पोखरा । नेपाललाई माया गर्ने सबै नेपालीको आस्था नेकपा एमालेमा रहेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने, विदेशीसँग लम्पसार नपर्ने, आफ्नो स्वाभिमानलाई उँचो राख्ने राष्ट्रवादी पार्टी नेकपा एमाले रहेकाले राष्ट्रवादी नागरिकको आस्था पनि एमालेमा नै रहेको उनको ठोकुवा छ ।
नेकपा एमाले पोखरा वडा नं. ८ को वृहत चुनावी भेलालाई सम्बोधनका क्रममा प्रमुख आमन्त्रित व्यक्तित्व गुरुङले परमादेशबाट स्थापित यो सरकारलाई ढाल्न र अपवित्र गठबन्धनलाई तहसनहस पार्न नेपाली जनताले सूर्यमा भोट हाल्ने दाबी गरे ।
‘देश समृद्ध बनाउने एमाले हो । नेपालीलाई सुखी राख्ने एमाले हो । देश बचाउने एमाले हो । त्यसैले एमालेलाई हरेक तहको निर्वाचनमा भोट हाल्नुपर्छ ।’ पार्टीका प्रचार विभाग प्रमुख गुरुङले भने – ‘स्थानिय तहमा झन् एमाले जिताउनै पर्छ । गाउँगाउँमा एमालेको नीति स्थापित गर्न एमाले जिताउनुपर्छ । गाउँ समृद्ध बने मात्रै देश समृद्ध बन्ने भएकाले गाउँ गाउँको सरकार पनि एमालेकै हुनुपर्छ । त्यसैले अहिले सूर्यमै लहरै भोट हाल्नुपर्छ ।’
पाँच दलीय गठबन्धन एकातिर र सिंगो एमाले एकातिर रहेपनि जनताले राष्ट्रघात विरुद्ध राष्ट्रवाद, असत्य विरुद्ध सत्य, अन्याय विरुद्ध न्यायको तराजुमा जोखेर जनताले एमालेलाई नै भारी मतले जिताउने बताए । ‘यसपटक ६७ प्रतिशत मत एमालेको पक्षमा खस्छ । कम्तिमा ५० प्रतिशत ठाउँ त एमाले एक्लैले जित्छ जित्छ’ गुरुङको ठोकुवा छ ‘यत्ति हो एमालेभित्र एकता हुनुपर्छ । हामीमै एकता हुन जरुरी छ । काँग्रेस छिन्नभिन्न छ । प्रचण्ड र माधव नेपालहरु त मोहनविक्रम सिंह जस्ता हुनेछन् ।’
माधव नेपाल वंशनाश गर्ने कंश, प्रचण्ड काँग्रेस भइसके
उपमहासचिव गुरुङले माधव नेपाल वंशनास गर्ने कसं रहेको आरोप लगाए । ‘माधव नेपालजीको पदलोलुपता र महत्वाकांक्षाले यो अवस्था आयो । वंशनास गर्नुभयो । माधव र प्रचण्डको वंश कम्युनिष्ट हो कि दलाल पूँजीवादी काँग्रेस हो ? उहाँहरु कम्युनिष्ट हारोस्, उम्मेदवार नै नउठोस्, काँग्रेस जिताऔं भनेर हिँड्नुभएको छ ।’ गुरुङले भने ।
र्पचण्डको पार्टी विसर्जनतर्फ गइसकेको ठोकुवा गर्दै उनले थपे – प्रचण्डको पार्टी जिवन्त हो भने चुनावमा घोषणापत्र किन आएन ? काँग्रेसकै घोषणापत्र बोकेर हिँडेपछि प्रचण्ड माओवादी भए ? माक्र्सवादी भए ? लेनिनवाद कता गयो ? अब उहाँमा नातावाद मात्र बाँकी छ । काँग्रेसको धोती समातेर समाजवादको बैतर्णी तर्न खोज्ने माधव र प्रचण्डको हालत अब चुनावपछि के हुन्छ हेर्नुहोला।
उपमहासचिव गुरुङले भूगोलमा देशकै ठूलो र जनसंख्यामा दोस्रो ठूलो पोखरा महानगरमा अब मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले जितेपछि विकासको लहर चल्ने बताए । पोखराका ३३ वटै वडा र चारै गाउँपालिकासहित त्यहाँका सबै वडामा एमालेले विजयको झण्डा फहराउने उनको भनाई थियो ।
पहिलो कार्यकलामा राम्रो काम गरेकै कारण थापाको चर्चा अहिले भएको र पार्टीले पनि गर्न सक्ने भएरै उम्मेदवार बनाएको भन्दै गुरुङले उपमेयर गुरुङ त आफ्नो कार्यकालमा देशमै सर्वोत्कृष्ट उपमेयर बनेकाले पोखरेलीले जिताउने ठोकुवा गरे ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज भीम कार्कीले आठ सूर्य रहेको सात बाकसमा सात छाप लगाएर सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन अपिल गरे । गठबन्धन आफै लडेर सक्किने भन्दै उनले जनताले देशभर एमालेलाई पुनः पहिलो पार्टी बताउने उल्लेख गरे ।
‘मेयर र उपमेयर दुवैलाई अनुभव छ, पहिलो दिनबाटै पोखरा बनाउने काम सुरु हुन्छ’
मेयरका उम्मेदवार कृष्ण थापाले महानगरको घोषणापत्र र वडाहरुको घोषणापत्रमा उल्लेखित योजनाहरु अक्षरशः पालना गर्ने बताए । उनले आफू पहिल्यै मेयर भइसकेको र उपमेयरले ५ वर्षदेखि निरन्तर काम गरिरहेकाले पनि आफूहरु जित्नासाथ पोखराको विकासको काम सुरु हुने बताए ।
‘कर्मचारी चिन्न एक वर्ष खर्च गर्नुपर्दैन । काम कसरी के गर्ने भनेर अर्को एक वर्ष अल्मलिनु हामीलाई पर्दैन । अघिल्लो नेतृत्वले ऐन, नियम, कानुन बनाइसकेकाले पनि अब यसमा अल्झेर बस्नु पर्दैन ।’ थापाले भने – ‘मैले मेयरको अनुभव लिइसकेको छु । उपमेयरजीले अनुभव लिइसक्नुभयो । हामी पहिलो दिनबाटै काम सुरु गर्ने हो । हामीलाई अल्झनु पर्दैन ।’
उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले पोखरा महानगरमा ५ वर्ष भए गरेका कामको फेहरिस्त प्रस्तुत गरिन् । उनले सुरुमा ऐन कानुन नहुँदा अल्झनुपरेको भन्दै विधि नियम बनेपछि द्रुत गतिमा काम भएको बताईन् । गुरुङले पोखरामा १५ सय ८५ किमि सडकहरु पिच, ग्राभल, स्तरोन्नति भएको, २७ कनेक्टिङ रोड बनेको, १ सय भन्दा धेरै पार्क, २४ वटा स्थानमा घाट, २८ वटा सार्वजनिक सौचालय, ९ वटा अपांगमैत्री वडा कार्यालय, १४ कार्यालयको स्तरोन्नति, पोखरा ८ सहित ३ वटा कार्यालय काम सुरु, अन्य वडामा जग्गाप्राप्तिको काम भइरहेको बताइन् ।
पोखरा महानगरपालिका, वडा नं. ८ लाई महानगरका ३३ वडामध्ये नमूना वडा बनाइने प्रतिबद्धता अध्यक्षका उम्मेदवार रुद्रनाथ बरालले पुनः गरेका छन् । आफ्नो ५ वर्षे कार्यकाल सुशासनयुक्त रहेको भन्दै उनले वडामा बाँकी विकास निर्माणका कामहरुलाई अबको कार्यकालमा पूरा गर्ने वचनबद्धता पनि प्रकट गरे ।
पाँच वर्ष जनताको मन जित्ने गरी काम गरेका रुद्रनाथ बराल पुनः अध्यक्षको उम्मेदवार छन् । खुल्ला महिला सदस्य उम्मेदवारमा पवित्रा केसी, दलित महिला सदस्यमा लक्ष्मी बिक, खुल्ला सदस्य उम्मेदवारहरुमा गोविन्द बराल र हिराकाजी श्रेष्ठ रहेका छन् ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर