पोखरा । कास्कीको मादी गाउँपालिका, १ सिक्लेसका देवीजंग गुरुङ २०७४ सालमा वडाध्यक्षमा पराजित भए । त्यतिबेला उनी आफैलाई पढाएका शिक्षक सुरज गुरुङसँग १२६ मतले हारेका थिए ।
यसपटक १२ वडामध्ये सर्वाधिक १६५ मतान्तरले नेपाली कांग्रेसबाट देवीजंग वडाध्यक्ष निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उमरबहादुर गुरुङलाई हराएर वडाध्यक्ष बनेका हुन् । देवीजंगले ८ सय २८ मत पाउँदा उमरले ६ सय ६३ मत पाए । ३० वर्षीय देविजंग मादीकै कान्छा वडाध्यक्ष हुन् । मादी १ नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङको वडा हो । २०५४ सालदेखि एमालेले जितेको ठाउँ यसपटक कांग्रेसले जितेको हो । उनी कांग्रेस मादी गाउँपालिका कमिटी सचिव हुन् ।
वडाध्यक्ष देवीजंगले जनताको दैनिकीसँग जोडिएका विषय आफ्नो विशेष प्राथमिकता हुने बताए । पाँच वर्षमा पर्यटन विकासका योजना ल्याउने, यातायातको सहज व्यवस्था गर्ने उनले सुनाए । दलित समुदायका युवा–युवती आर्थिक अभावले बीचमै पढाइ छोड्ने गरेका छन् । देवीजंग उनीहरुलाई अध्ययनमा निरन्तर गराउन चाहन्छन् । ‘दलित समुदायको जो उच्च शिक्षा ब्याच्लर पढ्न चाहन्छ । वडाबाट छात्रवृत्तिको व्यवस्था गर्छु,’ उनले भने ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई टोलस्तरमा पु-याउने योजना देवीजंगले बनाएका छन् । सोँदा, खिलाङ, नयाँगाउँलगायत गाउँका बासिन्दा भत्ता लिन सिक्लेस जानुपर्छ । त्यो असुविधा हटाएर टोलटोलमा गएर भत्ता दिने व्यवस्था गर्ने देवीजंगको योजना छ । ‘ठूलो योजना केही छैन । जनताको दैनिकी मुख्य जोड हो । भौगोलिक हिसाबले हाम्रो वडा ठूलो छ । टाढाबाट सिक्लेस नै आउनुपर्ने बाध्यता छ,’ उनले आफ्नो योजना सुनाए, ‘सामाजिक सुरक्षा बैंकसँग सहकार्य गरेर सबै गाउँका टोलटोलमा बाँड्ने योजना छ ।’
प्रसिद्ध पर्यटकीय गाउँ सिक्लेसदेखि मनाङसम्म पदमार्ग विकास गर्न प्रयास गर्ने देवीजंगले सुनाए । ‘सिक्लेसदेखि मनाङसम्मको पदमार्ग विकासको योजना छ,’ उनले थपे, ‘माछापुच्छ्रे गाउँपालिकासँग जोडिने टिइँ भन्ने ठाउँ छ । त्यहाँ जाने पदमार्गलाई प्रवद्र्धन गर्ने योजना छ । त्यहाँबाट ५/७ वटा हिमाल मज्जाले देख्न सकिन्छ ।’
पछिल्लो तीन वर्षयता चर्चामा रहेको कपुचे हिमताल पनि यही वडामा पर्छ । सिक्लेसबाट कपुचे जान ६ देखि ८ घण्टा हिँड्नुपर्छ । ६ घण्टाबीचमा कुनै बास बस्ने ठाउँ र टि सप छैन । पर्यटकलाई सहज हुने गरेर रुटको कुनै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने देविजंगको योजना छ ।
सिक्लेसदेखि कपुचेसम्म घोडा यात्रा गराउने योजना गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बनाएका छन् । ‘कपुचेमा व्यवस्थित होटल छन् । अब त्यतिले पुग्दैन, त्यसैले बीचमा पनि केही पूर्वाधार बनाउनुपर्छ,’ वडाध्यक्ष देवीजंगले थपे, ‘सिक्लेसबाट कपुचे जान गाउँपालिकाले निश्चित शुल्क लिएर घोडा यात्रा गर्ने गाउँपालिका अध्यक्षको योजना छ । यो काम पनि हुन्छ ।’
रेडियो अन्नपूर्ण, कास्की आवाज पत्रिकामा काम गरेको अनुभव देवीजंगसँग छ । उनी सिक्लेस युवा क्लबसहित गुरुङ समुदायसम्बद्ध संघसंस्थामा पनि आबद्ध छन् । कास्कीका यज्ञबहादुर थापा कानुनमन्त्री हुँदा उनी सचिवालयमा बसेर काम गरेका थिए ।
मादी १ मा कांग्रेसले प्यानलै जितेको छ । खुला सदस्यमा प्रेमबहादुर गुरुङ, खरजङ गुरुङ, महिला सदस्यमा माया भुजेल, दलित महिला सदस्यमा जितकुमारी सुनार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसकै देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ पाँच वर्षलाई निर्वाचित भएका छन् ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते