पोखरा । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमाले आम–नागरिकले भनेकोभन्दा बढी काम गर्ने पार्टी भएको दावी गरेका छन् । आइतबार पोखरा ६ मा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले आम नागरिकको समस्यालाई उनीहरुले दर्साउनुभन्दा अगाडि समाधान गर्ने पार्टी भएको दावी गरे ।
पार्टी संगठन विभाग प्रमुखसमेत रहेका अधिकारीले मर्दी नदीको मुहानको पानी पोखरामा शुद्धीकरण गरेर मात्र ल्याउनुपर्छ भन्ने अडान आफूले राखेको दावी गरे । ‘त्यो समयमा अन्य विपक्षी दलका नेताले मर्दीको पानी पोखरामा शुद्धीकरण नगरेर नै लैजाने भनिरहेका थिए,’ उनले भने, ‘मेरै पहलमा शुद्धीकरण गरेर ल्याउने सहमति भएको थियो ।’
पोखराको लेकसाइडलाई समेत उनले सफा र स्वच्छ बनाउने पहल गर्ने बताए । ‘पोखराको फेवातालमा अब माछापुच्छ्रेको छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं,’ उनले भने, ‘तालमा रहेका फोहोरलाई सफा गर्ने हाम्रो लक्ष्य हो ।’ भेलामा पूर्वमन्त्री अधिकारीले विपक्षी दललाई कुनै भिजन नभएको पार्टीको आरोप लगाए ।
अहिले भएको ५ दलीय गठबन्धनलाई लक्षित गर्दै पूर्वमन्त्री अधिकारीले उनीहरु टाउको नभएको मुर्कट्टा भएको बताए । ‘५ दलीय गठबन्धनसँग विकास तथा योजनाको कुनै भिजन छैन । उनीहरु टाउको नभएको मुर्कट्टा हुन्,’ उनले भने । नेता अधिकारीले अबको सरकार एमालेको नै हुनुपर्ने समेत बताए ।
अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यथाशीर्घ सञ्चालन गर्ने बताए । अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा सञ्चालनमा ल्याउने आफूहरुको योजना रहेको समेत उनले बताएका छन् ।
भेलामा एमालेका तर्फबाट पोखरा महानगरपालिकामा मेयर उमेद्वार कृष्ण थापाले ५ दलीय गठबन्धनले मुलुकलाई २०५९ सालमा धकेल्न खोजेको तर एमालेले रोकेको बताए । भेलामा उमेद्वार थापाले आफूले जारी गरेको घोषणापत्र अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाए । थापाले लेकसाइडलाई २४ घण्टा नै खुल्ला गरेर विश्वकै पर्यटकीय हब बनाउने बताए ।
पोखराको जिरो किमीबाट कोत्रेसम्म ६ लेनको सडक निर्माण गर्ने, फेवातालाई शुद्धीकरण गरेर व्यवस्थित गर्ने, पोखराको खानेपानी आयोजनालाई मेलम्चीभन्दा ठूलो आयोजना बनाउने, पोखराको सार्वजनिक स्थानमा पार्क निर्माण गरिनेसमेत उनले बताए ।
पार्टीको तर्फबाट उपमेयरको उमेद्वार मञ्जुदेवी गुरुङले आम मतदाता तथा पोखरेलीको आर्शीवादले आफू फेरी उपमेयरको पदमा आएको बताइन् । न्यायिक समितिको प्रमुख भएको नाताले पोखरामा धेरै समस्या समाधान भएको बताइन् । ‘न्याय नपाए गारेखा जानु भन्ने भनाई प्रचलित थियो । तर अब न्याय नपाए पोखरा जानु भन्ने गरिन्छ,’ उनले भनिन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश सांसद पहारी राजीव पहारी, राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय सदस्य भरत पहारी, वडाध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराई, साविक पोखरा नगरपालिकाका पूर्व उपमेयर कुलबहादुर गुरुङलगायतले बोलेका थिए । भेलाको सञ्चालन पार्टीको वडा सचिव उमा भण्डारी रेग्मीले गरेकी थिइन् भने समापन पार्टी वडाध्यक्ष बलराम पहारीले गरेका थिए ।
भेलामा थप उर्जा प्रदान गर्न राष्ट्रिय जनसांस्कृतिक महासंघका टोलीसहित लोकगायक प्रजापति पराजुली, तारापति सुवेदी, सरला पाण्डे, लक्ष्मी सुनार, जीवन दाहाल, माया गिरी, बुद्धि खनाल, जगन गुरुङ र शीतला अधिकारी लगायत आ–आफ्नो प्रस्तुति दिएका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने