स्रोत यहीँ छन्, इच्छाशक्तिले पोखरा बनाउँछौंः आचार्य

स्रोत यहीँ छन्, इच्छाशक्तिले पोखरा बनाउँछौंः आचार्य

02

पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यले सबै मिलेर नै पोखरा बनाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका ७ र १७ को घरदैलोमा उनले एक व्यक्ति वा एक राजनीतिक दलले मात्र पोखरा बनाउन नसक्ने र पोखरा बनाउनका लागि सबैको साथ र समर्थनको आवश्यकता हुने जनाएका हुन् ।

उनले गठबन्धनको घोषणा पत्रमा उल्लेख गरेका सबै विषयलाई ५ वर्षमा पूरा गर्ने लक्ष्यका साथ चुनावी मैदालनमा होमिएको सुनाए । ‘आजसम्म जुन ढंगले अभिभावकत्व प्रदान गर्नुपथ्यो, विगतको सरकारले गरेन । गणतन्त्रपछि बनेको स्थानीय सरकार विगतमा धेरै ठाउँमा चुकेको छ’, उनले भने ।

उनले महानगर र वडाको कामलाई विभाजन गरिने र वडाबाटै हुने कामलाई महानगरमा जान नपर्ने गरी व्यवस्था मिलाइने उल्लेख गरे । उलने राइट पिपुल राइट प्लेसको अवधारणालाई अगाडि सारिने उल्लेख गरे । महानगरमा भएका कर्मचारी कसैलाई फूल ड्युटी नभई ड्युटीफूल बनाइने उनको योजना छ ।

उम्मेदवार आचार्यले पोखरा महानगरपालिकाको अहिलेको जनसंख्या झण्डै ६ लाख भएको भएको औंल्याउँदै १० वर्षअघिको जनसंख्याका लागि बनेका संरचना अहिले अनुपयुक्त भएको तर्क गरे । उनले भने, ‘यो बेला जनसंख्या २ लाख ५२ हजार थियो । त्यति बेलाका लागि बनेको पूर्वाधार अहिलेको जनसंख्यालाई थेग्ने खालका छैन । अबको १० वर्ष पछिको जनसंख्या कति हुन सक्छ होला । त्यसलाई आंकलन गर्दै विकासका परियोजनालाई अगाडि बढाइनेछ ।’

५० वर्ष छिको पोखरालाई ध्यान दिएर ग्रेटर पोखरा बनाउने लक्ष्यका साथ गठबन्धन चुनावमा होमिएको उनको भनाइ छ । समृद्ध सहरको परिकल्पना गरिरहँदा मोटरबाटो र पुल निर्माण लाई मात्र हेर्नन हुने तर्क उनको छ । सभ्य नागरिक बस्न सक्ने पोखरा बनाउने दायित्व सबैको भएको उनी बताउँछन् । ‘हिजो हाम्रा पुर्खाले बनाएका चौतारा आज हराएका छन्, पार्क छैनन् । उपत्यका नगर विकास समितिका जग्गामा अव्यवस्थित बसोबास भइरहेको छ । देखिएका सबै समस्यालाई चिरफार गर्ने गरी हामी लागिपरेका छौं’, उनले भने ।

५ राजनीतिक दलको साथ र आम पोखराबासीको समर्थनले चुनाव जित्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । आचार्यले विकासका लागि स्रोत र साधनको अभाव नहुने उल्लेख गरे । पोखरा १७ मा भएको कोणसभामा उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायतका सम्पदाको पारदर्शी ढंगले उपयोग गरिने सुनाए ।

सरोकारवालाको भावनालाई सम्बोधन गरी विना विवाद काम गर्न सकिने उनको भनाइ छ । ‘पोखरामा रहेका सम्पदाको उचित संरक्षण र पारदर्शी उपयोगबाट नै धेरै काम गर्न सक्छौं । कयौं काम अध्यारो कोठामा बसेर गरिँदा समस्या आएका छन् । हामी त्यसो हुन दिँदैनौं,’ उनले भने ।

आफूहरु केही गर्न र पोखरालाई महानगरको रुपमा विकास गर्न आएको उनको भनाइ छ । सहरी क्षेत्रको फोहोरसहितको ढल बगेर बिरौटा र छोरेपाटनमा थुप्रिने गरेको उल्लेख गर्दै उनले त्यसको उचित व्यवस्थापन गरिने बताए ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफूहरु जनताको सेवामा केन्द्रीत हुने बताइन् । रानाभाटले गठबन्धन आजको आवश्यकता भएको र जित सुनिश्चित भएको उल्लेख गरिन् ।

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले गठबन्धनका उम्मेदवारलाई नगरवासीले मत दिए सुन्दर र समृद्ध पोखरा आफूहरुले दिने धारणा राखे ।

गठबन्धनले आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना बनाएको छ । यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने गठबन्धनको घोषणापत्रमा उल्लेख गरे । गठबन्धनले जित हासिल गरे बाँकी ८० प्रतिशत लगानीका लागि महानगर बैंक ग्यारेन्टी ऋणको व्यवस्था गरिने जनाइएको छ ।

गठबन्धनले अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने, आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधासहित महानगरीय स्वास्थ्य सेवा अन्तर्गत मेट्रो अस्पताल सञ्चालन गर्ने, ३ महिनाभित्र पोखरा महानगरपालिकामा घुम्ती अस्पताल र ‘सुन्दर पोखरा स्वस्थ पोखरेली’ कार्यक्रम, सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रवद्र्धनका लागि ६ महिनासम्म २ हजारका दरले सुत्केरी पोषण जस्ता योजनाअघि सारेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds