाँ पुस्तालाई मातृभाषा सिकाउनु आवश्यक भएको बताए ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानले स्थापित जाति, विस्थापित भाषा नाराका साथ मातृभाषा संरक्षण अभियान थालेको बताए । प्रशिक्षार्थीहरूलाई इमान्दारिता र चासोका साथ भाषा सिक्न आग्रह गर्दै श्रेष्ठले आफ्ना सन्तानलाई भाषा र संस्कार सिकाउनु जरुरी रहेको बताए । त्यसैगरी, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं मातृभाषा विभाग प्रमुख कृष्णप्रसाद पौडेलले आफ्नो मातृभाषा लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नु खुशीको कुरा भएको भन्दै गण्डकी प्रदेशभित्र बोलिने मातृभाषाको संरक्षणका लागि के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा प्रतिष्ठान चिन्तनशील रहेको बताए ।

नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशका सभापति पदमबहादुर पुनमगरले मगर भाषालाई नयाँ पुस्तामा हस्तान्तरण नगरे इतिहास बन्न सक्ने चिन्ता रहेको भन्दै मगर भाषा जोगाउन अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, उनले आवश्यकता अनुसार मगर भाषा कक्षा सञ्चालनलाई विस्तार गर्दै लैजाने बताए ।

शुभकामना टोलमा नेपाल मगर संघ, छिनेडाँडा इकाईका निवर्तमान अध्यक्ष ज्योतिराम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका– १४ का वडाध्यक्ष बोधराज कार्की, नेपाल राष्ट्रिय मगर संघकी केन्द्रीय सदस्य रीता रानामगर, मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, नेपाल राष्ट्रिय मगर संघ, कास्कीका सभापति महावीर थापामगर, नेपाल मगर संघ, छिनेडाँडा इकाईका सल्लाहकार एवं नेपाल मगर भूसाल संघका केन्द्रीय उपाध्यक्ष ज्यो. यामबहादुर थापामगर, सल्लाहकार एवं नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष बलवीर रानामगर, इकाई अध्यक्ष सु. दलबहादुर थापामगर, समाजसेवी कोपिला श्रीसमगरले बोलेका थिए ।

त्यसैगरी, धौलागिरि मार्गमा बागलुङ–पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगर, जैमिनी नगरपालिका– १०, बागलुङका निवर्तमान वडाध्यक्ष नरबहादुर थापामगर, समाजका सल्लाहकार भीमबहादुर श्रीसमगर, भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, समाजकी कोषाध्यक्ष कृष्णा पुनमगरले मगर भाषा प्रशिक्षणको आवश्यकता र महत्वबारे बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds