पोखराका सबै तालको मापदण्ड तोकियो, फेवातालको ३० मिटर कायम

पोखराका सबै तालको मापदण्ड तोकियो, फेवातालको ३० मिटर कायम

fewa-lake

पोखरा महानगरपालिकाले महानगरभित्रका सबै तालको मापदण्ड तोकेको छ । बुधबार बसेको महानगरकाे ५५ औँ कार्यपालिका बैठकले फेवातालसहित यहाँका ९ वटै तालहरुको मापदण्ड तोकेको हो ।

फेवातालको मापदण्ड अन्ततः ३० मिटर कायम गरिएको छ । सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको महानगरले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकेको हो ।

२०७५ बैशाख १६ मा न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको इजलासले गरेकाे आदेशमा फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न/गराउन उल्लेख छ ।  फैसलामा मापदण्ड ६ महिनाभित्र तोक्न भनेको थियो ।

गत वर्ष नै फेवातालको चारकिल्ला र सिमानासम्बन्धी विवरणसहित पहिलोपल्ट नेपाल राजपत्रमा सूचना प्रकाशन भइसकेको छ । नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा २०७७ फागुन १७ गते प्रकाशित सो राजपत्रमा फेवातालको चारकिल्ला विवरण तथा सीमारेखाको व्याख्यासमेत गरी फेवातालको क्षेत्रफल ११ हजार २५५ रोपनी ११ आना एक पैसालाई तोकिएको छ ।

यसअघि ६५ मिटर मापदण्ड रहेकोमा त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा ८ सदस्यीय मापदण्ड अध्ययन समिति गठन भएको थियो । समितिले लिएको सुझावका आधारमा मापदण्ड तोकिएको महानगरले जनाएको छ ।

ताल संरक्षणको लागि प्रदेश, संघ र स्थानीय तहलाई सर्वोच्चले आदेश दिएको थियो । त्यसमध्ये केन्द्र सरकारले जग्गाको मुआब्जा उपलब्ध गराउने, प्रदेशले सीमाकंन र स्थानीय तहलाई संरक्षणको जिम्मेवारी दिइएको थियो ।

२०७६ माघ १० गते गण्डकी प्रदेशका तत्कालिन पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा फेवातालको मापदण्ड कायम गराउँन ११ सदस्यिय समिति समेत गठन गरिएको थियो ।

बेगनास र रुपामा ५५ मिटर मापदण्ड, साना तालमा २० मिटर 

पोखराको बेगनास ताल र रुपातालको मापण्दड भने ५५ मिटर कायम गरिएको छ । यसअघि १०० मिटर मापदण्ड तोकिएकोमा स्थानीय असन्तुष्ट बनेपछि ४५ मिटर घटाइएको हो । पोखराका अन्य साना तालको मापदण्ड २० मिटर कायम गरिएको छ ।

पोखरा उपत्यका नगर विकास समितिले ताल संरक्षणका लागि भन्दै १३ वर्ष अघिदेखि नै मापदण्डले छुने जग्गा रोक्का राख्ने निर्णय गरेको थियो । जग्गाधनीहरु भने आफूहरुमाथि अन्याय भएको भन्दै आन्दोलित छन् ।

पोखरा महानगरले बुधबार मापदण्ड तोकेसँगै अब मापदण्ड क्षेत्र बाहिरका कित्ताको जग्गा फुकुवा हुने भएको छ । जग्गा फुकुवाका लागि महानगरले सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds