पाेखरा महानगरपालिकामा ‘गठबन्धन गर्ने तर नेतृत्व चाहिँ काँग्रेसकै हुनुपर्छ’ भन्दै एक सुत्रीय माग लिएर पार्टी सभापति शेरबहादुर देउवा भेट्न गएका कास्कीका काँग्रेसी नेताहरू निराश बन्नुपरेकाे छ । पोखराको मेयर पद गठबन्धनका अरु दललाई दिन नहुने भन्दै कास्कीका कांग्रेस नेताहरूले देउवालाई भेटे ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको भेटमा सभापति देउवाले पोखराको टिकट कांग्रेसले लिएमा गठबन्धन भत्कने संशय व्यक्त गरेका छन् । अरु महानगरमा मिलाउँदा कांग्रेसले पोखरामा टिकट पाउने सम्भावना निकै कम रहेको चर्चा चलिरहँदा सभापति देउवाकाे छनक पनि उस्तै रह्याे । यद्यपी, देउवाले महानगरपालिकाको विषयमा गठबन्धनका दलसँग कुनै पनि कुरा नभएको हुँदा यस विषयमा कुरा नै नगर्न निर्देशन दिए । सभापति देउवाले पोखरासहित अन्य महानगरको नेतृत्वबारे गठबन्धनमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।
“कुरै चल्या छैन । कसरी दिने भन्ने ? त्यसै कुरा लिएर आउने ?,” देउवाले जवाफ फर्काए । प्रधानमन्त्रीको भनाइ उधृत गर्दै टोली नेतासमेत रहेका पूर्वमन्त्री यज्ञबहादुर थापाले थपे,‘तपाईंहरु हतारिएर आउनुभयो । कसलाई कुन दिने निर्क्यौल भएकै छैन ।’
प्रधानमन्त्रीको ‘बडी ल्याङ्वेज’ हेर्दा सत्ता गठबन्धनका दललाई चिढ्याउन नहुने मनसायमा रहेको देखिएको थापाले बताए । ‘जुन दलहरुसँग मिलेर हाम्रो सरकार बनेको छ । जुन दलसँग मिलेर प्रदेश सरकार बनेको छ’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै थापाले भने,‘जुन दलसँग मिलेर भोलि प्रदेश र केन्द्रको निर्वाचन गराउनु छ । गठबन्धन जोगाउनका लागि कांग्रेस अलिकति लचिलो हुनैपर्ने बाध्यता कांग्रेसलाई छ,यो कुरा बुझ्नुस् ।’
सभापति देउवाले गठबन्धनका अरु दललाई चिढ्याउने गतिविधि नगर्न नेताहरूलाई सुझाएका छन् । सभापति देउवाले गत निर्वाचनको परिणाम हेरेर कुरा गर्न नेताहरूलाई आग्रह गरे । ‘गठबन्धनलाई जोगाउनुपर्छ त्यो कुरा बुझ्नुस् । उम्मेदवारको हकमा भोलि अन्तरघात हुनसक्छ । उनीहरू एकातिर गए हाम्रो स्थिति के हुन्छ ?’ देउवाको भनाइ उदृत गर्दै बैठकमा सहभागी थापाले भने ।

सभापति देउवाको प्रश्नमा नेताहरूले आफूहरू पनि गठबन्धन तोड्नुपर्छ भन्ने पक्षमा नरहेको बताए । तर, स्थानीय आवश्यकता हेर्दा कांग्रेसले नै मेयर पाउनुपर्नेमा नेताहरूको जोड थियो । ‘धेरै मतमा थोरै मत ल्याउँदा फलदायी, व्यावहारिक हुन्छ । धेरै मत थोरैमा लगेर मिसाउँदा नतिजा सोचेजस्तो नआउने सम्भावना प्रचुर रहन्छ । त्यसैले गठबन्धनलाई जिताउन अरु दललाई सम्झाउन पर्यो,’ कस्केली नेताले सभापतिलाई भनेका थिए ।
कास्कीको टोली बुधबार बिहानै ९ बजे बालुवाटार पुगेकाे थियाे। तर, मध्यान्ह १२ बजेसम्म पनि सभापति देउवालाई भेट्न नपाएपछि टोली दिउँसो २ बजे पार्टी कार्यालय सानेपा पुग्यो । सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएकाले टाेली बालुवाटारबाट सानेपा हानिएकाे थियाे । त्यही बैठक बस्नुअघि कास्कीको टोलीले सभापति देउवासहित उपसभापतिद्वय धनराज गुरुङ, पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू सशांक काेइराला लगायतलाई भेटे ।
अहिलेको अवस्थामा एक्लै लडे पनि चुनाव जित्न सकिनेबारे कस्केली टाेली सबैले कुरा उठाए । उनीहरुले माओवादी र एकीकृत समाजवादीको अवस्था राम्रो नभएको भन्दै कांग्रेसले मेयर पद छाड्दा थपिएका नयाँ मतदातामा गलत सन्देश जाने र आगामी निर्वाचनमा हानी हुने देउवालाई सुनाएका थिए । देउवाले प्रतिप्रश्न गरे, “साझा उमेदवार बनाएर ल्याउन सक्छौ ?”
‘४०/४५ मिनेट हामीले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्यौं । हाम्रो शक्ति र विगतको परिणाम प्रधानमन्त्रीसँग राख्यौं’, थापाले भने, ‘अरु कुरामा लचिलो बनेर जान पोखरामा कांग्रेस तयार छ । मेयर हामीले राखेर जानुपर्ने कारण सहित तथ्य तथ्यांक राख्यौं ।’
पूर्वमन्त्री थापाले पोखरामा आफूहरु बिद्रोह नै गर्ने पक्षमा नरहेको बताएका छन् । यदि अन्य दलले मेयरको उम्मेदवारी पाउने अवस्था रहे कांग्रेसले असहयोग भने नगर्ने उनको भनाइ छ ।
पोखरामा नेकपा (एकीकृत समाजवादी) ले मेयर पाउने चर्चा छ । गत निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा पनि पोखरामा एमालेले मेयर-उपमेयर जितेको थियो । एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाएका थिए ।
उपमेयरमा भने गठबन्धन नभई कांग्रेस र माओवादीका छुट्टाछुट्टै उम्मेदवार थिए । उममेयरमा मञ्जुदेवी गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत पाउँदा माओवादीकी गोमा ढकालले ८ हजार ७९६ मत ल्याएकी थिइन् । पोखरामा गठबन्धनका अरु दलले टिकट पाउँदा पराजय भोग्ने पक्का रहेको कांग्रेसी नेताहरू बताउँछन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते