‘वान बाइ वान होइन, पाँचै दल एकैचोटि आऊ, सात दिन नउठ्ने गरी पछार्छौं’: ओली

‘वान बाइ वान होइन, पाँचै दल एकैचोटि आऊ, सात दिन नउठ्ने गरी पछार्छौं’: ओली

KP Oli pkr (1)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गठबन्धन नटुट्ने बताएका छन । ‘गठबन्धन टुट्न पनि हुँदैन’ शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, ‘टुटिहालेमा बिचराहरू धुलोपिठो हुन्छन् ।’

‘‘वान बाइ वान’ होइन, पाँचै दल एकैचोटि आऊ, एकै झट्कामा सात दिन नउठ्ने गरी पछार्छौं’

अध्यक्ष ओलीले सत्तासीन पाँच दलीय गठबन्धनलाई गठबन्धन नै गरेर एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए । उनले गठबन्धन टुटे सबै दलको अस्तित्व हराउने दाबी गरे । ‘गठबन्धन टुट्दैन, टुट्नु हुँदैन । यो टुट्यो भने विचराहरू धुलोपिठो हुन्छन् । हामी पनि किस्ताकिस्तामा वान बाइ वान गर्दैनौँ । हामी त पाँच दललाई एकैचोटी बोलाउँछौँ । आऊ, एकैपटक आऊ,’ ओलीले गठबन्धनलाई चुनौती दिए ।

गठबन्धन टुटाएर चुनाव लड्ने आँट गठबन्धनसँग नभएको एमाले अध्यक्ष ओलीले बताए । तर, आगामी चुनावमा गठबन्धन भए पनि आफूहरूले हराउने ओलीको दाबी थियो । ‘वैशाख ३१ गते देखिन्छ । एकै झट्कामा सात दिन नउठ्ने गरी पछार्छौं । सडकमा ढुंगा हानेर होइन, जनताको पवित्र मतबाट,’ अध्यक्ष ओली गर्जिए । वैशाख ३१ गतेको चुनाव सार्न प्रधानन्याधीशलाई महाअभियोग लगाएर दरपीठ भएको मुद्दा फेरि दर्ता गरिएको ओलीले बताए ।

आफूहरूले जनताको पक्षमा काम गरेकाले चुनावमा जनताले पत्याउने उनले बताए । माओवादीतर्फ लक्षित गर्दै उनले भने, ‘जनता ठग्ने, अलमलाउने काम गरेका छैनौँ । जनता मार्ने, मराउने काम गरेका छैनौँ । हामीले देश बनाउने काम गरेका छौँ । तीन वर्ष हामीले सरकार चलाउँदा कस्तो हुन्छ सरकार भनेर देखाएका छौँ ।’

‘प्रचण्ड पुतलीजस्तो भए, एमसीसी १६५ सांसदले पास गरे भइगो नि’

अध्यक्ष ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए ।

चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ । जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यतिबेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ । अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाइछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?

कथा सुनाएपछि ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सही हो, कुन गलत हो ?’

उनले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताए । ‘एक सय ६५ भोट सरकारसँग छ । एमसीसी पास गर्ने भनेको छ,’ उनले भने, ‘एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन । एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न सक्छ ।’

ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोध गरे । ‘नाम हेर्‍यो नेकपा माके, काम हेर्‍यो कांग्रेसको पुच्छर । नाम हेर्‍यो पार्टी फुटाएर एकीकृत, काम हेर्‍यो कांग्रेसका पछि लागेर समाजवादी । यो स्थितिमा हामी छौं,’ व्यंग्य गर्दै उनले भने ।

‘तमासाको पनि हद हुन्छ नि, सरकारमा पनि उनै, सडकमा पनि उनै’

एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनमा सहभागी दलले सडकमा तमासा देखाएको टिप्पणी गरे । ‘तमासाको पनि हद हुन्छ नि, सरकारमा पनि उनै छन् । उनैले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन्, मान्छे देख्नै हुन्न ढुंगा हान्न लगाउँछन्,’ उनले भने ।

‘एमसीसी ल्याउने बाबुराम, झलनाथलाई ढुंगा हान्दैनन्, म बाटोमा हिँड्छु ढुंगा हान्छन्

एमसीसी ल्याउन चिट्ठी लेख्ने झलनाथ खनाललाई ताली बजाउने र आफूमाथि ढुंगा हानिएको भन्दै ओलीले आक्रोश पोखे । उनले एमसीसी ल्याउने पक्षमा रहेका बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरालाई पनि केही नगरेको र आफूमाथि ढुंगा हानेको बताए ।

‘एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर चिट्ठी लेखेर मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ताली बजाउँछन् । त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्नेलाई ढुंगा हानिँदैन । कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ ढुंगा हानिँदैन । टेबुल गरेका छन् सभामुखले, उनलाई ढुंगा हानिँदैन,’ अध्यक्ष ओलीले भने, ‘एमसीसी ठीक छ भनेर कुरा टुंग्याउने कृष्णबहादुर महरालाई ढुंगा हानिँदैन । प्रचण्ड र शेरबहादुर देउवाका बेला महराले टुंग्याउनु भयो । ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता गर्नुभयो । ती सम्झौता गर्नेलाई कसैले हेर्दैन । म बाटोमा हिँड्छु ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइराखेको छ भनेर ?’ ८ फागुनमा संसद भवन जाँदै गर्दा बानेश्वरमा अध्यक्ष ओली सवार गाडी लक्षित ढुंगा प्रहार भएको थियो ।

अध्यक्ष ओलीले आफूहरू जनताका समस्या समाधान गर्ने पार्टी भएकाले अन्य दलका नेता-कार्यकर्ताको पनि एमालेमा आकर्षण बढेको दाबी गरे । उनले अन्य पार्टीमा रहेकालाई एमाले आएर देश बनाउने काममा जुट्न आह्वान गरे ।

‘अहिले पनि विभिन्न पार्टीमा अल्मलिएर रहनुभएका साथीहरूलाई म बिना द्विविधा, बिना हिच्किचाहट एमालेमा आउन आग्रह गर्न चाहन्छु । देश बनाउने महान कार्यमा सरिक हुन एमालेमा आउन स्वागत गर्न चाहन्छु,’ उनले भने ।

तस्वीरः परिचय

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds