पोखरा । यूकेबाट पोखरा आएका सामाजिक व्यक्तित्व तथा संघसंस्थाका पदाधिकारीहरुलाई नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखराले स्वागत गरेको छ । बगर भाइखलक यूके, सहारा यूके, तमु धिँ यूके र पोखरेली मञ्च यूकेका पदाधिकारीहरुलाई पोखरामा दुई संस्थाले एक कार्यक्रमको आयोजना गरी स्वागतसँगै सम्मान गरेको हो ।
उक्त अवसरमा दुई संस्थालाई यूकेबाट नगद सहयोग पनि हस्तान्तरण गरिएको छ । यस्तै, पाँचौ स्व. रञ्जित गुरूङ स्मृति तथा एघारौं बगर भाइ खलक एट ए साईड अन्तराष्ट्रिय भेट्रान (४०+) फुटबल प्रतियोगितामा सहप्रायोजन वापतको दुई लाख रुपैंया पनि हिमालयन ब्रुअरीले बगर भाइखलकलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदमा समर्पित यस्ता व्यक्तित्वहरुकै कारण नेपाली खेल क्षेत्र अघि बढेको उल्लेख गरे । ‘गण्डकी प्रदेशमा खेलकुदको बजेट ०.८ प्रतिशत मात्रै छ । खेलकुद जस्तो महत्वपूर्ण विषय यसरी पछाडि परेको छ । खेलकुदको विकासमा सबै लाग्नुपर्छ ।’ – गुरुङले भने– ‘हामी सही ठाउँमा छौँ । खेलकुदलाई स्वास्थ्यको अभिन्न अंग मान्न नसक्ने ठाउँमा हामी जिम्मेवार तहमा पुग्नु राम्रो कुरा हो । जिम्मेवारी वहन गर्दै खेलकुदलाई अघि बढाउन हामी लाग्नुपर्छ, लागिरहेका छौं ।’
दुई संस्थाको संयुक्त कार्यक्रमको अध्यक्षता नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली र बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरूङले गरेका थिए । सहभागीलाई स्वागत गर्दै मञ्चका अध्यक्ष पराजुलीले फागुन ७ मा हुने प्रतिष्ठित म्याराथुन प्रतियोगिताको तयारीमा जुटेको बताए । उनले गत वर्ष कोरोना महामारीका कारण ४ चरणमा सम्पन्न गरेको प्रतियोगिता यस पटक सहज अवस्था भए एकै पटकमा र नभए २ चरणमा गर्ने गरी तयारी गरेको पनि जानकारी गराए ।

उक्त अवसरमा सहारा यूकेका संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व नविन गुरुङ, बगर भाइ खलक यूकेका अध्यक्ष दिलराज गुरूङ, सहारा यूकेका अध्यक्ष कुसाङ गुरूङ, तमु धिँ यूकेका अध्यक्ष हितकाजी गुरुङ, पोखरेली मञ्च यूकेका उपाध्यक्ष वाचस्पति रेग्मी लगायतले ४ संस्थाबाट प्रतिनिधित्व भएपनि सबै जसो तमु धिँमा आबद्ध रहेकाले सबै मिलेर, हातेमालो गर्दै अघि बढ्ने उल्लेख गरे ।
उक्त अवसरमा सहारा यूके र तमु धिँ यूकेले संयुक्त रुपमा भूतपूर्व खेलाडी मञ्चलाई नगद एक लाख एक सय प्रदान गरेको छ । यस्तै, बगर भाइखलकलाई उपस्थिति पदाधिकारीहरुले संकलन गरी ६० हजार पनि हस्तान्तरण गरेको छ ।
हिमालयन ब्रुअरीका अरूण कुमार चौधरीको अनुपस्थितमा बजार व्यवस्थापक योगेन गौतमले बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरूङलाई दुई लाख बराबरको चेक हस्तान्तरण गरे । व्यवस्थापक गौतमले आगामी दिनमा सहकार्य निरन्तर रहने उल्लेख गरे । प्रायोजन गर्न समन्वयकर्ताको भूमिका खेलेका नविन गुरुङले आगामी वर्षदेखि वार्षिक ५ लाख प्रदान गर्ने गरी ५ वर्षसम्मका लागि हिमालयन ब्रुअरीले मूख्य प्रायोजन गर्नेबारे खुलासा गरेका थिए । कार्यक्रमको सञ्चालन बगर भाई खलकका महासचिव यामबहादुर गुरुङले गरेका थिए ।

सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन