समाजवादी र माओवादीबीच एकताको लागि नै एउटै घोषणापत्रः उपमहासचिव खतिवडा

समाजवादी र माओवादीबीच एकताको लागि नै एउटै घोषणापत्रः उपमहासचिव खतिवडा

jagannath khatiwada

पोखरा । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकताकै लागि एउटै घोषणापत्र लिएर चुनावमा जाने निर्णय गरेको बताएका छन् ।

पोखरामा आज समाजवादी प्रेस संगठन, कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एकता विगतमा गरिएजस्तो गुपचुप नहुने पनि बताए । ‘हाम्रो नामलाई नै पुष्टि गर्न एकीकृत अभियानको थालनी गरेका हौं । हामी पार्टी एकताको प्रक्रियामा छौँ । हामी एकता गर्दैछौं । सौहार्दता वृद्धि र एजेण्डाहरु एकीकृत गर्नका लागि एउटै घोषणापत्र बनायौँ । अहिले चाहिँ आफ्नै चुनाव चिन्हमा चुनाव लड्छौँ ।’ उनले भने– ‘एकता संयोजन बनाउने गरी टीम बनाएका छौं । सम्भवतः आजभोलि एक दुई दिनमै एकता संयोजन समितिको घोषणा पनि हुनसक्छ । केही बुुँदे ड्राफ्ट आउला ।’

विगतकै अभ्यास बमोजिम फेरि एकता प्रक्रिया अघि बढाएको भन्दै प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले तर यो थालनी सफल हुन्छ हुन्न भन्ने कुरा अर्को पक्षमा भर पर्ने बताए । ‘पहिले केपी ओलीले गरेजस्तो गुपचुप एकता हुँदैन । हिजो झैं लुकिछिपी सत्ता साझेदारी गर्न, चुनाव जित्न, प्रधानमन्त्री पदमा सौदावाजी, आलोपालोका लागि हिजोको एकता प्रक्रिया थियो । तर, अबको एकता विचार संगठनात्मक एकता भएकाले हिजो र आजको फरक छ ।’ खतिवडाले भने ।

उनले थपे – ‘कार्यकर्ता र जनताको बीचमा लगेर खुल्ला बहस, छलफल, विचार विमर्श गरेर, उनीहरुको चासो सुनेपछि मात्रै एकीकरणको दिशा सही ढंगले अघि बढ्छ । हाम्रो पार्टीको स्थापना, पुनर्गठनको उद्देश्य र पहिलो राजनीतिक प्रस्ताव नै देशका सबै बामपन्थीलाई एकतावद्ध गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु हो । त्यसैले बामपन्थी दलहरुसँग एकता सहकार्य गरेका हौँ ।’

सिट बाँडफाँड बारे कार्यदलमा सहमति नभए शीर्ष नेताले टुंग्याउने

उपमहासचिव खतिवडाले सिट बाँडफाँड बारे कार्यदलमा सहमति नभए शीर्ष नेताले टुंग्याउने बताए । उनले भने – ‘कार्यदलको धेरै काम सकिएको छ । अब मूख्य कुरा सिट संख्या बाँडफाँड हो । कार्यदलले नसके शीर्ष नेताले टुंगो लगाउनेछन् । त्यसपछि निर्वाचन क्षेत्रको टुंगो लगाउनेछौँ ।’

उनले गठबन्धनबाटै चुनाव लड्ने बताउँदै अबको ५ वर्ष गठबन्धनकै सरकार बन्ने उल्लेख गरे । ‘सहकार्यमा बहुमतको सरकार बन्छ । एकल पार्टीको बहुमतीय सरकार पनि बनाएका नै हौँ । चलेन ।’ उपहासचिव खतिवडाले घुमाउरो भाषामा कुनै दलको पनि एकल बहुमतको सरकार नबन्नेतर्फ इंगित गरे । यसको आशय, गठबन्धनका दलहरु काँग्रेस एक्लैको बहुमत पुग्ने गरी सिट दिन चाहँदैन भन्ने नै हो ।

खतिवडाले पार्टी पुनर्गठन गर्दागर्दै समाजवादी राष्ट्रिय पार्टी रहेको र स्थानीय चुनावको मत हिसाव गर्दा ९ लाख बढी मत पाएकोमा उत्साहित रहेको बताए ।

राष्ट्रपतिले नागरिकता विधेयकका सम्बन्धमा अब चाल्ने कदमबारे सोधिएको प्रश्नमा उनले राष्ट्रपति संविधान अनुसार नै चल्नुपर्ने बताए । ‘संवैधानिक हिसाबले राष्ट्रपतिले विधेयका सवालमा सुझाव लिने दिने जे गर्नुभएको छ । संवैधानिक प्रावधान अनुसार नै गर्नुभएको छ । अन्यथा टिप्पणी छैन । अब पनि संवैधानिक व्यवस्था अनुसार नै गर्नुहुन्छ भन्ने छ ।’

अर्को प्रसंगमा उनले आरजु देउवा राणा भारत भ्रमणमा गएको आफूलाई मन नपरेको बताए । ‘मलाई व्यक्तिगत रुपमा मन परेको छैन । चुनावको मुखमा कुनै पनि नेता विदेश भ्रमणमा जाने, सौहार्दता विकास गरेँ भन्ने चीज मलाई राम्रो लाग्दैन । तथापी, कुनै नियम, कानुन हैन, आफैले सोच्ने कुरा हो । हाम्रो देशमा वैदेशिक हस्तक्षेप छ । नेपाली जनता राष्ट्रिय स्वाभिमानका सवालमा सचेत छन् । हामीले अरुले गर्ने भ्रमणलाई महत्व दिएका छैनौं ।’ – खतिवडाले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds