कास्की काँग्रेसले पोखराको मेयर मागेको नेकपा एससँग गठबन्धन नगर्ने !

कास्की काँग्रेसले पोखराको मेयर मागेको नेकपा एससँग गठबन्धन नगर्ने !

Satta-Gathbandhan-Pokhara1

पोखरा । नेपाली कांग्रेस कास्कीले नेकपा (एकीकृत समाजवादी) पार्टीसंग आसन्न निर्वाचनमा गठवन्धन नगर्ने जनाएको छ । नेकपा एसले कास्कीका विभिन्न तहमा अस्वभाविक माग राखेका कारण सहमति हुन नसकेको भन्दै गठवन्धन नगर्ने निर्णय गरेको काँग्रेस कास्की सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एससंग गठवन्धन नगरी स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय भएको उनीहरुले उल्लेख गरेका छन् । नेकपा एससंग गठवन्धन नभएपनि अन्य दलहरुसंग छलफल भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । काँग्रेसको प्रदेश, क्षेत्र, महानगर र वडा समितिको राय, सुझाव अनुसार नै नेकपा एससंग गठवन्धन नगर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘एकीकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठवन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडी वढाउने र नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’

गठबन्धन बैठकमा पनि कांग्रेसले उक्त अडान राखेको जनाएको छ । आइतबारको बैठकमा गठबन्धनको अर्को शक्ति जसपाले असन्तुष्टि जनाउँदै अब काँग्रेससँग तालमेल नगर्ने भन्दै निस्किएको थियो ।

कांग्रेस कास्कीका सचिव भानु ढकालले अब एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने स्पष्ट पारेका छन् । ‘पोखराको मेयर, उपमेयर मात्र होइन, हाम्रो पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएका छन्,’ ढकालले भने, ‘गठबन्धनको आजको बैठकमा यसबारे प्रष्ट जानकारी गराएका छौं।’

कांग्रेसले उक्त जानकारी गराएपछि बिहान बसेको बैठक उठेको थियो । एकीकृत समाजवादी गठबन्धनमा नरहने भएकाले अब मेयरसहित पालिका प्रमुखहरुमा कांग्रेसकै उम्मेदवार उठ्ने सचिव ढकालको भनाई छ । ‘जिल्लामा गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ, अब उहाँहरुसँग चुनावी गठबन्धन हुँदैन,’ ढकालले भने, ‘जिल्लामै गठबन्धनमा नरहेपछि केन्द्रबाट लादिने सम्भावना पनि सकियो।’

सचिव ढकालले फेसबुकमै पनि मित्रवत् प्रतिस्पर्धा गरौं भन्दै ‘कास्की जिल्लाको गठबन्धन दलबाट एकीकृत समाजवादी पार्टीसित संग–संगै अगाडि बढ्न सकिएन, त्यसकारण यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एकीकृत समाजवादी पार्टीसंग मित्रवत् प्रतिस्पर्धा गर्न नेपाली कांग्रेस कास्कीको अपिल’ भनेर लेखेका छन् । सचिव ढकालको यो अभिव्यक्तिपछि काँग्रेस कार्यकर्ताहरु खुशी देखिएका छन् ।

केन्द्रीय सभापति शेरबहादुर देउवा भने माधव नेपालकै विद्रोहका कारण आफू सत्तामा र देशभरका प्रदेशहरुमा आफूहरुको नेतृत्व स्थापित भएको भन्दै माधव नेपाललाई चिढ्याउने पक्षमा छैनन् । पोखरा समाजवादीलाई दिने छलफल चलिरहेका बेला कांग्रेस कास्कीका नेताहरु पनि काठमाडौं डेलिगेसन गएर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखराको मेयर अन्य दललाई दिन नसक्ने बताएको थियो। देउवाले भने पोखरा समाजवादीलाई नै जाने छनक दिएका थिए । महामन्त्री गगन थापा लगायतका अधिकांश नेताहरु भने पोखरा काँग्रेसले छाड्न नहुने पक्षमा छन् ।

समाजवादीले पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने भन्दै केन्द्रमा दवाब बढाइरहेको छ। समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अघि पोखरामा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनमा आवद्धसमेत जोड्दा १२ हजार पुग्ने भन्दै आफुहरुलाई कमजोर नआँक्न चेतावनी दिएका थिए।

‘हाम्रा वडा कार्यसमितिले सदस्य समेत दिन समाजवादीलाई दिन हुँदैन भनेका छन्,’ सचिव ढकालले भने, ‘सभापतिले के आधारमा पोखराको मेयर दिनुहुन्छ? दिए पनि हामी मान्दैनौं।’

कास्की काँग्रेसको विज्ञप्ति शेयर गर्दै नेपाली काँग्रेस पोखरा महानगर कमिटिका सचिव गणेशबहादुर थापाले पनि फेसबुकमा लेखेका छन् – ‘नेपाली कांग्रेस, पोखरा महानगरपालिका कार्यसमितको धारणा पनि आउँदैछ।’

एकीकृत समाजवादी कास्कीका एक नेताले भने बिहान गठबन्धन बैठक नै नबसेको बताएको छ । अहिले गठबन्धन बैठक बसिरहेको उनीहरुले जनाएका छन् ।

समाजवादीका नेता पूर्ण लामाले सामाजिक सञ्जालमा लेखेका छन्: ‘कास्कीमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तहको निर्वाचन केन्द्रित बैठक प्रारम्भ भएको छ। गठबन्धनका सम्वन्धमा विभिन्न माध्यमवाट आईरहेका भ्रामक समाचारहरुलाई खारेज गर्दै, थप एकतावद्ध भएर अगाडि बढ्ने अठोटका साथ बैठक अगाडि बढेको छ। नेपाली काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा जारी बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोका नेताहरुको सहभागिता रहेको छ। आजैको बैठकवाट सकरात्मक समाचार सम्प्रेषण हुने अपेक्षा गरिएको छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds