पोखरा महानगरपालिकाको मेयरकाे उम्मेदवार केन्द्रसमक्ष सिफारिस गर्न एमालकाे महानगर कमिटिलाई सकस परेको छ । लगातार तीन दिन छलफल गर्दा पनि महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नसकेपछि अब मतदानबाटै उम्मेदवार सिफारिस गर्ने भएको छ ।
पार्टीमा आन्तरिक उम्मेदवारी दिएका बीच सहमतिको प्रयास निरर्थक भएपछि शुक्रबार मतदानबाटै टुंगाइने भएकाे हाे । यद्यपी, मेयर र उपमेयर पदमा एक महिलासहित दुवै पदमा तीन–तीन जनाकाे नाम केन्द्रसमक्ष सिफारिस गरिनेछ । अन्तिम उमेदवार केन्द्रीय नेतृत्वले नै टुंगो लगाउने छ ।
मतदाताले दुई जना पुरुष उम्मेद्वार र एक जना महिला उम्मेद्वारलाई मत हाल्नुपर्ने छ । पोखरा महानगर कमिटी पदाधिकारी र सदस्य गरी १ सय १० जनालाई मताधिकार हुनेछ । मेयरमा ११ जना र उपमेयरमा १२ जनाले उम्मेदवारी दिएका थिए ।
मेयरमा पुष्पज्योति ढुङ्गाना, दर्शन लामा, पुष्पराज अधिकारी, दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, रश्मी आचार्य, प्राडा विश्वकल्याण पराजुली, कृष्णबहादुर थापा र राजीव पहारीले मंगलबार आन्तरिक उम्मेदवारी दिएका थिए ।
मेयरका दाबेदार कृष्णबहादुर थापा र राजीव पहारी गण्डकी प्रदेशसभा सदस्य हुन् । थापा २०५४ का नगरप्रमुख समेत हुन् । उनीहरू मेयरको उम्मेदवार बन्नुपर्ने अवस्थामा प्रदेशसभा सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ । दाबेदार पुष्पज्योति ढुङ्गाना हाइड्रो सञ्चालक र पुष्पराज अधिकारी रूपाकाेट रिसोर्ट सञ्चालक हुन् । लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।
उपमेयरमा सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य, बलराम गायक गन्धर्व, हरिमाया गुरुङ र बैनबहादुर अधिकारी क्षेत्रीले दाबी गरेका छन् ।
पार्टी महानगर कमिटीले बिहीबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार मध्यान्ह १२ बजे मतदान जिल्ला पार्टी कार्यालयमा हुने भएको हो । नगर कमिटीकाे मंगलबारको बैठकमा जनही ३ हजार रुपैयाँ शुल्क तिरेर १२ जनाले महानगरको मेयर पदमा आकांक्षा दर्ता गरेका थिए ।
अघिल्लो पटकको चुनावमा पनि उम्मेदवार टुंगाे लगाउन नसकेपछि निर्वाचन नै गर्नुपरेकाे थियाे । त्यतिबेला पोखरा महानगरको कमिटी संरचना गठन नभइसकेकाले तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिका पदाधिकारी, सदस्यले मतदान गरेका थिए ।
पृथ्वीसुब्बा र खगराजबीच प्रतिष्ठाको लडाइँ
सहमतिमै उम्मेदवार टुंगाएर एकताकाे सन्देश दिँदै गठबन्धन विरूद्ध भिड्नुपर्ने बेलामा किन याे जात्रा ? भनेर पाेखरा महानगरका कमिटिका एक नेतासँग साेध्दा उनले आकांक्षीहरुबीच छलफल गर्दासमेत ताेकिएकाे समयभित्र सहमति जुट्न नसकेपछि मतदानबाट टुंगो लगाउन लागिएको बताए ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रतिष्ठाकाे लडाइँले एमालेले सर्वसम्मत उम्मेदवार चयन गर्न नसकेकाे हाे । महानगरका अध्यक्ष दिलिप न्याैपाने पदमा चुनिँदा मध्यमार्गी भूमिकामा रहेका कारण पनि गुटीय स्वार्थ चिर्न सकस परेकाे निकटकाहरू बताउँछन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निकटकै दुई नेताको संघर्षमा एमाले गण्डकी छ । एमालेको कास्की जिल्ला अधिवेशनबाट पिएस पक्षकाे नेतृत्व चुनिएकाे थियाे । मनबहादुर गुरुङ चयन भए । तर पदाधिकारीमा खगराज पक्षबाट पनि उत्तिकै संख्यामा नेतृत्वमा पुगे । दुई पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए ।
शुक्रबारकाे मतदानमा सबै जना भिड्ने सम्भावना नभएकाे नेताहरू बताउँछन् । मेयरको उम्मेदवार हुन आवेदन दिएकामध्ये पुष्पज्योति ढुंगाना, भीम कार्की, मीना कुमारी गुरुङ, राजीव पहारी, दीपक पौडेल पृथ्वीसुब्बा पक्षमा देखिएका नेताहरु हुन् । यो समूहलाई सचिव पद्मा अर्यालको समेत साथ छ । यस्तै, कृष्ण थापा, दर्शन लामा, रश्मी आचार्य, सावित्री भण्डारी भने खगराज पक्षका हुन् ।
पृथ्वीसुब्बा पक्षबाट पुष्पज्याेति ढुंगाना, दीपक पाैडेल र मीना कुमारी गुरूङकाे बढी सम्भावना छ । खगराज समूहबाट कृष्ण थापा, दर्शन लामा र सावित्री भण्डारी चुनावमा हाेमिने पक्कापक्की रहेकाे बुझिएकाे छ ।
जित्ने सम्भावना बढी भएकाले एमालेमा पोखराको मेयरको उम्मेदवार हुन चाहनेहरुको सूची लामो बनेकाे हाे । देशकै ठूलाे महानगर पोखरामा एमालेको अवस्था राम्रो छ । २०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्दा पनि एमालेका मानबहादुर जिसी विजयी भएका थिए । यसपटक गठबन्धनबान एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले टिकट पाउने सम्भावना पनि छ । तर, जनता समाजवादी पार्टी र माओवादीका नेताहरु एमाले प्रवेश गरेकाले समाजवादीले काट्ने मत पूर्ति हुने भन्दै एमाले नेताहरु ढुक्क छन् ।
शुक्रबार दिनको १२ देखि १ बजेसम्म मतदान
सबै ठाउँमा सर्वसम्मत उमेदवार छानिँदा पोखरा महानगरमा ओली खेमाभित्रका यी दुई गुट आन्तरिक निर्वाचनमा जान लागेका हुन् । शुक्रबार मध्यान्ह १२ देखि १ बजेसम्म मतदानको कार्यक्रम निर्वाचन समितिले प्रकाशन गरेको छ ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते