पोखरामा गठबन्धनको ५ वर्षे योजना : रिङरोड बनाउने, फेवा-बेगनास जोड्न मेट्रोरेल

पोखरामा गठबन्धनको ५ वर्षे योजना : रिङरोड बनाउने, फेवा-बेगनास जोड्न मेट्रोरेल

pokhara-gathbandhan-1

पोखरा । सत्तारुढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।

‘समुन्नत पोखराको आधार ः सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको छ । गठबन्धनअन्तर्गत पोखराको मेयर एकीकृत समाजवादीले पाएको छ भने उपमेयर कांग्रेसको भागमा छ । सोमबार पाँचै दलबाट पोखराको पाँच वर्षे घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा तत्कालको सेवाप्रवाहदेखि मेट्रो रेलसम्मका योजना समेटिएका छन् । मेयरका उम्मेदवार धनराज आचार्यले फेवातालदेखि बेगनासताल जोड्न मेट्रोरेल चलाउने घोषणा गरे ।

तुरुन्तै अध्ययन गरेर पोखरा रिङरोड निर्माण सुरु गने, बजार क्षेत्रको ट्राफिक चाप घटाउन बाइपास रोड बनाउने, फेवातालमा यसअघि मिसाइएको ढललाई बाइपास गरेर विसर्जन गर्ने योजना छन् ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहिलो सर्त रहेको ल्याण्डफिल साइट तत्कालै व्यवस्थापन गर्दै फोहोरलाई मोहोरमा परिणत गर्ने उनको घोषणा छ ।

पोखराको पृथ्वीचोकमा सिटी बसपार्क निर्माण गर्ने र लामे आहालमा प्रदेश स्तरीय बसपार्क बनाउने उनको योजना छ । नयाँ एयरपोर्टबाट लेकसाइड र कोत्रेसम्म फास्ट ट्याक निर्माण गर्ने योजना छ । यस्तै, उनले उहिलेको पोखरा ब्युँताउने र अहिलेका ग्रामीण क्षेत्रहरूमा बहुसांस्कृतिक ग्राम निर्माण गर्ने बताए । ‘हाम्रा अहिलेका नानीबाबुलाई पुराना भाषा र शब्दबारे पनि ज्ञान छैन । पुरानो रहनसहन बुझेका छैनन्,’ उनले भने, ‘हामी निर्वाचित भयौं भने गाउँले रहनसहन देखिने गरी ग्रामीण वडामा विशेष गाउँ बनाउँछौँ । त्यहाँ पुरानो पोखरा हेर्न पाइनेछ ।’

उनले फेवातालको माटो निकालेर सेती डिलमा राख्ने र त्यहाँ कृषि उत्पादन गर्ने योजना सुनाए। ५ वर्षको कार्यकालभित्र गरिबिको रेखामुनिको जनसंख्या शून्य बनाउने तथा सुन्दर र सफा पोखरा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । घोषणा गरिएका कार्यक्रमहरू पूरा गर्न संघ, प्रदेश र दातृ निकायबाट सहयोग माग्ने तथा पोखराकै बासिन्दाबाट शेयर संकलनको प्रस्ताव गरेका छन् ।

‘पूरा नहुने कुनै योजना छैनन् । धेरैतिरबाट छलफल गरेर यो बनाएका छौं,’ उनले भने, ‘अहिले पोखराको बजेट ७ अर्ब छ । संघ र प्रदेशबाट थप बजेको माग गर्छौं । ५ लाख महानगरवासी हुनुहुन्छ । उहाँहरूको मन जितेर पोखरालाई नमुना बनाउन पहल गर्छौं ।’

घोषणा अनुसार पहिलो दिनदेखि १ वर्षसम्मका काम छन् । पहिलो दिन नै सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क दिने कामको थालनी गर्ने तयारी छ । हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने, ३ महिनाभित्र घुम्ती अस्पताल सञ्चालन गर्ने, तेस्रो महिनादेखि सामाजिक सुरक्षा भत्ता घरदैलोबाटै वितरण गर्ने, महानगरको केन्द्रबाट गाउँसम्म पुग्न साँझ बस सेवा सञ्चालन गर्ने योजना समेटिएका छन् ।

नयाँ करको दायरा खोज्ने, एउटै कोठाबाट सेवा दिने वातावरण तय गर्ने, अनुसन्धानमा आधारित विकास परियोजना सञ्चालन गर्ने, ६ महिनाभित्र स्कुल टु वर्क कार्यक्रम सञ्चालन गर्ने, आमा समूहलाई एक समूह एक उत्पादन कार्यक्रममा जोड्ने कार्यक्रम पनि ल्याइएको छ ।

परियोजना धितोमा युवा व्यवसायीलाई १० लाखसम्म ऋण लगानी गर्ने, अति विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने, कृषिको उत्पादन महानगरले खरिद गर्ने, पुराना सम्पदाको संरक्षणका लागि विशेष प्याकेज ल्याउने, महानगरभित्र काम गर्ने विदेशी नागरिकलाई वर्क परमिटको व्यवस्था गरी करको दायरामा ल्याउने र फोहोर बैंकमार्फत फोहोर खरिद गर्ने कार्यक्रम गठबन्धनको घोषणापत्रमा छ ।

पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका नेता धनराज आचार्य र उपमेयरमा कांग्रेस नेतृ कोपीला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । सो कार्यक्रममा कोपीला रानाभाटले गठबन्धनबाट उम्मेदवारी दिएका सबै निष्कलंक रहेका दाबी गरे ।

गठबन्धन समयको माग रहेको र ओली प्रवृत्तिको विरोधका लागि पनि रहेको भन्दै उनले गठबन्धनका उम्मेदवार निर्वाचित हुने दाबी पनि गरेकी छन् । पाँच दलीय गठबन्धन स्थानीय तह निर्वाचनसम्मका लागि मात्र नभएर संसदीय चुनावसम्म सँगै जानुपर्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds