पोखरा विश्वविद्यालयको १७ औं दिक्षान्तमा ११ हजार बढी विद्यार्थी दिक्षीत

पोखरा विश्वविद्यालयको १७ औं दिक्षान्तमा ११ हजार बढी विद्यार्थी दिक्षीत

PU dischyanta (1)

तीन वर्षपछि भएको पोखरा विश्वविद्यालयको १७ औं दिक्षान्त समारोहमा ११ हजार बढी विद्यार्थी दिक्षीत भएका छन् । प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय गरिएको कार्यक्रममा उनी उपस्थित नभएपछि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको थियो । शिक्षामन्त्रीसमेत उपस्थित भएनन् ।

विश्वविद्यालयको प्राङ्गण, पोखरा ३०, खुदी ढुङ्गेपाटनमा आयोजित १७ औं दीक्षान्तको विशेष समारोहमा २०७५ चैत २० गतेपछि २०७८ साल फागुन महिनाको १ गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रमका तहपार गरेका कुल ११ हजार २ सय ६८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।

दिक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ४सय ९४ जना र स्नातकतहमा २ हजार ५ सय २१ जना र स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा ८४ जना र स्नातकतहमा १ हजार १४ जना छन् ।

त्यसैगरी, मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको एमफिल तहमा ९७ जना, स्नातकोत्तरतहमा ९३ जना र स्नातकतहमा ५७ जना तथा व्यवस्थापन संकायको स्नातकोत्तर तहमा १ हजार ६ सय ९६ जना र स्नातकतहमा ५ हजार २ सय ५ जना विद्यार्थी दीक्षित भएका छन् ।

दिक्षान्तमा विभिन्न विधाका ९ सय ३१ जना विद्यार्थी डीन लिष्टमा पर्न सफल भए । जसमध्ये व्यवस्थापन संकायको स्नातकोत्तरतहमा २ सय १९ जना र स्नातकतहमा ३ सय ९० जना, स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा १८ जना र स्नातकतहमा ९५ जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ५७ जना र स्नातकतहमा १ सय ३६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायको एमफिल तहमा ५ जना, स्नातकोत्तरतहमा ६ जना र स्नातकतहमा ५ जना विद्यार्थी छन् ।

दिक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने ३ जनालाई कुलपति पदक, स्नातक तहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ८ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने १६ जना विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो । साथै, कम्प्यूटर एप्लिकेशन स्नातकतहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जना विद्यार्थीलाई ओसिईएम गोल्ड मेडलबाट विभूषित गरिएको थियो ।

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयको आफ्नै एउटा छुट्टै पहिचान रहेको र त्यो भनेको यसले नेपालका अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने रहेको उल्लेख गरे । उनले पोखराकोे प्राकृतिक सम्पदा, मौलिकता तथा पहिचान झल्कने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई समेटी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमहरूलाई विस्तार गर्दै लैजाने बताए ।

दिक्षीत विद्यार्थीलाई सम्बोधन गर्दै उपकुलपतिले भने– ‘तपाईहरू जस्ता जोश, जाँगर र सीपले निपुण दक्ष युवाहरू विकसित र समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा मजबूत आधार र बलियो खम्बा हो । भोलि देशलाई कस्तो बनाउने, कुन दिशामा लैजाने हो तपाईरूमा नै निर्भर गर्दछ ।’ उपकुलपतिले आफ्नो सीप र दक्षतालाई विद्यार्थीले देशको गौरव तथा प्रतिष्ठा बढाउन सदुपयोग गर्नुपर्ने बताए । यसका लागि प्रतिबद्धतासहित दत्तचित्त, कर्मठ र कर्तव्यपथमा अडिग र निर्भिक भएर लाग्न उनले विद्यार्थीलाई आग्रह गरे ।

समारोहका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् एवम् काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यतामा निकै बलियो रहेको, सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि यो प्रदेश निकै धनि रहेको उल्लेख गरे । उनले यस प्रदेशमा प्रखर चिन्तक, लेखक, कवि र विद्वानहरूको प्रचुरता रहेको, राम्रा विद्यापिठहरू पनि यहि रहेको तथा जलविद्युत उत्पादनमा पनि अग्रणी रहेको उल्लेख गरे ।

उनँले देश प्राकृतिक स्रोत र साधनले धनि हुँदाहुँदै पनि विज्ञान र प्रविधिमा पछि रहेको तथा जलस्रोत र यातायात क्षेत्रले पनि अपेक्षित गति लिन नसकेकोमा दुःख व्यक्त गरे । देशमा युवा बेरोजगारीको कहाली लाग्दो अवस्था रहेको र व्यापार सन्तुलन घाटामा रहेको उल्लेख गर्दै उनँले हामीलाई मागेर खाने होइन गरेर खाने शिक्षा चाहिएको उल्लेख गरे । उनले हामीले देशभित्रै कृषि क्षेत्रमा क्रान्ति ल्याई उत्पादनलाई निर्यात गर्नुपर्ने र विदेशी सहायता रोक्नुपर्नेमा जोड दिए । यसका लागि देशभित्र उच्च, मध्यम र तल्लोस्तरको अत्यधिक दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै प्रविधि, स्वास्थ्य, सञ्चार, कृषि र निर्माण क्षेत्रको विकासमा मुलुकले गम्भिर भएर सोच्नुपर्नेमा उनले जोड दिए ।

स्वागत मन्तव्य राख्दै मानविकी तथा सामाजिक शास्त्र संकाय डीन सह–प्रा. डा. अजय थापाले पोखरा विश्वविद्यालय गण्डकी प्रदेशको मात्र नभई उच्चशिक्षामा विशिष्टिकृत पहिचान दिदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको बताए । उनले पोखरा विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू स्तरीय, रोजगारमुखी, बजारोन्मुख, उत्पादनमुखी र व्यवसायिक किसिमका रहेकाले यसले मुलुकको सर्वाङ्गिण विकासका लागि आवश्यक पर्ने विविध ज्ञान र सीपयुक्त दक्ष जनशक्तिको आपूर्तिलाई सहज तुल्याएको उल्लेख गरे । उहाँले विद्यार्थी राष्ट्रका गहना र अमूल्य रत्न भएकाले आफ्नो कर्तव्यपथमा नडगमगाई निर्वाध स्वत–स्फूर्त रूपमा राष्ट्र निर्माण र परिवर्तनको संवाहकको रूपमा दिक्षान्त समारोहमा शपथ लिनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds