‘गठबन्धनले भोटले जित्ने होइन, मतदान गरेर सुत्न नजानू, आँखा झिमिक्क नगरी मतपेटिका कुर्नुहोला’

‘गठबन्धनले भोटले जित्ने होइन, मतदान गरेर सुत्न नजानू, आँखा झिमिक्क नगरी मतपेटिका कुर्नुहोला’

kp-oli-8

पोखरा । पाँच दलीय गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमालेले पोखरा सोमबार चुनावी आमसभा गरेको छ । यही ठाउँमा गठबन्धनले आइतबार चुनावी सभा गरेको थियो ।

मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङसहित ३३ वटा वडामै एमालेलाई जिताउन अपील गर्दै अध्यक्ष केपी शर्मा ओली पोखरा आए । एमालेले पोखरामा गठबन्धनभन्दा धेरै कार्यकर्ताहरु जम्मा गरेर शक्ति प्रदर्शन ग¥यो ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना नरहेकाले मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ओलीले वैशाख ३० गते सूर्यमा मतदान गरेपछि काम सकियो भनेर सुत्न जाने हैन भन्दै मतपेटिकाको अवस्था ख्याल गर्न मतदाता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘गठबन्धनले भोटले जित्ने होइन । त्यसैले यिनीहरुले मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन् । के–के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न । – अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँज्दै थपे – ‘पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ यहाँ त पाँचवटा बाँदरहरु छन् । मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु हुन्न ।’

उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहीत वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए । ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ ओलीले भने, ‘तपाईंका सहयोग एमालेलाई चाहिँदैन । तटस्थ निर्वाचन गराउनुस् ।’

ओलीले आफ्नो पार्टीले आउँदो संसदीय निर्वाचनमा प्रदेश र संघमा बहुमत ल्याउने निश्चित भएको पनि बताए । एमालेले देशप्रति बेइमानी नगर्ने र जनतालाई धोका नदिने भएकाले आउँदो संसदीय चुनावमा बहुमत ल्याउने निश्चित भएको उनको भनाई छ ।

‘संसदीय निर्वाचन (प्रदेश र संघ) मा एमालेले बहुमत ल्याउने निश्चित छ । किनभने एमालेको लहर देशव्यापी रूपमा छ । एमालेले कुनै गल्ती गर्नेवाला छैन, ’उनले भने, एमालेले देशप्रति बेइमानी गर्नेवाला छैन । जनतालाई धोका दिनेवाला छैन । ’

उनले एमालेको जनलहर अझै बढ्दै जाने बताए । ’एमालेको यो जनलहर घट्नेवाला छैन बढ्दै जान्छ । र, एमालेले आउँदो आम निर्वाचनमा बहुमत ल्याउँछ र बहुमत ल्याएर सरकार बनाउँछ ।’

‘काँग्रेसीले शहरैपिच्छे धम्की सहनुपरेको छ’

अध्यक्ष ओलीले गठबन्धनमा कांग्रेसको बिजोक भएको टिप्पणी गरे । गठबन्धनकै नेताले धम्क्याउँदा कांग्रेस सुनेरमात्रै बस्नुपरेको अध्यक्ष ओलीले बताए ।

‘गठबन्धनको कम्ता बिजोग भएको छ ? सभामा नै उहाँहरूको विभिन्न प्रकारका बोली आएको छ । एउटाले चितवनमा धम्क्याउँछ, एउटाले पोखरामा धम्क्याउँछ । कांग्रेसले घुर्की सुन्ने,’ उनले थपे, ‘भोट हालिदिनुपर्ने अनि धम्की खानुपर्ने । भरतपुरमा प्रचण्डको धम्की खानुपर्ने, पोखरामा माधव नेपालको धम्की खानुपर्ने ।’

शीर्ष नेताले गठबन्धन गरेपनि तल्लो तहमा सत्ता गठबन्धनभित्र तीव्र असन्तुष्टि रहेको दाबी गर्दै ओलीले ठूला नेताकै कारणले कतिपय ठाउँमा यसपटक पनि काँग्रेसले रुख चिन्हमा भोट हाल्न नपाउने अवस्था रहेको बताए ।

‘मुख्य नेताबाहेक काँग्रेसका अन्य नेताप्रति मेरो सहानुभूति छ । भोट हाल्न नपाउँदा कसरी मन थामेका होलान् ?’ ओलीले भने, ‘पहिले पनि चितवनमा भोट हाल्न पाएनन् । फेरि यसपल्ट पनि पाएनन् ।’

उनले चितवनमा छोरीलाई जिताएनौँ भने म दुर्घटना गराइदिन्छु भनेर प्रचण्डले धम्की दिइराखेको जिकिर गर्दै चर्को आलोचना गरे । ‘खुरुक्क मेरो छोरीलाई जितायो भने म खुसी हुन्छु रे । कस्तो गज्जब छ’, प्रचण्डले भने, ‘जिताए १५–२० वर्ष गठबन्धन गरिदिने रे ।’

‘गणेशमान र किसुनजीले त्यसै काँग्रेस छाड्नुभएको होइन’

नेकपा एमालेका अध्यक्ष ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताए । उनले काँग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिम समयमा पार्टी छाडेको बताए ।

‘कृष्णप्रसाद भट्टराई (किसुनजी) ले यत्तिकै कांग्रेस पार्टी छाडेका होइनन् । जीवनको उत्तरार्द्ध कालमा पार्टी छाड्नुभयो । नेता गणेशमान सिंहले पनि यत्तिकै पार्टी छाड्नु भएको होइन,’ ओलीले भने, ‘२००३ सालमा भद्रगोल जेल तोडका नेताले यत्तिकै हाँस्दै हाँस्दै, नाच्दै नाच्दै पार्टी छाड्नुभयो होला ?’

अहिले बीपी कोइराला भएको भए पनि कांग्रेस छाड्ने ओलीको टिप्पणी थियो । गठबन्धनका नेताहरु आफ्ना शाखा सन्तानलाई भोट नदिए मुलुक दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै ओलीले कांग्रेसको बेहाल भइरहेको टिप्पणी गरे ।

‘गठबन्धनलाई सेतीमा सलल बगाइदिनुपर्छ’

एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई सेती नदीमा बगाइदिनुपर्ने बताए । ‘पाँच दलीय गठबन्धनलाई पराजित गरेर राष्ट्रनिर्माणको महाअभियानमा लाग्दैछौं,’ उनले भने, ‘टुडो भाँचिने मसी नभएको कलम जस्तो हो र, यस्ताका विरूद्ध एक जुट भएर सेतीमा सलल गरिदिनुपर्छ।’

ओलीले पोखरा महानगरमा एमालेका उम्मेदवार जिताउन आग्रह गर्दै विकासको जिम्मा पार्टीले लिने दाबी गरे। ‘उम्मेदवार जिताउने जिम्मा तपाईँको, विकासको जिम्मा एमालेको’ उनले भने, ‘यही सन्देश गाउँ गाउँमा टोल टोलमा यही भनेको छ एमालेको अध्यक्षले भनेर पुर्‍याइदिनुस्।’

‘गठबन्धन सरकार झाडीबाट आएको हो’

ओलीले यो सरकार जनताको आदेशले नभई परमादेशले बनेको भन्दै वैशाख ३० गतेपछि पुनः जनताको आदेशमा एमालेले सरकार बनाउने दाबी गरे । ‘अब जनताको बल देखाउने बेला आएको छ, वैशाख ३० पछि एमालेको नाममा तपाईहरु (जनता)को सरकार हुनेछ ।

उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन् । ‘संसदले सरकार जन्माउँछ । गठबन्धन सरकार झाडीबाट आएको हो । परमादेशको गठबन्धन हो । कहाँबाट कसले फालेको हो थाहा छैन । जनताले यस्तालाई साथ दिँदैनन्,’ उनले भने ।

अमरसिंह मैदान भरिने गरी भएको उपस्थितिले पोखरामा परिणाम देखाइसकेको ओलीको भनाई छ । ‘एमाले वास्तमवमा विजय भएको छ । एउटा कर्मकाण्ड वैशाख ३० गते पु¥याउनु छ । भोट हाल्ने विधि पु¥याउनु छ,’ अध्यक्ष ओलीले थपे, ‘जनताले निर्वाध ढंगले मतदान गर्ने स्थिति बनाउनुपर्छ । मतको रक्षा सजक र सुदृढ ढंगले गर्नुपर्छ ।’

उनले नेपालमा आफूले बोलेको बुझ्नेहरू निकै कम रहेको बताए । आफूले शास्त्रको कुरा गर्दा बुद्धिजीवीले त्यसलाई उखान–टुक्का भन्ने गरेको सुनाए । ‘नेपालमा मैले बोलेको बुझ्ने बुद्धिजीवी कम छन् जस्तो लाग्छ । मैले कहाँ शास्त्रका कुरा गर्छु उनीहरू त्यसलाई उखान टुक्का भन्छन्,’ ओलीले भने, ‘कांग्रेसका नेताले भन्नु त ठीक हो किनकि उनीहरूले बुझ्दैनन् । अरु बुद्धिजीवी छन्, जसले मैले बोलेको कुरालाई उखान टुक्का भन्छन् ।’

‘वैशाख ३० पछि को सक्किनेछन्, जनताले बताउँछन्’

ओलीले ३० वैशाखमा जनताले नै एमालेको शक्ति देखाउने भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि जवाफ फर्काए । एमालेको काँधमा चढेर प्रधानमन्त्री भएको मान्छे एमालेलाई नै सिध्याउने भन्दै हिँडेको ओलीको भनाई छ ।

‘हिजो बोलेको कुरा सुन्नुभयो । एमालेको काँधमा चढेर प्रधानमन्त्री भएका मान्छे एमालेलाई सिध्याउने भन्दै थिए । कांग्रेसलाई घुर्काउँदै थिए । वैशाख ३० गते परिणाम आएपछि देशमा को सक्किएछ, को खत्तम भएछ जनताले बताउँछन्,’ उनले भने– ‘१५ वर्ष एमालेको रस चुसेर गएका, काँग्रेसलाई धम्क्याएर ओलीको जस्तो हालत हुन्छ भनेर । ओलीको जस्तो हालत भए त कस्तो पो हुन्थ्यो ?’

‘गठबन्धनको सभामा हाम्रा वडाध्यक्ष र सदस्य उम्मेदवारभन्दा अल्लि बढी थिए’

एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले आइतबार सोहि स्थानमा गरेको चुनावी सभामाथि पनि व्यंग्य गरे । पोखरामा एमालेबाट वडाध्यक्ष र वडासदस्य उम्मेदवारभन्दा पाँच दलीय गठबन्धनको सभाका सहभागी थोरै बढी भएको भन्दै उनले व्यंग्य गरेका हुन् ।

‘तपाईंहरू बुझ्ने हुनुहुन्छ त्यसैले यहाँ आउनुभएको छ । नभए त यो सभा हिजोको पाँच दलको गठबन्धनको सभाजस्तै हुन्थ्यो होला,’ ओलीले भने, ‘हाम्रा वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारभन्दा अल्लि बढी थिए।’

‘पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ? बाउबाट आएको अंश हो ?’

ओलीले काँग्रेस नेत्री एवं देउवा पत्नी आरजु राणाले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना पनि गरे ।

बजेट कसैको खल्तीको नभएको भन्दै ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिए । ओलीले कटाक्ष गर्दै भने, ‘पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ? बाउबाट आएको अंश हो ?’

ओलीले काँग्रेसको नीति २–४ जनालाई मलेसिया पठाइदिने रहेछ भन्दै कटाक्ष पनि गरे । आरजु राणाले २–४ जनालाई सित्तैमा मलेसिया पठाइदिन सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘काँग्रेसको नीति मलेसिया पठाइदिने रहेछ । भित्रभित्रै आफ्नै मेनपावर पनि होला’, उनले कटाक्ष गरे, ‘मलेसिया सलेसिया होइन, हामी देशभित्रै रोजगारी र तालिम दिन्छौँ । रोजगारी दिनेमात्रै होइन उद्यमी र व्यवसायीकरणमा पनि जोड दिन्छौँ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds