अब मुटुकाे शल्यक्रिया पाेखरामै हुने, काठमाण्डाै जान नपर्ने

अब मुटुकाे शल्यक्रिया पाेखरामै हुने, काठमाण्डाै जान नपर्ने

Cath Lab

अब पाेखरेलीहरू मुटुकाे शल्यक्रियाका लागि काठमाण्डाै धाइरहनु नपर्ने भएकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु भएको छ । रोटरी इन्टरनेशनलको सहयोगमा करिब सात करोड लागतमा अस्पतालमा क्याथ ल्याब स्थापना गरिएसँगै मुटुका रोगीहरूले अस्पतालबाट सहज रूपमा उपचार पाउने भएका हुन् ।

अस्पताल परिसरमा आयोजित क्याथ ल्याब हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले क्याथ ल्याबको सञ्चालनसँगै मुटुका बिरामीहरूले अस्पतालबाट सहज रूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले मेशिन स्थापनासँगै मुटु उपचार केन्द्रले दिने उपचार सेवामा कुनै कमीकमजोरी हुन नदिन अस्पताल लागि पर्नुपर्ने बताए ।

‘हिजोका दिनमा मुटु रोगका बिरामीले हेलिकप्टर चार्टर गरेर काठमाण्डौ उपचारको लागि जानु पर्ने अवस्था थियो । कतिपयले समयमै उपचार नपाउँदा ज्यान नै गुमाउनुपर्ने अवस्था थियो । मलाई विश्वास छ, अब यस अस्पतालले दिने उपचार सेवाले त्यस्तो अवस्थाको अन्त्य हुनेछ’, मन्त्री खापुङले भने ।

सरकारी अस्पतालमा प्राप्त हुने अत्याधुनिक यन्त्र उपकरणहरू बिरामीको उपचारमा प्रयोगमा ल्याउने नगरेको, त्यस्ता यन्त्र उपकरणहरूलाई पर्दाले ढाकेर राखेर जनतालाई निजी क्लिनिक र अस्पतालमा महँगो मूल्य तिरेर उपचार गराउन बाध्य पार्ने गरेको भन्ने आरोप लाग्ने गरेको भन्दै मन्त्री खापुङले पोखरामा त्यस्तो हुन नदिन सचेत गराए ।

जनतालाई सहज ढंगले समयमै उपचार सेवा प्रदान गर्नको लागि अस्पतालमा आवश्यक दरबन्दी, स्रोत साधनको आवश्यकता लगायतका विषयमा माग छन् भने खुलेर राख्न समेत अस्पताल प्रशासनलाई मन्त्री खापुङले आग्रह गरे ।

पोखरा महानगरका मेयर धनराज आचार्यले क्याथ ल्याब सञ्चालन हुनु खुसीको कुरा भएको बताउँदै एक एक डलर जुटाएर सात करोडको मेशिन अस्पताललाई हस्तान्तरण गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । अस्पतालमा आउने सर्वसाधारण जनताले सहज रूपमा सेवा प्राप्त गर्ने हिसाबले जुनसुकै तवरबाट पोखरा महानगर अस्पतालसँग सहकार्य गर्न तयार रहेको उनले बताए । भूगोलका हिसाबले पोखरा देशकै ठुलो महानगर भएकाले र अस्पताल सोही भूगोलमा रहेको भन्दै मेयर आचार्यले अस्पतालले आफू संघ सरकारको मातहतमा छु भनेर महानगरलाई कम आँकलन नगर्न पनि ध्यानाकर्षणा गराए ।

‘म आगामी दिनमा हस्पिटल प्रशासनसँग महानगरपालिकासँग पनि मिलेर सहकार्य गरेर जान पनि आग्रह गर्छु, कमी कमजोरी कहीँ कतै कसैबाट भएका छन् भने पनि तिनलाई मिलाऊँ, इगनोर गर्ने काम नगरौँ र अण्डरइस्टिमेट गर्ने काम पनि नगरौँ, हामी सबै मिलेर काम गर्ने हो’, मेयर आचार्यले भने ।

अस्पताल परिसरमा सेवाग्राहीहरूले सेवा लिने क्रममा घन्टौँ लाइन बस्ने स्थिति रहँदा भिड बढेको तर्फ संकेत गर्दै उनले जनताले सहज ढंगले सेवा पाउने अवस्थाको सिर्जना गर्न आन्तरिक व्यवस्थापनमा ध्यान दिनुपर्ने र त्यस्ता कुराहरूमा महानगर सहकार्य गर्न तयार रहेको बताए ।

सरकार एक्लैले केही गर्न नसक्ने तर सबै पक्ष मिलेर काम गर्ने हो भने धेरै गर्न सकिने उनको तर्क थियो । आफूहरू सबै जनस्वास्थ्यको विषयमा एक ठाउँमा उभिन आवश्यक रहेको उनले बताए ।

रोटरी इन्टरनेशनल वर्ष २०२१/०२२ का अन्तर्राष्ट्रिय अध्यक्ष शेखर मेहताले आफूलाई पोखरा अत्यन्तै मन पर्ने सहर भएको भन्दै पोखराको सरकारी अस्पतालमा क्याथ ल्याब मेशिन जडान हुँदा अत्यन्तै खुसी भएको बताए ।

स्वास्थ्य मन्त्री खापुङ, मेयर आचार्य र रोटरी इन्टरनेशनल वर्ष २०२१/०२२ का अन्तर्राष्ट्रिय अध्यक्ष मेहताले बिहीबार संयुक्त रूपमा उद्घाटन गरेको क्याथ ल्याब कक्ष मेहताले मन्त्री खापुङलाई र मन्त्री खापुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

आईजिएस ३२० अप्टिमा ब्राण्डको क्याथ ल्याबमा जडित आधुनिक अमेरिकी उपकरण एन्जिओग्राम, एन्जियोप्लाष्टि र मुटुको शल्यक्रियाका लागि आवश्यक जाँच गरिने रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष तथा रोटरी मुटु उपचार केन्द्र परियोजनाका संयोजक बाबुराम बरालले जानकारी दिए ।

संयाेजक बरालले क्याथल्याबबारे यसरी जानकारी गराएका छन्ः

यहाँका सबै रोटरी क्लबको संयुक्त प्रयासमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्याथ ल्याब स्थापना र जडान गरियो  । क्याथ ल्याब मुटुको समस्या भएकाहरुको जाँचका लागि गएको माघमा जडान भएपछि अब यसको औपचारिक उद्घाटन गरिएको छ । मुटुको उपचारका लागि जडान गरिएको क्याथ ल्याबबाट एन्जिओग्राम, एन्जियोप्लास्टी र मुटुको शल्यक्रियाका लागि आवश्यक जाँच गरिन्छ । यो आधुनिक अमेरिकी उपकरण हो । जो आइजिएस ३२० अप्टिमा ब्रान्डको रहेको छ ।

पोखरामा क्याथ ल्याब जडान गर्नुको एउटै उद्देश्य सबैका लागि मुटुको समस्याबाट ज्यान जोखिममा पर्न नदिन र स्वस्थ बनाउनकै लागि हो । यहाँबाट कयौं रकम खर्च गर्न काठमाडौं वा बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न नै हो । सबैभन्दा ठूलो कुरा नागरिकको स्वस्थ्यकै लागि हो । सबै प्रदेशबासीलाई सर्वसुलभ सेवा दिनका लागि क्याथ ल्याब जडान भई अहिले उद्घाटनको चरणमा आईपुग्नु गौरवको कुरा पनि हो ।

पश्चिमाञ्चल अस्पतालमा अहिले मुटु रोग विशेषज्ञका रुपमा ३ डाक्टर रहेका छन् । सबै कुराको काम हुने भए पनि अप्रेसनका लागि विशेषज्ञ सर्जनको लागि तत्काल अस्थायी रूपमा व्यवस्था गरिएको छ । तर, यसको दीर्घकालीन व्यवस्थाको खाँचो छ । यसको व्यवस्या छिट्टै होला भन्ने आशा गरौं ।

यस क्याथ ल्याब स्थापनाका लागि संयोजकको भूमिकामा रहेको नाताले अब पोखरालाई संघीय राजधानीपछिको सुविधा सम्पन्न अस्पताल र अध्ययन केन्द्र बनाउनका लागि यो कार्यले मियोको रुपमा काम गर्ने आवश्यक्ता बोध गरिएको छ । अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीको पढाइ सुरू भएको छ भने डिएम, एबिबिएसको पढाइपछि सुरु हुने लक्ष्य छ । यसलाई हामीले स्वास्थ्य उपचार केन्द्रका रुपमा मात्रै नलिएर स्वास्थ्य क्षेत्रको अध्ययन, अनुसन्धानको केन्द्रको रुपमा पनि लिएका छौं ।

७ क्लबको तर्फबाट समितिमा बाबुराम बराल, माधवप्रसाद सिग्देल, विनोदप्रसाद हेज्यू, विश्वप्रसाद कर्माचार्य, बाबुराम पाठक, जयराम पौडेल र अब्राहम खान छन् । यस्तै, रोटरी क्लब अफ पोखरा सहयोग समितिमा ज्ञानेन्द्रप्रसाद सिग्देल, रामचन्द्र थापा, उदीप श्रेष्ठ, मीनु श्रेष्ठ कुँवर, राजेन्द्र श्रेष्ठ, जितेन्द्र सिग्देल, विनयकुमार श्रेष्ठ, कपिलकिरण श्रेष्ठ र सल्लाहकार किरणलाल श्रेष्ठ छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds